‘शिक्षण सिकाइका आधुनिक विधि अवलम्बन गरेका छौं’
३२ वर्षसम्म नेपाल सरकारको निजामती क्षेत्रमा रहेर सेवा गरे । नायब सुब्बा, विद्यालय निरीक्षक, क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको उपनिर्देशक हुँदै १० वर्ष शैक्षिक तालिम केन्द्रको शिक्षक प्रशिक्षकको रूपमा काम गरे । विद्यालय निरीक्षकको रूपमा होस् वा शिक्षक प्रशिककको रूपमा, उनले थुप्रै विद्यालयहरू घुमे, शैक्षिक अवस्था बुझे, देश तथा विदेशमा पुगेर तालिम लिने र दिने अवसर पाए । आफ्नो जीवनको निकै महŒवपूर्ण समय उनले शैक्षिक क्षेत्रमा नै व्यतित गरे । त्यसैले पनि उनले निजामती सेवाबाट निवृत्त भइसकेपछि पनि शैक्षिक क्षेत्रमै केही गर्ने प्रण गरे र सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीमा स्थापना गरे, प्रज्ञा पाठशाला । आफूले हासिल गरेको ज्ञानलाई सैद्धान्तिक र व्यवहारिक रूपमा प्रयोग गर्ने संकल्पसहित प्रज्ञा पाठशाला सञ्चालन गरेका भक्तबहादुर खड्कासँग साझा बिसौनी दैनिकका लागि गरिएको कुराकानीः
निजामती सेवाबाट निवृत्त भइसकेको मान्छे विद्यालय सञ्चालन गर्ने सोच कसरी बन्यो ? यसको उद्देश्य के हो ?
निजामती सेवा अन्तर्गत मैले काम गरेको शिक्षा सेवमा हो । मलाई विद्यालयका गतिविधिहरू र बालबालिकाको सिकाइका सम्बन्धमा पहिलेदेखि नै रुचि थियो र शिक्षा सेवामा विद्यालय निरीक्षक, शिक्षक प्रशिक्षक र शिक्षा प्रशासनका अन्य पदहरूमा रही काम गर्दा धेरै विद्यालय र शिक्षकहरूको नजिकमा रही विद्यालय शिक्षाका विविध पक्षको अनुभव हासिल गर्ने मौका पाएँ । यसका साथै शैक्षिक व्यवस्थापन र शिक्षण सिकाइका विषयमा स्वदेश तथा विदेशका तालिममा सहभागी भएर हासिल गरेको अनुभवलाई उपयोग गरेर एउटा राम्रो विद्यालय सञ्चालन गर्ने सोचाइ आएको हो । यसको उद्देश्य शिक्षण सिकाइका नविनतम विधि र तरिकाहरूको प्रयोग गरी बालबालिकाहरूले आफ्नो अन्तरनिहित क्षमताको अधिकतम विकास गर्नसक्ने वातावरणको निर्माण गर्नु हो ।
जिल्लामा धेरै संख्यामा निजी विद्यालय र मण्टेश्वरीहरू सञ्चालनमा छन्, प्रज्ञा पाठशालाको आवश्यकता किन प¥यो ?
विद्यालय शिक्षामा समय सापेक्ष नविनता र गुणस्तर अभिभावकहरूको चाहना रहिआएको पाइन्छ । गुणस्तरीय शिक्षाकै लागि कतिपय अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई अध्ययनको लागि जिल्ला बाहिर पनि पठाएका छन् । देशमा संघीय शासन व्यवस्था लागू भएको र प्रदेशहरूको बीचमा अन्य कुराका अतिरिक्त गुणस्तरीय विद्यालय शिक्षामा पनि स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको वर्तमान परिप्रेक्षमा नयाँ सोच र विचारका साथ शिक्षण संस्थाहरू सञ्चालन हुनु आवश्यक रहेको छ । यसै कुरालाई मनन गरी प्रज्ञा पाठशालाको स्थापना भएको हो ।
विद्यालय शिक्षामा गुणस्तरका लागि अभिभावकहरूको विश्वास जित्न सफल भएता पनि संस्थागत विद्यालयहरूले सुधार गर्नुपर्ने विषयहरू पनि धेरै रहेका छन् । विशेष गरी पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, विद्यार्थी मूल्यांकन जस्ता धेरै क्षेत्रमा अहिले पनि एक प्रकारको परम्परावादी प्रणाली कायम रहेको छ । त्यसैले यी क्षेत्रहरूमा शिक्षण सिकाइका आधुनिक विधि र तरिकाहरूको उपयोग गरेर समसामयिक नविनता ल्याउनका लागि यस विद्यालयको आवश्यकता महसुस गरिएको हो ।
तपाईंले बालबालिकालाई दिन खोजिरहेको ज्ञान कस्तो हो ? र त्यसको विधि के हो ?
बालबालिकाहरूलाई ज्ञान हस्तान्तरण गर्ने भन्दा पनि आफै सक्रीय भएर सिक्न सक्ने वातावरण प्रदान गर्नु विद्यालयको उद्देश्य हुनुपर्दछ । त्यसमा शिक्षकको भूमिका सहजकर्ताको हुन्छ । बालबालिकाहरूका विकासात्मक विशेषताहरूलाई ध्यान दिएर उमेर अनुसार सबै पक्षको विकासका लागि उद्देश्यहरू निर्धारण गरिएको हुन्छ । यस्तो सिकाइ योजना नै पाठ्यक्रम हो । त्यसैले सबै विद्यालयले पाठ्यक्रमको राम्रोसँग कार्यान्वयन गर्नुपर्दछ । हामीले गर्ने पनि त्यहीं हो । जहाँसम्म विधिको कुरा छ त्यसमा अहिले धेरै नयाँ कुराहरू आएका छन् । मुख्य कुरा बालबालिकाको क्षमता, रुचि र आवश्यकतालाई विचार गरी उपयुक्त विधि र तरिकाहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।
निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरू शैक्षिक उन्नयनमा केन्द्रित हुनुभन्दा पनि व्यवसायमुखी भए भन्ने आरोप लाग्ने गरेको छ नि ?
निजी विद्यालयहरू नेपालको प्रचलित ऐन कानुन र नियमहरूको अधिनमा रही सञ्चालन हुने हुन् । शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा सरकारले कानुन बनाएर निजी क्षेत्रलाई संलग्न गरे पछि त्यहाँ अवश्य पनि लगानी र प्रतिफलको कुरा आउँछ । त्यसैले लगानीकर्ताले आफ्नो सेवा गुणस्तरीय बनाएर सेवाग्राहीको विश्वास जित्न भरमग्दुर प्रयत्न गर्दछ । सेवा गुणस्तरीय नभए व्यवसाय फस्टाउने कुरा पनि भएन । यसरी हेर्दा निजी शिक्षा क्षेत्रमा व्यवसायिक सफलता र शैक्षिक गुणस्तर जोडिएर पनि आउँछ । तर विद्यालयको व्यापक सामाजिक उत्तरदायित्वका कारण यो अन्य व्यवसाय जस्तो अवश्य पनि होइन । निजी लगानी भए पनि यो सामाजिक संस्था हो र यसमा देशको भविश्य निर्माण गर्ने महानतम अभिभारा छ । व्यवसाय र सामाजिक दायित्वलाई तराजुमा हाल्दा अवश्य पनि सामाजिक दायित्वको पल्ला नै भारी हुन्छ । हामी यहीं विचारबाट निर्देशित छौं । शिक्षाका नीति निर्माताहरूले पनि निजी विद्यालय भन्ने वित्तिकै व्यवसाय भनेर सोचिहाल्नु भन्दा तिनीहरूले शिक्षा क्षेत्रमा गरेको योगदानलाई पनि विचार गर्दै कसरी शैक्षिक र सेवामुखी बनाउन सकिने हो त्यतातर्फ विचार गर्नु जरुरी छ ।
मन्टेश्वरीकोे वास्तविक विधि र सिद्धान्त लागू भइरहेको पाइदैंन, तपाईंहरूले त्यसलाई कतिको अंगिकार गर्नुभएको छ ?
विद्यालयको नाममा मन्टेश्वरी जोडेर डा. मारिया मन्टेश्वरीले प्रतिपादन गरेका बाल सिकाइका सिद्धान्त, विधि र तरिकाहरूको अनुशरण नगर्नु विडम्बनापूर्ण अवस्था हो । हामी प्रज्ञा पाठशालामा यस्तो अवस्था आउन नदिन पूर्ण सजग छौं । मन्टेश्वरीले सन् १९४८ मा पहिलो पटक प्रकाशित गरेको ‘द डिस्कवरी अफ द् चाइल्ड’ पुस्तकमा सरल भाषामा बालबालिकाहरूका ज्ञानेन्द्रीयहरूको अभ्यास कसरी गर्ने, शुक्ष्म र स्थुल अङ्गहरूको विकास कसरी हुन्छ, उनीहरूको भाषिक र गणितीय सीपको विकास कसरी हुन्छ भन्ने जस्ता बालबालिकाहरूको चौतर्फी विकासका लागि गर्नुपर्ने धेरै क्रियाकलापहरू उल्लेख गरेकी छन् । हामी त्यसलाई हाम्रो परिवेशमा लागू गर्ने प्रयासमा छौं ।
बालबालिकाहरूको सिकाइ प्रक्रियालाई अर्थपूर्ण, उपलब्धिपूर्ण र व्यवहारिक बनाउन के गरिरहुनुभएको छ ? वा के गर्नुपर्छ ?
बालबालिकाहरूले सिक्नका लागि सिकाइ प्रक्रिया अर्थपूर्ण, रुचिपूर्ण, व्यवहारिक, र अनुभवमा आधारित हुनुपर्दछ । त्यसो भएमा मात्र सिकाइलाई उपलब्धिपूर्ण मान्न सकिन्छ । अहिले धेरैजसो बालबालिकाहरूलाई पढ्नु लेख्नु भनेको सबैभन्दा गाह्रो र मन नपर्ने काम भएको छ । यसको लागि हामी शिक्षकहरू नै जिम्मेवार छौं । दाहिने र बायाँ जुत्ता चप्पल चिन्न नसक्ने बच्चालाई निरर्थक र अमुर्त चिन्हहरू चिन्न कर गरेपछि सिकाइको सुरुआत पिडादायक हुने नै भयो । त्यसैले सिकाइलाई जीवनको स्वाभाविक रमाइलो प्रक्रिया बनाउनका लागि बालमैत्री वातावरणमा बालबालिकाहरूलाई सक्रीय सिकाइका अवसरहरू प्रदान गर्नुपर्दछ । यसका लागि उपयुक्त बालकेन्द्रित विधि र तरिकाहरूको प्रयोग गर्नुपर्दछ र हामी त्यही गर्न लागि परेका छौं ।
तपाईंको सोच र योजना अनुसारको शैक्षिक गुणस्तर दिनसक्ने जनशक्ति तपाईंहरूसँग छ ?
बालबालिकाहरूको सिकाइ सहजीकरण एउटा कला हो जसलाई लगनशील र निरन्तर प्रयासबाट सिक्न र परिस्कृत बनाउन सकिन्छ । हामीसँग अहिले कार्यरत सबै शिक्षकहरू यहीं भावनाबाट प्रेरित भएर लागिरहनु भएकोले हामी आफ्नो सोचाइ अनुसारको सिकाइ वातावण निर्माण गर्न सक्छौं भन्ने विश्वासमा छौं । हामीले निरन्तर रूपमा शिक्षकहरूलाई कक्षाकोठा भित्रै व्यवहारिक तरिकाले पेशागत दक्षता वृद्धि गर्न सहयोग गरिरहेका छौं । यसबाट छुट्टै तालिम कक्षमा लिइने तालिम भन्दा ज्यादै व्यवहारिक शिक्षण सीप हासिल भएको अनुभव हाम्रा शिक्षकहरूले गरिरहनुभएको छ । त्यसैले हाम्रो हाम्रो सोच र योजनालाई कार्यान्वयन गर्नसक्ने क्षमता हाम्रा शिक्षकहरूसँग छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
साझा बिसौनी ।