सुर्खेत विमानस्थलः यत्तिमै खुशी हुने ?

गणेश आचार्य

हामी सबैलाई बधाई छ, फेरि पनि सुर्खेत र काठमाडौंबीच प्रत्येक दिन हवाई उडान सुरु हुने भएको छ । वैशाख १, २०७५ देखि बुद्ध एयर र नेपाल एयरलाइन्सले सुर्खेतदेखि काठमाडौं उडान गर्नेछन् । यो खुशीको खबरसँगै हाम्रो प्रादेशिक राजधानीको विमानस्थल पूर्वाधारबारेको बहस पनि सुरु भएको छ । बहसको गुदी के भने, हामीसँग विमानस्थल त छ तर साना जहाज मात्रै बस्ने खालको । सानो मात्रै जहाज बस्ने भएकाले उडान कम्पनीहरूले महंगो भाडादर कायम गरेका छन् । हाम्रो प्रदेशलाई काठमाडौंसँग जोड्ने पूर्वाधार हाम्रै प्रदेशका जनताले प्रयोग गर्न नसक्ने खालको भयो भने यो खुशीको खबरले खासै रौनक ल्याउँदैन । ठूलो विमानस्थल भएको भए हामी कहाँ पनि अरु प्रदेश राजधानीमा जस्तै ठूला जहाज उत्रन्थे, धेरै यात्रुहरू एकैपटक ओहोर–दोहोर गर्न पाउँथे, विमान कम्पनीबीच भाडामा प्रतिष्पर्धा हुन्थ्यो, साधारण आयस्तर भएका जनताले समेत यो सुविधा प्रयोग गर्न पाउथे र हाम्रो प्रदेशको आर्थिक क्रियाकलापमा पनि उल्लेख्य वृद्धि हुन्थ्यो । तर विडम्बना, त्यो दिन देख्न अरु धेरै वर्ष कुर्नुपर्ने भएको छ ।

समस्या के ?

म पहिलो दोष हाम्रो विकासको पुरातनवादी सोचलाई दिन्छु । यसअघिको हाम्रो राजनीतिक र प्रशासनिक नेतृत्वले विकासका कार्यक्रम अगाडि बढाउँदा कहिल्यै भविष्यलाई सोचेन । देशभर एउटा जिल्लालाई अर्कोसँग जोड्नेगरी नयाँ खोलिएका बाटाहरूमध्ये कत्तिमा त दुईवटा गाडी अटाउन समेत हम्मेहम्मे पर्छ । वर्षौंदेखिको देशको ‘लाइफलाइन’ पूर्व–पश्चिम राजमार्गको ‘राइट अफ वे’ अर्थात् राजमार्ग दायाँबायाँ फैलन सक्ने थप क्षेत्र प्रशस्तै हुँदापनि हामी भर्खर मात्रै पूर्व–पश्चिम राजमार्ग ४ लेनको बनाउने की भनेर योजना गर्दैछौं । यतिखेरसम्म त हाम्रो पूर्व–पश्चिम राजमार्ग कम्तीमा ६ लेनको भैसकेको हुनुपथ्र्यो र अहिले ८ लेनको बनाउने की भनेर योजना बनाउन सुहाउँथ्यो ।
धेरै ग्रामीण सदरमुकामहरूको मुख्य बजारभित्र अहिले पनि गाडी छिर्न गाह्रो पर्छ । अहिले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलले समेत २०२१ पछि संतृप्त अर्थात् यात्रुको चाप थेग्न नसक्ने हुने तथ्य बाहिर आइसकेको छ । भैरहवा र पोखरामा समेत विमानस्थल निर्माण भइरहेपनि एउटा मात्रै धावनमार्ग भएका दुवै विमानस्थलले सबै प्रकारका ‘वाइडबडी’ जहाज उर्तान नसक्ने भएकाले क्षेत्रीय विमानस्थलकै रूपमा सीमित हुनेछन् । एकमात्र समाधानका रूपमा रहेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थल सम्भाव्यता अध्ययन सकेर बसेको वर्षौं भइसक्यो, तर प्रगति शून्यप्रायः छ । हाम्रो देशलाई चाहिने विद्युत कति हो भन्दा अझ पनि दुई हजार मेगावाट भए पुग्छ भन्ने तहका छलफल हुन्छन्, तर विद्युतको पर्याप्त उपलब्धता भए हामीसबै विद्युतीय उपकरणहरू चलाउन थाल्छौं, देशभर मोनो र मेट्रोरेल चलाउन थाले अथवा नयाँ ठूल्ठूला आयोजनाहरू चल्न थालेभने त्यसका लागि हजारौं मेगावाट चाहिन्छ । हाम्रो विकासको सोच भने, ‘हामीलाई अहिलेलाई यत्ति भए पुगीहाल्छनी !’ भन्ने भावनाबाट प्रेरित छ । वीरेन्द्रनगर विमानस्थल पनि यस्तै सोचका साथ विकास भएको प्रष्ट छ ।
पञ्च्यात कालदेखि नै मध्यपश्चिमको मुकाम रहेको वीरेन्द्रनगरमा २०२२ सालदेखि नै विमानस्थल सञ्चालन भएको थियो । त्यत्तिञ्जेलसम्म सुर्खेत समग्र क्षेत्रको हब बन्न सुरु भइसकेको थियो । विश्वव्यापी रूपमा विकासले गति लिइरहेका बेला, क्षेत्रीय सदरमुकाम जस्तो ठाउँमा कुनै बेला अलि ठूलो विमानस्थल पनि आवश्यक पर्न सक्छ भन्ने कुरा १५ वर्ष अघि मात्रै सोचेर कार्यान्वयनतर्फ लागेको भए पनि अहिले ‘सानो प्लेन मात्रै बस्ने एयरपोर्ट भएको प्रादेशिक राजधानी’ को ट्याग सुर्खेतलाई लाग्ने थिएन ।
अहिलेको विमानस्थलको प्रमुख बाधा नजिकै रहेका डाँडाकाँडा पनि रहेको बताइएको छ । केही प्राविधिकहरूले यो विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण फैलाउनु नै प्रमुख गल्ती भएको जिकिर गर्छन् । ठूल्ठूला डाँडाकाँडाहरू भएको उत्तर दक्षिणतीर धावनमार्ग फैलाइएकाले जहाजले समयमै उचाइ र गति लिन सक्दैन, ठूला जहाजहरूलाई त यो झन् महŒवपूर्ण कुरा हो । यो कुरा थाहा भएको पनि करिब १० वर्ष भैसक्यो । त्यतिखेरैदेखि विमानस्थलको धावनमार्गलाई पूर्व–पश्चिम फैलाउन पहल गरेको भए पनि अहिले चुक्चुकाउनु पर्दैनथ्यो ।
अर्को बाधा धावनमार्गको दक्षिणमा रहेकोे सुर्खेत–कोहलपुर राजमार्ग पनि रहेको बताइन्छ । तर मेरो विचारमा राजनीतिक र प्रशासनिक नेतृत्वले पहल गरेर राजमार्गलाई पनि अलि तल सार्न सकिन्थ्यो, अथवा निर्माणका लागि स्रोत जुटाउन लागि परेर अन्य धेरै देशमा भएको जस्तै राजमार्ग माथि नै पूलजस्तो संरचना बनाएर त्यसैमा धावनमार्ग बनाउन सकिन्थ्यो । त्यसो गर्न सकेको भए त हामीले अरु धेरैका लागि “यस्तो पनि गर्न सकिन्छ है’ भनेर उदाहरण प्रस्तुत गर्न सक्थ्यौं । तर हामीले बस्तीविस्तार र अन्य व्यवसायिक अनुमति दिएर धावनमार्गलाई चारैतीरबाट छेकिसकेका छौं, जसका कारण अब धावनमार्ग विस्तार हाम्रो लागि फलामको चिउरा जस्तै छ ।
अहिले सुर्खेत–काठमाडौं सीधा उडान फेरि संचालनमा आउँदा समेत खुशी मानिहाल्नुपर्ने दह्रिलो आधार मैले भेटेको छैन । अहिले काठमाडौं–सुर्खेतको पूरा भाडादर काठमाडौं–नेपालगन्जकोभन्दा एक हजार ६ सय रूपैयाँले बढी छ । सस्तो भाडादर त झन् करिब चार हजार रूपैयाँले बढी छ । कहिले काहीं विशेष अवसरको भाडादरको हिसाब गर्ने हो भने त करिब पाँच हजार रूपैयाँकै अन्तर हुन्छ । यस हिसाबले अहिले नै पनि काठमाडौं–सुर्खेतको भाडाको खर्चले करिब काठमाडौं–नेपालगञ्जको दुईतर्फी यात्रा गर्न पुग्छ । पूरा टिकटदरमा मात्रै यात्रा गर्ने वा टिकट पेश गरेर त्यसको भुक्तानी लिनेहरूका लागि त काठमाडौं–सुर्खेत सुलभ यात्रा नै होला तर यो सेवा सर्वसाधारणले प्रयोग गर्नसक्ने दरको छैन । हाललाई सीधा उडान त भयो भनेर मात्रै खुशी रहनु भनेको हामीले हिजोका गल्तीलाई माफी दिएको र भोलिको सम्भावनालाई टारेको जस्तो हुन्छ । आफ्नै ठाउँबाट संघीय राजधानी जोडिन्छ भनेर गर्व गर्नका लागि मात्रै ४÷५ हजार रूपैयाँ छुट्टै खर्च गर्न म त कम्तीमा दुई पटक सोच्नेछु ।

वीरेन्द्रनगर विमानस्थलको सम्भावना

विमानस्थललाई दुई शहर वा दुई शहरका मान्छे जोड्ने साधनका रूपमा मात्रै हेर्नु यसको व्यापकताको अवमूल्यन गर्नुजस्तै हो । यसले अर्थतन्त्र वा समृद्धि समेत जोड्छ । चीनमा याओ र याङ् नाम गरेका दुई अर्थतन्त्र अनुसन्धानकर्ताले सन् २००७÷००८ मा गरेको अध्ययन अनुसार, १० प्रतिशत जनसंख्या बढ्नु भनेको हवाईयात्रुको संख्या १.७ प्रतिशतले र हवाई कार्गोको परिमाणमा १.२ प्रतिशतले बृद्धि हुने तथ्य निकालेका थिए । त्यसैगरी अर्का अनुसन्धानकर्ताहरू बेनेल र प्रेन्टिसले सन् १९९३ मै क्यानडामा गरेको अध्ययनबाट, १ हजार १ सय २६ जना हवाइयात्रु बढ्दा १ जनाले वर्षभरीका लागि रोजगारी पाउँछ । तत्कालीन अवस्थामा हरेक थपिएको १ जना हवाइयात्रुले क्यानडाको अर्थतन्त्रमा करिब ८० क्यानेडियन डलर बराबरको योगदान गर्ने उनीहरूको अनुसन्धानमा देखिएको छ । साथै, हवाइयात्रुको संख्यामा १ प्रतिशत वृद्धि हुनु भनेको प्रत्यक्ष रोजगारीमा ०.७५ प्रतिशत र राजश्वमा ०.४७ प्रतिशत वृद्धि हुनु हो । विमानस्थलले विकसित देशहरूको जस्तै प्रभाव हाम्रो अर्थतन्त्रमा पार्न केही समय त लाग्ला अथवा तत्काल त्यो मात्रामा प्रभाव नपार्ला तर विमानस्थलले हाम्रो राष्ट्रिय र प्रादेशिक अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे भने दुईमत नहोला ।
अर्कोतीर प्रादेशिक राजधानी भइसकेपछि सुर्खेतलाई संघीय राजधानीसँग जोड्न एउटा राम्रो विमानस्थलको आवश्यकता त पर्छ नै । स्मरण रहोस्, कर्णाली प्रदेशबाहेक अरु सबै प्रदेशको राजधानीमा एभ्रो वा बोइङजस्ता ठूला जहाजहरू उत्रनसक्ने विमानस्थल छन् भने वीरेन्द्रनगर विमानस्थलमा पिलाटस् र ट्वीनटरजस्ता तुलनात्मक रूपमा साना जहाजहरू मात्रै उत्रन सक्छन् । समग्र कर्णाली प्रदेशका वासिन्दाहरू सुर्खेतबाटै काठमाडौं उड्न पाए भने समय र पैसाको समेत बचत हुन्छ । अर्कोतिर हिउँद महिनामा अन्य तराईका विमानस्थलमा जस्तै नेपालगन्ज विमानस्थलमा समेत कुहिरोका कारण उडानहरू प्रभावित हुन्छन् । यो कुरामा पनि सुर्खेतलाई केही मात्रामा फाइदा नै छ । विमानस्थलले नै सुर्खेतमा आर्थिक गतिविधिहरू समेत बढ्न जान्छन् र अरु प्रदेशहरूले समात्ने समृद्धिको गति भेट्टाउन कर्णाली प्रदेशलाई सजिलो पनि हुन्छ ।

अब के गर्ने ?

विमानस्थलका लागि कर्णालीले चाल्नुपर्ने पहिलो कदम भनेको अहिलेको वीरेन्द्रनगर विमानस्थल विस्तार हुन सक्छ या सक्दैन भन्ने निक्र्यौल गर्नु नै हो । प्राविधकहरूको धारणा बुझेर विस्तार सम्भव देखिए तुरुन्त विस्तारको काम अघि बढाएर ३÷४ वर्षमा निर्माण सम्पन्न गर्न सकिन्छ । यदि विस्तार सम्भव छैन भन्ने पक्कापक्की भए चाहिँ तुरुन्त विकल्प खोज्नतर्फ लाग्नुपर्छ । नयाँ विमानस्थल निर्माण गर्नु सजिलो काम हैन । नयाँ ठाउँको पहिचान गरी विमानस्थलको अवधारणा बनाउने, त्यसको पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, निर्माणका लागि मोडालिटीको विकास, टेण्डर, वित्तीय व्यवस्थापन हुँदै निर्माणसम्म पुग्दा कम्तीमा ७÷८ वर्ष त लाग्छ नै, तैपनि कुनै अवरोध विना सरासर काम भयो भने मात्र ।
बेला–बेलामा मदानीचौरमा ‘अन्तर्राष्ट्रिय’ विमानस्थल बनाउने भन्ने कुरा सुनिन्छ । केही दल र उमेदवारले यसलाई आफ्नो चुनावी नारा समेत बनाए तर यो आयोजना यति प्रारम्भिक स्थितिमा छ कि तत्काल अगाडि बढियो भने पनि माथि भनिएजस्तै कम्तीमा ७÷८ वर्ष लागिहाल्छ । त्यही पनि सम्भाव्यता अध्ययन हुँदासम्म त्यो विमानस्थल सम्भाव्य छ या छैन, भन्ने शंका त रहिरहनेछ । अर्कोतर्फ मदानीचौरमा अझैंपनि अरु थुप्रै आयोजनाहरू सञ्चालन गर्ने प्रस्तावका बारेमा पनि छलफल हुने गरेको छ । यदि विमानस्थलकै रूपमा त्यस ठाउँलाई अगाडि बढाउने हो भने तत्काल आयोजनाको अवधारणा निर्माण गरेर पूर्वसम्भाव्यतातर्फ अघि बढिहाल्नुपर्छ । भोलिलाई सुरक्षित रहनका लागि अरु सम्भाव्य ठाउँहरूको समेत पहिचान गरी तिनलाई पनि त्यही प्रक्रियामा अगाडी बढाउनुपर्छ । त्यसकारण नयाँ विमानस्थलको विकासको सुरुवात गर्नु अहिलेको अपरिहार्य कदम हो । र अब सुर्खेतमा नयाँ विमानस्थल बनाउँदा कम्तीमा क्षेत्रीयस्तरको भयो भने मात्रै भविष्यमा हुनसक्ने यात्रुको आवत–जावतलाई सहज बनाउन सकिन्छ । यीसबै भविष्यका कुरा हुन, जुन देखिनेगरी विकास हुन वर्षौं लाग्छ । तर अहिले नै हामीले के गर्ने ? हुन त उचित फाइदा नहुनेभए उडान कम्पनीहरूले काठमाडौं–सुर्खेतको उडानसेवालाई निरन्तरता नदिन पनि सक्लान् तर तत्कालका लागि सुर्खेत–काठमाडौं सिधा उडानलाई सर्वसाधारणले प्रयोग गर्नसक्ने बनाउनतर्फ पनि लाग्नुपर्छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७४, बिहीबार १०:४३