उचित व्यवस्थापन गर्न माग

सुर्खेत, २० चैत ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा घर, टहरामा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरूले वीरेन्द्रनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । वर्षौंदेखि स्वरोजगार व्यापारीहरूलाई उचित व्यवस्थापन नगरी घर तहरा भत्काएको भन्दै उचित व्यवस्थापन गर्न मागसहित मंगलवार ज्ञापन बुझाएका हुन् ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्यसमिति सुर्खेतले विभिन्न आठ वटा मागसहित ज्ञापन पत्र बुझाएको हो । उनीहरूले नगरपालिकामा बैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने, व्यापार व्यवसाय सञ्चालनका लागि तत्काल उपयुक्त स्थान उपलब्ध गराउनुपर्ने, श्रमिकहरूको पञ्जीकृत गरी परिचयपत्र वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा व्यवस्था लागू गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् ।
यस्तै, नगरपालिकाबाट हुने ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने नगरको गुरुयोजना अनुसारको अतिक्रमण भएको सम्पूर्ण स्थान तत्काल हटाउनुपर्ने, व्यवसायिक क्षेत्रका शौचालनहरूको व्यवस्थापन गर्नुपर्ने, व्यवसायिक क्षेत्रमा खानेपानीको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू नगरपालिका समक्ष राखेका छन् ।
व्यापारीहरूका माग पूरा नभए आगामी वैशाख पाँच गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । पाँच गते एक घण्टा, ६ गते दुई, सात गते तीन, ८ गते चार र ९ गते ६ घण्टा नगरपालिका कार्यालय अगाडि धर्ना दिने आन्दोलनका कार्यक्रम रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
वैशाख १० गतेदेखि १४ गतेसम्म नगरपालिका कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने र १५ गतेसम्म माग पूरा नभए वीरेन्द्रनगर नगरपालिकामा तालाबन्दी गर्ने आन्दोलन कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७४, बुधबार ०८:१७