राउटे बस्तीमा पुग्यो खाद्यन्न
सुर्खेत, १७ चैत ।
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे बस्तीमा खाद्यन्न पु¥याएको छ । सामाजिक सुरक्षा भत्ता नपाएका राउटे समुदायलाई सरकारले चामलसहित खाद्यन्न वितरण गरेको हो । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको आग्रहमा सरकारद्वारा राउटे बस्तीमा खाद्यन्न वितरण गरिएको हो ।
विगत केही महिनादेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकास्थित पराजुल खोलामा बस्दै आएका लोपोन्मुख राउटे समुदायलाई शनिवार खाद्यन्न वितरण गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले पराजुल खोलामा बस्दै आएका ४६ घरपरिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।
राउटे समुदायमा पुगेर खाद्य सामग्री हस्तान्तरण गर्दै सांसद रेग्मीले संघीय लोकतन्त्र मुलुकमा भोको पेट कोही कसैले पनि मर्नु नपर्ने बताए । उनले राउटे समुदायको संरक्षणका लागि सरकार गम्भीर भएर लाग्ने बताए । ५२ प्रतिशत गरिबी रहेको प्रदेश विकासको चुनौती भए पनि सरकारले आवश्यक नीति तथा योजनाहरू बनाउँदै जाने बताए ।
प्रतिपरिवार ६० किलो चामल, मुला, चिउरा, खुर्सानीलगायतको खाद्यन्न वितरण गरिएको हो । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले राउटे उत्थानमा सरकार गम्भीर भएर लाग्न आग्रह गरिन् । उनले राउटे समुदायमा पछिल्लो समय परिवर्तन देखिए पनि बालबालिकाहरू भने शिक्षाको पहुँचमा आउन नसकेको बताइन् ।
साझा बिसौनी संवाददाता ।