किर्ते गरी नागरिकता लिने पक्राउ

पूजा भण्डारी
दैलेख, १३ चैत ।
किर्ते विवरण पेश गरी दुई वटा नागरिकता लिएको आरोपमा एक जना पक्राउ परेका छन् । दुल्लू नगरपालिका वडा नम्बर–३ का २६ वर्षीय जगतबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार कार्कीले २०४८ माघ २५ गते जन्ममिति उल्लेख गरी २०६७ भदौ ५ गते उनले नागरिकता प्राप्त गरेका थिए । गत भदौ २७ गते मदनबहादुर कार्की नाम परिवर्तन गरी २०५४ भदौ २५ गते जन्ममिति खुलाएर पूनः किर्ते नागरिकता लिएको खुलेको छ ।
नेपाली सेना तथा नेपाल प्रहरीमा जागिरीका लागि पहिलो नागरिकता अनुसार उमेर नाघिसकेपछि उनले दोस्रो नागरिकता लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । ९ कक्षा उत्तीर्ण गरेका कार्कीले दोस्रो नागरिकता लिएपछि गएको असोजमा नेपाली सेनाको जवान पदको खुला प्रतिस्पर्धामा सहभागी भएका थिए ।
मतदाता नामावलीदेखि सबै काम अघिल्लो नागरिकबाट गराएका उनले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामा जन्ममिति विवाद चर्चामा आएपछि पहिलेको नागरिकता रद्द गर्न जिल्ला प्रशासन पुगेका थिए । प्रशासनमा परेको निवेदनका आधारमा किर्ते विवरण दिइ दोस्रो नागरिकता लिएको खुलेको हो । किर्ते विवरणका आधारमा लिएको नागरिकता रद्द गरिदिन आफैले लिखित निवेदन दिएकोले सुधारात्मक दण्ड गर्ने गरी कानुनी कारबाही अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।
प्रहरीको अनुसन्धानले कार्कीलाई दोसी ठहर गरेकाले दैलेख जिल्ला अदालतमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक न्यायधिवक्ता कौशल ढुंगानाले बताए । नागरिकता ऐन २०६३ को दफा
२१ को उपदफा (३) मा किर्ते विवरण खडा गरी नागरिकता लिएमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २० हजारदेखि ५० हजार रूपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । कार्कीलाई आवश्यक थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७४, बुधबार १३:३६