उत्कृष्ट नौ सहकारी पुरस्कृत
सुर्खेत, २० चैत ।
सुर्खेतका नौ वटा सहकारी संस्थाहरू यसवर्ष उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भएका छन् । ६१ औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सुर्खेतले नौ वटा सहकारी संस्थाहरूलाई जिल्लाको उत्कृष्ट सहकारीको रूपमा घोषणा गरेको हो ।
जिल्लाभरका ६ सय २६ सहकारीहरूमध्ये कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला सहकारी संघ सुर्खेतले जनाएको छ । विशेष समारोहमा गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–३ सुर्खेत, ग्रामीण जागरण बचत तथा ऋण सहकारी वीरेन्द्रनगर–१२, वातावरण बहुउद्देश्यीय सहकारी वीरेन्द्रनगर–८, हरियोहिरा कृषि तथा जडिबुटी विकास सहकारी वीरेन्द्रनगर–२, त्रिपुरेश्वर बचत तथा ऋण सहकारी वीरेन्द्रनगर–१, हिमाली बचत तथा ऋण सहकारी वीरेन्द्रनगर–९, गंगामाला स्वाबलम्वन विकास बचत तथा ऋण सहकारी भेरीगंगा–१२, पवित्र जनकल्याण कृषक सहकारी गुर्भाकोट–८ र सिम्ता स्वाबलम्वन सहकारी संस्था राकमलाई उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
समारोहमा जिल्ला समन्वय समिति संयोजक छविलाल सिग्देलले कतिपय सहकारीहरू अझै पनि सहकारीको खास मूल्य मान्यताबाट बिमुख भएको भन्दै सच्चिनुपर्नेमा जोड दिए । यस्तै जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीले सहकारीको नियमन गर्ने अधिकार स्थानीय तहसम्म पुगेकाले स्थानीय तहले पनि सहकारीको गतिलो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
समारोहमा सहभागी भएका अन्य सहकारी अभियान्ता तथा सहकारीकर्मीहरूले दिगो विकासका लागि सहकारी नै महŒवपूर्ण पाटो रहेको उल्लेख गरेका छन् ।
उत्कृष्टताको प्रमाण ग्रहण गरिसकेपछि उत्कृष्ट सहकारीहरू मध्येको एक सहकारी गणेशजलका अध्यक्ष बिसीले यो सम्मानले आफूहरूलाई काम गर्न अझ ऊर्जा प्रदान गरेको बताए ।
साझा बिसौनी ।