धुलोमा खेल्नुपर्ने बाध्यता टर्दै

मुख्यमन्त्रीद्वारा शिलान्यास, करिब तीन करोड खर्च लाग्ने

सुर्खेत, ११ चैत ।
खुला चौरको धुलाम्मे कोर्टमा खेल्दै आएका सुर्खेतका ब्याटमिन्टन खेलाडीहरूले अब सुविधा सम्पन्न कभर्डहलभित्र खेल्न पाउने भएका छन् । जिल्ला ब्याटमिन्टन संघ सुर्खेतको पहलमा सुविधायुक्त बहुउद्देश्यीय कभर्डहल बन्ने भएपछि यहाँका खेलाडीहरूले अब धुलाम्मे कोर्टमा खेल्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।


‘ब्याटमिन्टन खुला ठाउँमा खेलिने खेल होइन, यो इन्डोर गेम हो’ जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष चेत अधिकारी भन्छन्, ‘तर हामीसँग कभर्डहल नहुँदा बाहिरै खेल्दै आएका थियौं, अब भने उक्त समस्या समाधान हुने भएको छ ।’ कभर्डहल बन्ने भएपछि यहाँका ब्याटमिन्टन खेलाडीहरू निकै हर्षित भएको अधिकारीले बताए । उनले कभर्ड हलले कर्णाली प्रदेशको खेलकुद विकासमा महŒवपूर्ण सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे ।
खेलाडीहरूको सक्रियता र ब्याटमिन्टन संघको पहलमा निर्माण हुन लागेको बहुउद्देश्यीय ब्याटमिन्टन कभर्ड हलको आइतवार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका हुन् । खेलकुद गुरुयोजना अनुसार जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा कभर्ड हल निर्माणका लागि प्रदान गरिएको थियो । वीरेन्द्रनगरस्थित खुला कभर्डहल नजिकैको जग्गामा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्न लागिएको हो ।
जग्गा अपर्याप्त
जिल्ला ब्याटमिन्टन संघ सुर्खेतले जिल्लामा सुविधायुक्त कभर्डहल निर्माण गर्न जग्गा माग गरेपछि सुर्खेत उपत्यका नगर विकास समितिले जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराएको जग्गामध्येबाट करिब चार कठ्ठा जग्गा कभर्ड हलका लागि हस्तान्तरण गरेको थियो । तर उक्त जग्गा पर्याप्त नभएको संघले जनाएको छ । तर हाललाई अरु विकल्प पनि नभएकाले सोही जग्गामा हल निर्माण कार्य सुरु गरिएको संघका उपाध्यक्ष अधिकारीले जनाए ।
चार वटा ब्याटमिन्टन कोर्टसहितको हल बनाइने अधिकारीले बताए । त्यसैगरी योग तथा प्रणायाम गर्न मिल्नुका साथै अन्य इन्डोर खेल सञ्चालन गर्नसमेत सकिने उनको भनाइ छ । अधिकारीले सभा तथा सेमिनार आयोजनाका लागि पनि प्रयोग गर्न मिल्ने गरी हल निर्माण हुने बताए ।
सरकारी बेवास्ताले खेलाडी सक्रिय
विगतमा धुलाम्य कोर्टमा खेल्दै आएका यहाँका खेलाडीहरूले एउटा ब्याटमिन्टन कभर्ड हल निर्माणका लागि सरकारलाई पनि गुहारे । तर पटक–पटक गुहार्दा पनि सरकारले बेवास्ता गरेपछि उनीहरू आफ्ना लागि आफै अघि सर्नुपर्ने निर्णयमा पुगे र महायज्ञमार्फत् रकम संकलन गरी कभर्ड हल निर्माण गर्दैछन् ।
पछिल्लो समय जिल्लामा ब्याटमिन्टन खेलतर्फ आकर्षण बढ्दै गए पनि सुर्खेतमा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू ओझेलमा परेकाले कभर्ड हल निर्माणको अभियान थालिएको जिल्ला ब्याटमिन्टन संघका महासचिव खिमलाल देवकोटा बताउँछन् ।
ब्याटमिन्टन संघले ब्याटमिन्टनका लागि मात्रै नभइ बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने तयारी गरेको छ । उक्त हल निर्माणका लागि संघले गतवर्ष महायज्ञ सञ्चालन गरेर एक करोड ७५ लाख रूपैयाँ आर्थिक संकलन समेत गरिसकेको छ । संघका उपाध्यक्ष चेत अधिकारीका अनुसार महायज्ञबाट एक करोड ७५ लाख रूपैयाँमध्ये खर्च कटाएर एक करोड ३० लाख रूपैयाँ बचत भएको छ । सोही रकमबाट कभर्डहल निर्माण गरिनेछ । अबको एक वर्षभित्र हल निर्माण गरिसक्ने जनाइएको छ । हल निर्माण गर्न दुई करोड ९५ लाख रूपैयाँ लाग्ने जनाइएको छ ।
सरकारले सहयोग गर्छः मुख्यमन्त्री शाही
कभर्ड हलको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुद सरकारको प्राथमिकतामा पर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने भन्दै सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश गिरीले सुर्खेतमा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुनु यो प्रदेशकै लागि खुशीको कुरा भएको बताए । उनले सुर्खेतमा प्रदेशस्तरको कभर्ड हल अपरिहार्य रहेको भन्दै उक्त आवश्यकतालाई ब्याटमिन्टन संघले पूरा गर्न लागेको जनाए । कभर्ड हल निर्माण भइसकेपछि सुर्खेतबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ब्याटमिन्टन खेलाडीहरू उत्पादन गर्न सकिने विश्वास गिरीले व्यक्त गरे ।
ब्याटमिन्टन संघका अध्यक्ष छविलाल शाहीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष कविन्द्रकुमार केसी लगायतको सहभागिता रहेको थियो ।