आर्थिक व्यवस्थापन सिक्दै मन्त्रालयका कर्मचारी

सुर्खेत, २० चैत ।
संघीय संरचना अनुसार प्रदेश तहमा खटिएका कर्मचारीहरूले प्रदेशको आर्थिक व्यवस्थानबारे सिक्न थालेका छन् । प्रदेशभित्र पर्ने १० जिल्लाका विषयगत कार्यालयमा कसरी आर्थिक व्यवस्थापन गर्ने बारे मन्त्रालयले कर्मचारीलाइ सिकाउन थालेको हो ।
आर्थिक प्रशासन व्यवस्थापन कसरी गर्ने, वित्तीय जोखिम न्यूनीकरण कसरी गर्ने, लेखापरीक्षण कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरूका लागि तीन दिन तालिम सञ्चालन भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा तालिम सुरु भएको हो ।
तालिमको पहिलो दिन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुंण्डीप्रसाद निरौलाले वित्तिय जोखिम, प्रदेश तहमा आर्थिक प्रशासन सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा सचिव निरौलाले निजामती तथा सरकारी कर्मचारीले जनताको पैशाबाट उठेको करले तलब खाएकाले सही काम गर्नुपर्ने बताए । उनले आन्तरिक स्रोत न्यून भएकाले कर्णाली प्रदेशमा कर्मचारीले सिमित स्रोतमा चित्त बुझाउनुपर्ने अवस्था रहेको बताए ।
समान बाँडफाँड हुनुपर्ने राज्यको प्रणाली भए पनि संघीयता कार्यान्वयनको प्रथम चरणमा रहेकाले चुनौतीसँग जुधेरै काम गर्नुपर्ने बताए । कार्यालय व्यवस्थापन, मानव अधिकार डिजिटल प्रदेश र सूचनाको हक सम्बन्धी तीन दिने तालिम सुरु भएको हो । २३ गते सम्पन्न हुने तालिममा सातै मन्त्रालयका कर्मचारीहरूको सहभागिता छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७४, बुधबार ०८:१८