मन्त्रीद्वारा बुलबुलेमा सरसफाइ
सुर्खेत, १५ चैत ।
एकाबिहानै झण्डावाला गाडीहरू वीरेन्द्रनगरस्थित बुलबुले उद्यानभित्र प्रवेश गरे । उद्यानभित्र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । कर्णाली प्रदेशका सातै जना मन्त्रीहरूको जमघट भयो । सधैं औपचारिक पोशाकमा सजिने मन्त्रीहरू बिहीवार भने अनौपचारिक पोशाकमै देखिए । त्यतिकैमा हातमा झाडु लिएर मन्त्रीहरूले उद्यानभित्रको फोहोर बढार्ने काम थाले ।
मन्त्रीहरू नै हातमा कुचो लिएर फोहोर सफा गर्न थालेपछि सुरक्षाकर्मी र कर्मचारीहरू पनि पछि–पछि लागे । प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू पनि सहभागी भए । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको बुलबुले उद्यान र तालभित्रको फोहोर मन्त्रीहरूले नै सफा गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही फोहोर सफा गर्न तालभित्रै पसेपछि अन्य मन्त्रीहरू पनि तालमा पसेर फोहोर उठाए । श्रम गर्ने संस्कृति हराएको र काम गर्न लाज मान्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगको निश्कर्ष निकाल्दै प्रदेश सरकारले हरेक महिनाको दुई दिनलाई ‘श्रम दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ ।
यही निर्णय कार्यान्वयन गर्न मन्त्रीहरू बिहीवार आफै श्रममा उत्रिएका हुन् । यसअघि सम्पन्न मन्त्रीपरिषद् बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसको रूपमा मनाउने र जनतासँगै विकास निर्माणका काममा श्रम गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयलाई कार्यान्वयन गर्दै कर्णालीका मन्त्रीहरूले बुलबुले उद्यान र तालको सरसफाइ गरेका हुन् । मन्त्रीहरू श्रम गर्न निस्केपछि सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूले पनि श्रम गरेका छन् । मुख्यमन्त्री शाहीले भने, ‘पहिलो दिन सरसफाइ गरेका छौं, अर्को पटकबाट हामी निर्माणको काममा सामेल हुनेछौं । उपभोक्ताले सुरु गरेका र निजी क्षेत्रको पहलमा थालिएका सार्वजनिक हितका विकास आयोजनामा हामी श्रम गर्नेछौं ।’ श्रमको सम्मान र श्रम गर्न उत्प्रेरित गर्नका लागि आफूहरू जनतासँगै प्रत्यक्ष श्रम गर्न उत्रिएको उनको भनाइ छ । समृद्ध कर्णालीका लागि पाखुरा चलाउनुपर्ने बेला आएको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘पैसाले मात्र समृद्धि हुँदैन, मागेर मात्र कर्णाली आत्मनिर्भर हुन सक्दैनौं । सबै मिलेर पाखुरा चलाऔं, पसिना बगाएर समृद्धिको यात्रामा जुटौं ।’
सहकारी मन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता बिमला केसीले भनिन्, ‘ठूलावडाले प्रत्यक्ष श्रम नगर्ने र पसिना बगाउन लाज मान्ने संस्कार व्याप्त छ । यसरी प्रदेश समृद्ध बन्न सक्दैन, यसलाई चिर्न हामी आफै श्रममा उत्रिएका हौं ।’ यस्तै पर्यटन मन्त्री नन्दसिंह बुढाले अब उत्पादनमा जुट्नुपर्ने बेला आएको बताए । आफूले काम नगर्ने र अरुको आलोचनामा समय खर्चने संस्कृति हावी भएका कारण विकासमा गतिरोध आएको उनको भनाइ छ । सामाजिक विकास मन्त्री दल रावलका अनुसार अबदेखि श्रम दिवसका दिन यो प्रदेशका जनप्रतिनिधि र सरकारका उच्च तहका कर्मचारीहरू पनि श्रमदानमा सहभागी हुनेछन् । मुख्यमन्त्री शाहीले थपे, ‘श्रमविना समृद्धि सम्भव छैन, सुकिला र मुकिला भएर विकास हुँदैन । अब हामी आफैं महिनाको दुईदिन भए पनि माटो खन्नेछौं, हातमा औजार लिएर जनतासँगै काममा खट्नेछौं ।’ श्रम दिवसले कामप्रतिको अपनत्व बढाउने, सर्वसाधारणलाई काम गर्न उत्प्रेरणा मिल्ने र स्वदेशमै पसिना बगाउने संस्कारको विकास हुने सरकारको अपेक्षा छ ।
प्राथमिकतामा बुलबुले र काँक्रेविहार
प्रदेश सरकारले सुर्खेतका प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यान र काँक्रेविहारको संरक्षणमा प्राथमिकता दिने भएको छ । कर्णालीमा समृद्धिको पहिलो आधार पर्यटन रहेको भन्दै सरकारले पर्यटकीय क्षेत्र र स्थलको विकासमा लगानी गर्ने जनाएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतको बुलबुले र काँक्रेविहारको विकासमा सरकारले पहिलो प्राथमिकता दिने बताए । संरक्षणको अभावमा यी दुई
पर्यटकीय स्थलहरू ओझेलमा परेको भन्दै उनले अब यसको विकासमा कुनै कसर बाँकी नराख्ने जनाए । उनले भने, ‘हामीले आउँदो वर्षलाई पर्यटन वर्ष घोषणा गरेका छौं, कर्णालीको अर्थतन्त्र पर्यटनबाटै थेग्न सकिन्छ । यसका लागि बुलबुले र काँक्रेविहारमा पनि पर्यटन भिœयाउनु छ, अब सरकारले यिनको विकासमा लगानी गर्नेछ ।’ कर्णालीको राजधानी भएकाले पनि अब सुर्खेतको विकास नमुना हुने र वीरेन्द्रनगरलाई पर्यटकीय शहरका रूपमा विकास गर्ने योजनासमेत उनले सुनाए ।
सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बुलबुले उद्यानको विकास र संरक्षणमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
साझा बिसौनी ।