कर्णालीको समृद्धिका लागि लगानी गर्न निजी क्षेत्र तयार

सुरक्षा चाहियोः निजी क्षेत्र, लगानीमैत्री वातावरण बनाउँछौंः सरकार

सुर्खेत, १२ चैत ।
कर्णाली प्रदेशको समृद्धिका लागि सरकारसँग सहकार्य गर्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । आधा भन्दा बढी जनता गरिबीको रेखामुनी रहेको कर्णालीको आर्थिक विकास र समृद्धिका लागि लगानी गर्ने इच्छा निजी क्षेत्रले देखाएको हो । सरकारले भरपर्दो सुरक्षा र पूर्वाधारको व्यवस्था गरे कर्णालीमा लगानी भिœयाउन तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।


कर्णालीमा आर्थिक सम्भाव्यता र विकासका प्राथमिकता विषयक सोमवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले प्रदेश सरकारसँग लगानीको वातावरण बनाउन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेश सम्भावनाहरूको भण्डार रहेको भन्दै निजी क्षेत्रले समृद्धिका लागि लगानी गर्न इच्छुक रहेको जनाएको हो । महासंघका अध्यक्ष भवानी राणाले आफूहरू कर्णालीको समृद्धिका लागि ठूला आयोजना र उद्योगमा लगानी गर्न तयार रहेको बताइन् । यसका लागि प्रदेश र स्थानीय सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
हालसम्म पिछडिएको भए पनि कर्णाली प्राकृतिक स्रोतमा धनी रहेको र यसको सदुपयोग गर्न सके देशकै समृद्ध प्रदेश बन्ने उनको भनाइ छ । ‘यहाँ पर्यटनाको धेरै सम्भावना छ, सरकारले पूर्वाधारलाई प्राथमिकता देओस् । हामी ठूला होटलमा लगानी गर्न आतुर छौं, विदेशी लगानी भिœयाउन पनि हामी सहयोग गर्नेछौं ।’ प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्दै कर्णालीको आर्थिक समृद्धिमा जुट्न आफूहरू तयार रहेको भन्दै उनले सुरक्षा र लगानीमैत्री आर्थिक नीति बनाउन आग्रह गरिन् । कर्णालीमा अहिले पनि ठूलो संख्यामा युवाहरू विदेशीने गरेको भन्दै अध्यक्ष राणाले निजी क्षेत्रले उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने वचन दिइन् ।
कार्यक्रमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले कर्णाली विकट र गरीब भयो भनेर चिन्ता गर्न नहुने बताए । उनले भने, ‘देशमा राजनीतिक स्थिरता कायम हुन थालेको छ, सरकार पनि स्थायी हुने संकेत देखियो । अब सरकार पूर्वाधारमा लागोस्, निजी क्षेत्र आर्थिक विकासका लागि लगानी गर्न तयार छ ।’ पर्यटन, जलविद्युत, जडिबुटी र जनशक्ति परिचालन गरेर कर्णालीलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । यसका लागि अब प्रदेश सरकारले लगानीमैत्री नीति अवलम्बन गर्नुपर्ने उनको माग छ । निजी क्षेत्र कर्णालीमा लगानी गर्नका लागि आतुर रहेको उनको भनाइ थियो । प्राकृतिक स्रोत परिचालन गरेर प्रदेशको अर्थतन्त्र सबल बनाउन सकिने सम्भावना रहेकाले अब प्रदेश सरकारले पूर्वाधारलाई प्राथकिता दिनुपर्ने निजी क्षेत्रको सुझाव छ ।
सो अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । निजी क्षेत्रलाई लगानी गर्न सरकारले ढोका खुला गरेको भन्दै उनले सहकार्य र समन्वय गरेर सरकार अगाडि बढ्ने जानकारी दिए । उनले भने, ‘सरकार एक्लैको प्रयासबाट सम्भव छैन, सामुहिक प्रयासबाट समृद्ध प्रदेश बनाउने प्रयत्न गरौं । निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले लगानीमैत्री आर्थिक नीतिहरू तय गर्नेछ, हातेमालो गरेरे कर्णालीमा विकासको काँचुली फेरौं ।’ प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेलले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्ने बताए । अभाव, गरिबी र पछौटेपनले थलिएको कर्णालीलाई आर्थिक विकासको बाटोमा दौडाउन निजी क्षेत्रको भूमिका महŒवपूर्ण हुने उनको भनाइ छ ।
यस्तै कांग्रेसका सांसद हीमबहादुर शाहीले सरकार, संसद, निजी क्षेत्र र जनता मिलेर कर्णालीको मुहार बदल्नुपर्ने बताए ।

प्रकाशित मितिः   १३ चैत्र २०७४, मंगलवार १४:४९