शैक्षिक गुणस्तर सुधारबारे अन्तरक्रिया

सुर्खेत, २० चैत ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा भर्ना विषयक अन्तरक्रिया सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को आयोजनामा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा शिव मावि लाटीकोइली का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरविक्रम जिसीले सामुदायिक विद्यालयहरूको स्तरोन्नतिका लागि सम्बन्धी सबैले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए । सबैले आ–आफ्नो जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गरे सामुदायिक विद्यालयहरूले मुहार फेर्न सक्ने बताउँदै शिक्षा क्षेत्रमा बोली र व्यवहार फरक भएको कारणले सामुदायिक विद्यालयहरूको स्तरोन्नति हुननसकेको उनको जिकिर थियो ।
त्यस्तै कोपिला माध्यमिक विद्यालय पर्सेनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रजंग शाहीले सामुदायिक विद्यालयहरूलाई हेर्ने सकारात्मक सोचका कमी तथा सरकारले निजी विद्यालय खोल्ने अनुमति दिएर सामुदायिक विद्यालय ओझेलमा परेको बताए । शिव माविका पूर्व विव्यस अध्यक्ष ऋषि गिरीले सामुदायिक विद्यालयहरूलाई उत्कृष्ट बनाउनका लागि अभिभावक शिक्षक र विद्यार्थीहरू बीच समन्वय गरि निरन्तर छलफल चलाउनु पर्ने र शिक्षकले आफ्नो दायित्व बुझ्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले अब स्थानीय सरकारले काम सुरु गरिससकेकाले सम्पूर्ण विद्यालयहरूलाई नयाँ ढंग र सोचका साथ समुदायको मन जितेर अगाडि सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरे । समाजसेवी ध्रुवकुमार श्रेष्ठले विद्यालय र अभिभावक मिलेर शैक्षिक सुधारमा लाग्नुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले सबैले आ–आफ्नो तह र तप्काबाट हातेमालो गर्दै शिक्षा क्षेत्रमा वडाबाट गरिने काममा आफू सदैब लागि पर्ने बताए । कार्यक्रममा विभिन्न विद्यालयहरूका प्रधानाध्यापकहरूले विद्यालयका समस्या र प्रगति विवरण पेश गर्दै निजी विद्यालयहरूका कारणले गर्दा सामुदायिक तथा सरकारी विद्यालयहरू ओझेलमा परेको धारणा राखेका थिए । वडा नं. ९ मा रहेका विभिन्न सामुदायिक तथा अन्य सरकारी विद्यालय विद्यालय व्यवस्थापन समितका अध्यक्षहरू, टोल विकास समितका अध्यक्षहरू एवम् राजनैतिक दलका कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव देव मुलेलले गरेका थिए ।

प्रकाशित मितिः   २१ चैत्र २०७४, बुधबार ०८:१८