बैंक लुटेको आरोपमा शाही पक्राउ

सुर्खेत, १६ चैत ।
भारतको चेन्नाइस्थित इन्डियन ओभरसिज बैंकबाट लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले बराहताल गाउँपालिका–३ तरंगाका कर्णबहादुर शाहीलाई शुक्रवार सुर्खेतबाट पक्राउ गरेको हो ।
शाही बैंक चोरेर भागेपछि एनसीबी मुम्बइले एनसीबी काठमाडौंलाई खबर गरेको थियो । लगत्तै, उनको खोजीमा प्रहरी परिचालन गरिएको थियो । मुम्बइ इन्टरपोलबाट आएको सूचनाको आधारमा उनलाई ‘लोकेट’ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । चेन्नाइकै मरिया एन्बालागान र यूएइकी सुचित्राको लकरबाट ४० लाख रूपैयाँ बराबरको गरगहना र नगद चोरी भएको आरोपमा शाहीलाई पक्राउ गरिएको उनले बताए ।
प्रारम्भिक छानविन पछि उनलाई भारत पठाइएको एसपी चर्तुवेदले बताए । प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।

प्रकाशित मितिः   १७ चैत्र २०७४, शनिबार १०:२१