बजेटले ल्याएको खुशी, वृद्धाश्रमदेखि विस्थापितका शिविरसम्म

aasramka aamaबिसौनी संवाददाता
सुर्खेत, २० जेठ ।
विगत दुई वर्षदेखि विस्थापित भइ वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी रमादेवी विक यतिबेला हर्षित छिन् । उनको खुशीको कारण हो, सरकारले प्रस्तुत गरेको बजेट । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सुर्खेतका बाढीपीडितको पुनस्र्थापनाका लागि बजेट विनियोजन भएको खबर सुनेदेखि उनी खुशीले गद्गद् छिन् । जतिसक्दो छिटो अस्थायी शिविरको त्रिपालको बासबाट आफ्नै घरमा सर्न पाइने आशले उनलाई खुशी तुल्याएको छ ।
२०७१ सालमा आएको बाढीले घरसहित जग्गा जमिन बगाएपछि विकको परिवार नै विस्थापित भयो । दुई वर्षदेखि उनीहरूले अस्थायी शिविरमा बस्दै आएका छन् । पटक–पटक पुनस्र्थापनाको आश्वासन पाए पनि काम हुन नसकेपछि उनी निराश हुँदै आएकी थिइन् । तर यसपाली सरकारले बजेटमा नै सम्बोधन गरेकाले पुनस्र्थापनाको काम जतिसक्दो छिटो हुने उनको विश्वास छ । भन्छिन्, ‘यसअघि कहिले बजेट छैन भन्दै र कहिले के भन्दै कामै भएन, यस पटक सरकारले नै बजेटमार्फत् पुनस्र्थापना गर्ने भनेको छ पक्कै काम हुन्छ भन्ने लागेको छ ।’ शिविरमा बसेको लामो समय भइसक्दा पनि पुनस्र्थापनाको काम नहुँदा उनको परिवार दोहोरो पीडामा थियो । एकातर्फ घरजग्गा गुमाएको पीडा थियो भने अर्कोतर्फ दैनिक जीविकोपार्जनमा आएको समस्या ।
महिला प्रशिक्षण केन्द्र शिविरकै हरिहर खरेल पनि बाढीपीडितहरूको समस्या समाधान हुनेमा आशावादी देखिएका छन् । ‘सरकारको बजेटमा नै पुनस्र्थापनाको योजना परेर बजेट विनियोजन भइसकेपछि त काम हुन्छ होला’ उनले भने, ‘उनले भने हामी पनि जतिसक्दो छिटो यो त्रिपालको घरबाट निस्केर आफ्नै घरमा बस्न चाहन्छौं ।’ बाढीकै कारण विस्थापित बन्न पुगेका उनलाई सरकार आफ्ना समस्याप्रति गम्भीर नै नभएको जस्तो लागेको थियो । तर बजेटले सम्बोधन गरेपछि यतिबेला उनमा आशा पलाएको छ । यद्यपि आशङ्का भने बाँकी नै छ । ‘घोषणा गर्ने तर कामै नहुने पो हो कि भन्ने शंका पनि लाग्छ’ उनले भने, ‘भूकम्पपीडितको र हाम्रो समस्या उस्तै हो, उनीहरूलाई जसरी नै हामीलाई पनि पुनस्र्थापना गर्न सरकार गम्भीर बन्नुपर्दछ । एक छाक खाएर यो अस्थायी शिविरमा हामी कहिलेसम्म बस्ने ?’
रमादेवी र हरिहरजस्तै जिल्लाका बाढीपीडितहरू यतिबेला पुनस्र्थापना हुने आशमा छन् । लामो समयदेखि अनेक कष्ट व्यहोर्दै अस्थायी शिविरमा बस्दै आएका उनीहरू सरकारले पुनस्र्थापना मात्रै गरिदिए पनि आफै जीविकोपार्जन गर्न सक्ने बताउँछन् । अहिले जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा करिब ८ सय परिवार विस्थापित छन् । DSC06110
बजेटले जिल्लाका बाढीपीडितहरूलाई जस्तै वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई पनि खुशी तुल्याएको छ । यस पटकको बजेटले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरूलाई दिने वृद्धभत्ता वृद्धि गरेपछि उनीहरू खुशी भएका हुन् । यसले आफूहरूको जीवनयापनमा सहज हुने उनीहरू बताउँछन् । वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा अहिले १३ जना वृद्धाहरू छन् । जसमध्ये १० जनाले नियमित वृद्धभत्ता बुझ्दै आएका छन् । घरपरिवारबाट हेपिएर र लखेटिएर वृद्धाश्रमको शरणमा आइपुगेका उनीहरूका लागि वृद्धभत्ता वृद्धि सबैभन्दा ठूलो खुशीको कारण बनेको छ । ‘सरकारले वृद्धभत्ता बढाउने घोषणा गरेको थाहा पाएपछि आश्रमका वृद्ध आमाहरू यतिबेला निकै खुशी हुनुभएको छ’ प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले भने, ‘यसले उहाँहरूको जीविकोपार्जनमा सघाउ पुग्नेछ ।’ सरकारले वृद्धभत्तामा एक हजार रूपैयाँ वृद्धि गरेको छ । यसअघि मासिक १ हजार रूपैयाँ दिने गरिएको थियो । आउँदो आर्थिक वर्षबाट वृद्धवृद्धाहरूले मासिक दुई हजार रूपैयाँ पाउनेछन् । सरकारले २०५१ सालदेखि वृद्धभत्ता दिन सुरु गरिएको हो । वृद्धभत्ता वृद्धिले वृद्धाश्रमका मात्र होइन अन्य वृद्धवृद्धाहरू पनि खुशी भएका छन् ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७३, शुक्रबार ०५:४२