कर्णाली परीक्षा बोर्ड स्थापना हुने

सुर्खेत, १४ चैत ।
कर्णाली प्रदेशमा राष्ट्रिय परीक्षा बोर्डको प्रदेश शाखा स्थापना हुने भएको छ । शाखा कार्यालय स्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालयले निर्णय गरिसकेको बोर्डका सदस्य प्राध्यापक दयामान कर्माचार्यले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको आयोजना र जिल्ला शिक्षा कार्यालय सुर्खेतको संयोजनमा राष्ट्रिय परीक्षा बोर्डको गठन र संरचना सम्बन्धमा वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशको शिक्षा यहाँको आवश्यकता र साधन स्रोतको उपलब्धताका साथै विश्वव्यापी परिवेश अनुकूल हुने गरी अघि बढाउने कुनै कसर बाँकी नराख्ने बताए ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य प्राध्यापक दयामान कर्माचार्यले कर्णाली प्रदेशमा राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालयको स्थापना गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयले समेत गरिसकेको जानकारी दिए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव भक्तबहादुर ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक गेहनाथ गौतमले राष्ट्रिय परीक्षाको भावी प्रस्तावित
संरचनाका विभिन्न मोडलहरूको बारेमा सहजीकरण गरेका थिए । अन्तरक्रियामा सहभागी जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, निमित्त प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर शाखाका प्रमुख गिरमान थापा, शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक दीपा हमाल, शिक्षक महासंघ सुर्खेतका अध्यक्ष पदम गौली लगाययको सहभागिता रहेको थियो । सहभागीहरूले कर्णाली प्रदेशको शैक्षिकस्तर माथि उठाउनका लागि यहाँ स्थापना हुने परीक्षा बोर्डका क्रियाकलापहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने भएकोले कर्णाली प्रदेशमा स्थापना हुने परीक्षा बोर्डले परीक्षा र मूल्यांकनको क्षेत्रमा राम्रो काम गर्नका आ–आफ्नो क्षेत्रबाट सवैले योगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः   १५ चैत्र २०७४, बिहीबार १०:५३