‘गैससलाई निषेध होइन्, नियमन गर’

सुर्खेत, १२ चैत ।
कर्णालीमा गैरसरकारी संस्था (गैसस) हरूलाई निषेध नभइ नियमन गर्नु आवश्यक रहेको बताइएको छ । सामुदायिक विकासमा गैससले सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै गैससकर्मीहरूले निषेध भन्दा पनि स्थानीय सरकारको मातहतमा काम गर्ने बताएका हुन् ।


विगतमा स्थानीय निकायसँग सहकार्य नगरी काम गरे पनि आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने उनीहरूले बताएका छन् । ‘कर्णालीमा एनजीओ मुक्त’ बनाउने मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गैससकर्मीहरूले स्थानीय सरकारसँग सहकार्य गरी काम गर्ने वातावरण मिलाउँन आग्रह गरेका हुन् । कर्णालीको विकास र समृद्धिमा गैससको पनि चाँसो भएकाले स्थानीय तहको विकासका लागि प्रदेश सरकारले नियमनका र अनुगमनका लागि आवश्यक कानुन बनाउन आग्रह गरिएको हो । गैसस नियमन निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्ने, गैससका कार्यक्रमहरू एकद्वार प्रणालीबाट स्थानीय तहमा लागू गर्नुपर्ने गैसस महासंघका पूर्वकेन्द्रीय सदस्य निमबहादुर थापाले बताए । उनले स्थानीय सरकारले गैससलाई आवश्यक शर्तहरू बनाएर काम गर्ने वातावरण दिनुपर्ने बताए ।
कन्सोटियम नेपाल कर्णाली प्रदेशको आयोजनामा सोमवार वीरेन्द्रनगरमा भएको कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष एवम् कन्सोटियम कर्णाली प्रदेश संयोजक मीना तिवारी शर्माले गैरसरकारी संस्था प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको बताइन् । उनले समृद्धि र विकासका लागि गैससको भूमिका पनि गहन हुने भन्दै बालबालिकाका क्षेत्रमा प्रदेश सरकार जवाफदेही रूपमा लाग्न आग्रह गरिन् ।
प्रदेशसभा सदस्य पद्मा खड्काले संघीय संरचना अनुसार प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । उनले बालबालिकाका क्षेत्रमा नीति निर्माण गरेर भए पनि बालबालिकालाई अगाडी ल्याउनुपर्ने बताइन् । कर्णाली प्रदेशमा गैरसरकराी संस्थाहरूलाई व्यवस्थित रूपमा परिचालन गर्नुपर्ने बताइन् । सञ्चारमाध्याममा आएको मुख्यमन्त्रीको अभिव्यक्तिले त्रसित नहुन आग्रह गरिन् ।
‘प्रादेशिक संरचनामा बाल सहभागिता प्रवद्र्धन तथा बालवालिकामा लगानी’ विषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य र तेज सोनामले बालबालिका क्षेत्रमा लगानी किन, बाल सहभागिता अभिवृद्धिका लागि स्थानीय सरकारको दायित्व सम्बन्धी प्रस्तुति राखेका थिए । कार्यक्रम प्लान नेपालको सहयोग तथा समाज जागरण नेपाल (स्याक) को समन्वय सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रममा ६ जिल्लाका गाउँपालिका, नगरपालिका, वडापालिका, जिल्ला समन्वय समितिका पदाधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०७४, मंगलवार १४:४८