कारबाहीको माग गर्दै प्रदर्शन

सुर्खेत, १५ चैत ।
पञ्चपुरी नगरपालिका–३ की गोरीकला रोकायाको हत्यामा संलग्न दोषीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । एसईई परीक्षा दिइरहेकी गोरीकला मंगलवार कोठामा मृत भेटिएपछि आक्रोशित बनेका स्थानीयबासीले शुक्रवार प्रदर्शन गरेका हुन् ।


गोरीकलाको हत्यापछि आक्रोशित बनेका स्थानीय महिलाहरूले हत्यामा प्रहरीको संलग्नता रहेकाले घटनालाई कमजोर बनाउने र पीडकलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।
हत्याको आशंकामा पक्राउ परेको तीन जनामाथि तत्काल आवश्यक छानविन गरी कडा कारबाहीको माग गर्दै उनीहरूले शुक्रवार प्रदर्शन गरे । पञ्चपुरी नगरपालिका–३ सालकोटका महिलाहरू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा बावियाचौरमा प्रदर्शन गरेका हुन् ।
किशोरीको हत्याले सालकोटबासी महिलाहरूमा त्रास फैलिएको भन्दै राज्यले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने स्थानीय गीता बोहराले बताइन् । उनले राजनीतिक संरक्षणमा उन्मुक्ति दिने काम भए दोषीलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी दिइन् ।
सालकोट पलैंटेबाट स्वतन्त्र रूपमा नाराबाजीसहित इलाका प्रहरी कार्यालय पुगेका महिलाहरूले सात दिने अल्टिमेटम दिएका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल सार्वजनिक नगरे प्रदर्शनलाई शसक्त बनाउने बताए ।
यता, प्रहरीले भने घटनाको आवश्यक अनुसन्धान तीव्र पारेको जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बावियाचौर, सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान हरिप्रसाद कोइराला, पञ्चपुरी नगरपालिका–८ माझीगाउँका लक्ष्मी बास्तोला र खुमप्रसाद बास्तोला पक्राउ परेका छन् । उनीहरूमाथि विस्तृत अनुसन्धान थालिएको प्रहरी प्रवक्ता श्यामसिं चौधरीले बताए ।
विद्याज्योति माध्यमिक विद्यालय बावियाचौरबाट एसईई परीक्षामा सहभागी रोकाय मंगलवार डेरामा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तको आरोप छ ।

प्रकाशित मितिः   १६ चैत्र २०७४, शुक्रबार १४:१६