‘दोषीलाई कारबाही गर’

सुर्खेत, १६ चैत ।
एसईई परीक्षा दिन डेरामा बस्दै आएकी किशोरीको मृत्यु प्रकरणको मुद्दा संसदमा पुगेको छ । पञ्चपुरी नगरपालिका–३ चौरकी किशोरी गोरीकला रोकाय बाबियाचौरस्थित डेरामा मंगलवार मृत अवस्थमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै कर्णाली प्रदेशका सांसदहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।


एक महिनापछि शुक्रवार बसेको प्रदेश संसदको बैठकमा सांसदहरूले गोरीकलाको बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रहरीकै संलग्नतामा बलात्कारपछि गोरीकलाको हत्या भएको र घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको सांसदहरूको भनाइ छ । सुरक्षाको जिम्मा पाएको प्रहरीकै नेतृत्वमा किशोरीमाथि बलात्कार हुनु र विभत्स तरिकारले हत्या भएको यो घटनाले छोरीहरू असुरक्षित रहेको प्रमाण दिएको भन्दै सांसदहरूले सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरे ।
बैठकको विषेश समयमा बोल्दै सांसद धर्मराज रेग्मीले भने,‘गोरीकलाको हत्याले महिलाको सुरक्षामा प्रश्न खडा भएको छ, अब हाम्रा छोरी र आमाहरूको सुरक्षा कसरी गर्ने ? सरकार सुरक्षामा गम्भिर बन्न जुरुरी छ, परिक्षा दिन गएका गोरीकलाहरू बलात्कारपछि हत्या गरिन्छन् भने हामीले चाहेको समृद्धि कसरी सम्भव हुन्छ ?’ उनले यो हत्याकाण्डको अनुसन्धान र दोषीलाई भइरहेको कारबाही पक्रियाबारे सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे । यस्तै सांसद पद्मा खड्काले गोरीकलाको हत्याले महिलाहरू कति सुरक्षित छन् भन्ने देखाएको बताइन् । उनले भनिन्,‘बलात्कारपछि हत्या भएको छ, दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिइनु हुँदैन । सरकारले तत्काल घटनाको सत्यतथ्य छानबीन गरोस्, छोरीहरूलाई सुरक्षित महसुश गराउनेतर्फ सरकारले ध्यान देओस् ।’
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ट्राफिकको अस्थायी प्रहरी पोष्ट बाबियाचौरमा कार्यरत प्रहरी जवान हरी कोइराला, माझीगाउँका युवा लक्ष्मी वास्तोला र खुमप्रसाद वास्तोलालाई पक्राउ गरिसकेको छ । तर प्रहरी नै घटनामा जोडिएकाले मुद्दा कमजोर बनाउने षड्यन्त्र भएको सांसदहरूको दाबी छ । ‘बलात्कारपछि गोरीकलाको हत्या भएको छ, प्रहरीकै संलग्नतामा हत्या भयो’ सांसद विन्दमान विष्टले भने,‘घटनामा प्रहरी जोडिएकाले चलखेल हुने खतरा छ, पीडकलाई उन्मुक्ति दिने काम नहोस् । सरकारले पीडितलाई न्याय दिनै पर्दछ, अपराधीहरूलाई कडा कारबाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ यस्तै सांसद मिनासिं रखालले गोरीकलाको हत्यापछि गाउँमा महिलाहरूले सुरक्षित महशुस गर्न नसकेको बताइन् । उनले भनिन्,‘हामी सांसद बनेका छौं, गाउँमा गोरीकलाहरू बलात्कारपछि मारिएका छन् । यो घटनाले हिनताबोध भएको छ, दोषीलाई कडा कारबाही गरियोस् ।’
शुक्रवारको बैठकमा बोल्ने सबै सांसदहरूले गोरीकलाको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे । साथै उनीहरूले घटनाको अनुसन्धान र कारबाहीबारे सरकारले संसदमा जानकारी दिनुपर्ने भन्दै सभामुखसँग रुलिङ्ग गर्न माग गरे । सोही अवसरमा सभामुख राजबहादुर शाहीले घटनाबारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ्ग गरे । अब बस्ने बैठकमा यसबारे सरकारले संसदलाई जानकारी दिनेछ । संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले घटनामा प्रहरीको संलग्नता भए पनि दोषीलाई कानुनी कारबाही हुने बताए । यो घटना विभत्स र हृदयविदारक रहेको भन्दै मन्त्री ज्वालाले घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली झिकाइएको जानकारी दिए । यता प्रहरीले भने पोष्टमार्टम रिपोर्ट नआएकाले अनुसन्धानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ ।
आर्थिक विधेयक पेश
आर्थिक कार्यविधि सम्वन्धी विधेयक संसदमा पेश भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुक्रवारको संसद बैठकमा विधेयक पेश गरेका हुन् । मन्त्री ज्वालाले लामो मेहेनतपछि आर्थिक कार्यविधि सम्वन्धी विधेयक संसदमा पेश भएको बताए ।
विद्येयक पास भएपछि मात्रै सरकारलाई आर्थिक काम गर्ने बाटो खुल्ने भन्दै उनले ऐन अभावले केन्द्र सरकारले दिएको बजेट पनि खर्च गर्न नपाइएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको चार महिनाका लागि र आउँदो आर्थिक वर्षको पूर्ण बजेट ल्याउनका लागि पनि यो विधेयक संसदबाट पारित हुनुपर्ने उनको भनाइ छ ।
आर्थिक कार्यविधि सम्वन्धी विधेयकमा प्रदेश लेखा नियन्त्रण कार्यालय स्थापना, विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्ने, सरकारी सम्पतिको व्यवस्थापन र संघीय सरकारको अनुमतिमा मात्र वैदेशिक सहायता लिने प्रस्ताव गरिएको छ । हरेक वर्ष असार १ गते बजेट संसदमा पेश गर्नुपर्र्ने, प्रदेश लेखा नियन्त्रण
कार्यालयमार्फत प्रदेश सञ्चित कोषको संचालन गर्ने, बजेट तर्जुमा गर्नुअघि त्रिवर्षिय मध्यमकालीन खर्च संरचना तयार पार्नुपर्ने र प्रदेश सरकार अन्तर्गतका सबै कार्यालयको लेखापरिक्षण महालेखा परिक्षकको कार्यालयबाट गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको मन्त्री ज्वालाले बताए । यस्तै प्रदेश सभा नियमावली सम्बन्धी मस्यौदा पनि शुक्रवार नै पेश भएको छ ।
कार्य व्यवस्था परामर्श समिति गठन
यसैबीच कार्य व्यवस्था परामर्श समितिले पुर्णता पाएको छ । शुक्रबारको संसद बैठकबाट ११ सदस्यीय परामर्श समिति गठन गरिएको हो । समितिको अध्यक्षमा सभामुख राजबहादुर शाही र सदस्यहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र उपसभामुख पुष्पा घर्ती रहेका छन् ।
यस्तै सदस्यहरूमा एमाले सांसद करवीर शाही, गुलावजंग शाह, मिनासिं रखाल, माओवादीका सांसद धर्मराज रेग्मी, सीता नेपाली, कांग्रेसका सांसद हिमबहादु शाही र दिनबन्धु श्रेष्ठ तथा राप्रपाका सांसद शोसिला शाही चयन भएका छन् । प्रदेश संसदको अर्को वैठक यही चैत २० गते बस्नेछ ।

प्रकाशित मितिः   १७ चैत्र २०७४, शनिबार १०:२३