मन्त्रीहरूको श्रमदानमा पर्खाल मर्मत हुँदै

सुर्खेत, १४ चैत ।
कर्णाली प्रदेशका मन्त्रीहरूले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन् । प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा आज (बिहीवार) श्रमदान गर्ने भएका हुन् ।
कर्णाली प्रदेशको दोस्रो मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार बुधवार बिहान आठ बजेदेखि बुलबुले उद्यान क्षेत्रको पर्खाल निर्माणमा श्रमदान गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको एक र १५ गते जनतासँगै सार्वजनिक काम गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाइ गरिने भएको हो ।
प्रदेशस्तरका सबै मन्त्रालयका मन्त्रीहरू, कर्मचारी, जिल्लास्थित कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधिहरूलाई सरसफाइमा सहभागी हुन अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताए ।
हाल बुलबुले तालको संरक्षणका लागि पर्खाल निर्माण सुरु भएको छ । सोही पर्खाल निर्माण र सरसफाइ मन्त्रीहरूले श्रमदान गर्ने जनाइएको छ । यसअघि, मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत सातै मन्त्रालयका मन्त्रीहरूले वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको नाला सफा गरेका थिए ।

प्रकाशित मितिः   १५ चैत्र २०७४, बिहीबार १०:५४