ठूला जहाज अवतरण गराउन नयाँ विमानस्थल खोजिदैं
सुर्खेत, १३ चैत ।
हवाई सेवामार्फत् कर्णालीलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने गृहकार्य सुरु भएको छ । प्रदेश राजधानी सुर्खेतबाट काठमाडौंका लागि उडान गर्न हवाई कम्पनीहरू तयार भएपछि प्रदेश सरकारले आवश्यक पूर्वाधारको जोहो गर्न थालेको हो । अब कर्णालीमा ठूला जहाज अवतरण गराउनका लागि पनि उपयुक्त विमानस्थलको विकल्प खोज्न थालिएको छ ।
हालसम्म संघीय राजधानीसँग सीधा हवाई सम्पर्कमा नहरेको कर्णाली प्रदेश यही चैत २१ गतेबाट जोडिदैंछ । प्रदेश सरकारको पहलमा नेपाल वायुसेवा निगमले सुर्खेत–काठमाडौं उडान गर्ने भएको हो । यस्तै निजी हवाई कम्पनी बुद्ध एयरले पनि आउँदो बैशाख १ गतेबाट उडान थाल्नेछ । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल साँघुरो भएका कारण हालका लागि १८ सीट क्षमताका जहाजमात्र उडान हुनेछन् । सुर्खेतसँग सिधा हवाई सेवा जोडिए पनि कर्णालीका अन्य जिल्लामा भने तत्कालका लागि संघीय राजधानी जोडिने सम्भावना छैन ।
कर्णालीका हिमाली र पहाडी जिल्लामा अब विमानस्थल विस्तार गर्ने सम्भावना नै छैन । यो प्रदेशमा ठूला जहाज अवतरण गराउनका लागि अब सुर्खेत एकमात्र विकल्पका रूपमा रहेको छ । यद्यपि यसको प्राविधिक अध्ययन भने हुन बाँकी नै छ । तर सुर्खेतमा समथर जग्गा रहेको र विमानस्थल निर्माणका लागि सम्भावना रहेकाले प्रदेश सरकारले विकल्पको खोजी सुरु गरेको हो । कर्णाली प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, ‘प्रदेशका अन्य जिल्लामा ठूला जहाज बसाल्ने सम्भावना नै छैन, सुर्खेतमा भने सम्भावना देखिएको छ । अब हामीले ठूला जहाज अवतरण गराउन र काठमाडौंसँग नियमित हवाई सम्बन्ध कायम राख्न विकल्प खोजी गरिरहेका छौं, त्यसका लागि प्राविधिक टोली नै आउँदैछ ।’ मन्त्री बुढाले एक साताभित्रै प्राविधिक टोली सुर्खेत आउने र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिने जनाए ।
सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई एक हजार दुई सय ५५ मिटर मात्र रहेको छ । यस्तै नजिकै अग्ला डाँडाहरू रहेकाले ठूला जहाज अवतरण गर्न कठिन हुने नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जनाएको छ । अब विस्तार गर्दा पनि यो विमानस्थलमा ठूला जहाज अवतरण गर्नसक्ने अवस्था छैन । यसकारण पनि अब विमानस्थलको विकल्प खोज्नुपर्ने भएको हो । सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले भने, ‘१८ सीट क्षमता भएका जहाजलाई समस्या छैन, यही हालतमा सहज रूपमा अवतरण गराउन हामी सक्षम छौं । तर ठूला जहाजका लागि विकल्प खोज्न आवश्यक छ, त्यसका लागि जिल्लामा अन्य विकल्पहरू छन् ।’ ठूला जहाज अवतरण गराउनका लागि अब सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने पर्यटनमन्त्री बुढाले बताए । सुर्खेत विमानस्थलको विकल्पमा अब भेरीगंगाको मदानेचौर, वीरेन्द्रनगरस्थित रत्नराजमार्गको दक्षिणतर्फ र काँक्रेविहार भन्दा उत्तर पश्चिमको स्थान रहेको मन्त्रीले बताए । यी स्थानमा एक साताभित्रै सर्वेको काम सुरु हुने उनको भनाइ छ ।
मन्त्रीद्वारा विमानस्थल निरीक्षण
कर्णाली प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको निरीक्षण गरेका छन् । यही चैत २१ गतेदेखि सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालनमा आउने भएपछि मन्त्री बुढाले विमानस्थलको अवस्था, भौतिक पूर्वाधार
र व्यवस्थापनबारे जानकारी लिन मंगलवार निरीक्षण गरेका हुन् ।
स्थलगत अवलोकन गर्दै मन्त्री बुढाले विमानस्थलको क्षमता, जनशक्तिको अवस्था, विमानस्थल विस्तारको सम्भावना र सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिए । सुर्खेत विमानस्थललाई कर्णालीका जिल्ला र संघीय राजधानीसँग जोड्नका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत उनले जनाए । कर्णालीको समृद्धिका लागि आगामी वैशाख १ गतेदेखि रारा–कर्णाली पर्यटन महोत्सव सुरु हुँदैछ । महोत्सवमा आउने पर्यटकलाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउनेगरी आवश्यक व्यवस्थापन गर्नसमेत मन्त्री बुढाले विमानस्थल प्रशासनलाई निर्देशन दिए ।
जहाजलाई सुर्खेतमै बास बसालिने
यसैबीच अब कर्णालीका जिल्लामा उडान गर्ने जहाजलाई सुर्खेतमै बास बसालिने भएको छ । हाल अधिकांश हवाइ कम्पनीले दिनभर कर्णालीमा उडान गर्ने र नेपालगन्ज विमानस्थलमा नाइटस्टे गर्दै आएका छन् । तर अब कर्णालीमा उडान गर्ने जहाजले रातको समयमा सुर्खेतमै रोकिनुपर्ने भएको हो ।
पर्यटन मन्त्री नन्दसिंह बुढाले हप्तामा कम्तीमा पनि दुई दिन कर्णालीमा उडान गर्ने जहाज सुर्खेतमा स्टे हुनुपर्ने बताए । तत्कालका लागि दुईदिन अनिवार्य गरिएको र विस्तारै यसलाई निममित गरिने उनले बताए । यसले गर्दा सुर्खेतमा यात्रुको चहल–पहल बढ्ने र हवाई सेवा पनि प्रभावकारी हुने प्रदेश सरकारको दाबी छ । सरकारले निर्देशन अटेर गर्ने हवाई कम्पनीलाई कारबाही गरिने मन्त्री बुढाले चेतावनी दिए । यस्तै सुर्खेत–काठमाडौं हवाई भाडादर महँगो भएको गुनासो आइरहँदा मन्त्री बुढाले संघीय पर्यटन मन्त्रालयद्वारा गठित भाडा निर्धारण समितिले तोकेको भाडादर कायम हुने बताए ।
साझा बिसौनी ।