प्रहरीसहित तीन जना पक्राउ

सुर्खेत, १४ चैत ।
एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको रहस्यमय मृत्यु प्रकरणमा ‘यौन’ मुख्य कारण देखिएको छ । जिल्लाको पञ्चपुरी नगरपालिकाको बावियाचौरमा मंगलवार एक किशोरी आफ्नै डेरामा मृत फेला परेकी थिइन् । तर मृत्यु स्वभाविक नभइ किशोरीमाथि यौनजन्य अपराध गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।


पञ्चपुरी नगरपालिकास्थित चौर घर भएकी १८ वर्षीया गोरीकला रोकाय एसईई परीक्षा दिन बावियाचौरमा डेरा लिएर बस्दै आएकी थिइन् । मंगलवार बिहान उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । यही घटनामा किशोरीमाथि यौनजन्य अपराध गरेर हत्या गरेको आशंकामा एकजना ट्राफिक प्रहरीसहित तीन जना पक्राउ परेका छन् ।
मध्यरातमा किशोरीलाई मोटरसाइकलमा राखेर डेरादेखि टाढा चौरमा लिएर यौनजन्य अपराध गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले अस्थायी ट्राफिक पोष्ट बावियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी जवान कोइराला बावियाचौर एक साताअघि मात्र पुगेका थिए । सोमवार मध्यरात साढे १२ बजे प्रहरी जवान कोइरालाले गोरीकलालाई डेराबाट लिन लगाएको र इलाका प्रहरी कार्यालय बावियाचौर भन्दा करिब दुई सय मिटर टाढाको चौरमा लिएर यौनजन्य अपराध गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
किशोरीलाई डेराबाट लिएर प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझिगाउँका २० वर्षीय लक्ष्मी वास्तोला र उनका दाई २८ वर्षका खुमप्रसाद वास्तोलालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका बास्तोलाले ट्राफिक प्रहरी कोइरालाको आग्रहमा आफूले गोरीकलालाई लिएर भेट गराइदिएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीका अनुसार गोरीकला र प्रहरी जवान कोइराला मध्यरात चौरमा बसेको र सोही क्रममा यौनजन्य क्रियाकलाप भएको प्रहरीको अनुमान छ । राती करिब १ बजेतिर आफू गोरीकलालाई मोटरसाइकलमा डेरामा पु¥याउन गएको र सोहीक्रममा दुर्घटना हुँदा गोरीकला घाइते भएको बयान लक्ष्मी वास्तोलाले प्रहरीलाई दिएका छन् । घाइते अवस्थामा रहेकी गोरीकलालाई डेरामा लैजान नसकेपछि लक्ष्मीले आफ्ना दाई खुमप्रसादलाई बोलाएका थिए । दुईभाई मिलेर गोरीकलालाई बेहोस अवस्थामा डेरामा छोडेको लक्ष्मीले बताएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
यद्यपि गोरीकलाका आफन्तले भने बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘किशोरीको हत्या भएको देखिन्छ, बाहिर हत्या गरेर नै कोठामा छोडेको पाइयो ।’ घटनाको अनुसन्धान भइरहको र दोषिलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ । सूर्यप्रकाश मावि पलैटेकी छात्रा रोकायले विद्याज्योति मावि बाबियाचारैबाट एसईई परीक्षा दिइरहेकी थिइन् ।
सोही क्रममा उनी मंगलवार बिहान डेरामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बलात्कारपछि हत्या वा दुर्घटना भन्ने एकिन हुने प्रहरीको भनाइ छ । प्रहरीले घटनामा प्रयोग भएको भे ६ प ३४५१ नम्बरको मोटरसाइकल र मोबाइलहरू बरामद गरेको छ । यता किशोरीको बलात्कारपछि हत्या भएको र दोषिलाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरूले स्थानीय प्रशासन र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित मितिः   १५ चैत्र २०७४, बिहीबार १०:५६