देउतीबज्यै मन्दिरको गुरुयोजना बनाइने
सुर्खेत, २० चैत ।
वीरेन्द्रनगरमा रहेको देउतीबज्यै मन्दिरको दीर्घकालीन विकास र व्यवस्थापनका लागि गुरुयोजना बनाइने भएको छ । मंगलवार सम्पन्न सरोकारवालाहरूको भेलाले पञ्चवर्षीय गुरुयोजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
मन्दिरको भौतिक अवस्था सुधारका लागि पाँच वर्षे गुरुयोजना बनाइने भएको छ । मन्दिरको गुरुयोजना अनुसार आगामी वैशाख ७ गतेदेखि मन्दिर प्रांगणमा देउतीबज्यै विराट धनधान्याञ्चल महायज्ञ– २०७५ आयोजना गरिने आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । उनले महायज्ञपछि निरन्तर पाँच वर्षसम्म निर्माण कार्य जारी रहने र निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
मंगलवार बिहान देउती मन्दिर प्रांगणमा भेला भएका समाजसेवी, अगुवा स्थानीय व्यक्तिहरूले अभियानलाई सफल बनाउन आफ्नोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । भेलामा मन्दिर व्यवस्थापन समितिका संयोजक नगर प्रमुख देवकुमार सुवेदीले मन्दिरमा गुरुयोजनासहित पुनर्निर्माणको काम सुरु गर्नमा सबैको सहयोगको अपेक्षा राखे । उनले कर्णाली प्रदेशकै महŒवपूर्ण धार्मिक र पर्यटकीय स्थल भएकाले देउतीबज्यैको दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना अपरिहार्य रहेको बताए । यो अभियान सञ्चालन गर्न लागेकाले सबैको महŒवपूर्ण भूमिका रहने उनले बताए । देवघाटबाट आएका सन्त सविन सिवाकोटीले आफ्नो ध्यान पवित्र मन्दिर वातावरण निर्माणमा केन्द्रित भएको बताए । ‘जहाँ हेर्नुस् अशुद्ध छ, त्यो अशुद्धताकै कारण दिनहुँ व्यक्तिहरूको अकालमा ज्यान गइरहेको छ,’ उनले भने, ‘यही परिस्थितिलाई सुधार गर्न म देवघाटबाट आएको हुँ । मसँग अरु कुनै स्वार्थ छैन ।’ उनले पछिल्लो पुस्ता धर्मकर्मप्रति अलि कम चासो देखाउने गरेका कारण समस्यामा परेको दाबी समेत गरे । मुकुन्दश्याम गिरी संयोजक रहेको उक्त समितिमा सहसंयोजक डाक्टरसिंह गुरुङ, महासचिव रमेश सापकोटा, सचिव नारायणकुमार चपाई, सहसचिव जीवनकुमार शर्मा, कोषाध्यक्ष सुरजप्रसाद आचार्य, सहकोषाध्यक्ष रमेश खड्का रहेका छन् । यस्तै सदस्यहरूमा रमेशकुमार पाण्डे, प्रेमबहादुर रावत, पार्वती गिरी लगायत २१ सदस्यीय समिति बनाइएको छ ।
साझा बिसौनी ।