सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने तयारी

सुर्खेत, ११ चैत ।
कर्णाली प्रदेशमा सरकारले सरकारी कार्यालयहरूमा सामाजिक सञ्जाल फेसबुक चलाउन रोक लगाउने भएको छ । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउने र सेवाग्राहीको काम नगर्ने गुनासो बढेपछि प्रदेश सरकारले मंगलवारदेखि फेसबुक नै बन्द गर्न लागेको हो । फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रक्रिया सुरु गरेको छ ।


सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका सरकारी तथा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग आइतवार छलफल गरेका छन् । नेपाल टेलिकम, वल्र्डलिङ्क, सुविसु, टेक माइण्डस् र सुर्खेत केवल नेटले इन्टरनेट सेवा दिँदै आएका छन् । छलफलमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीहरूले सरकारले औपचारिक पत्र पठाए आफूहरूले फेसबुक बन्द गरिदिने प्रतिबद्धता जनाएका छन् ।
कार्यालय अवधिमा सरकारी कार्यालयमा फेसबुकमा प्रतिबन्ध लगाउन गृहकार्य थालिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले जनाए । उनकाअनुसार पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित प्रदेशका सबै मन्त्रालयहरूमा यो योजना लागू
हुनेछ । विस्तारै प्रदेशका सबै सरकारी कार्यालय र संस्थानहरूमा पनि फेसबुकमा प्रतिबन्ध लगाउने तयारी सरकारको छ । ‘बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सरकारी कार्यालयमा अब फेसबुक चल्दैन’ मुख्यमन्त्रीका स्वकीय सचिव पहाडीले भने, ‘फेसबुक चलाएर जनताको काम नगर्नेहरू अब ठीक ठाउँमा आउनेछन्, जनताले समयमै सेवा पाउने छन् । अब सरकारी कार्यालयमा फेसबुक बन्द हुन्छ ।’
अब कर्णाली प्रदेशका सरकारी कार्यालय, संस्थान र विद्यालयहरूमा पनि फेसबुक बन्द हुनेछ । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी सहकारी मन्त्री विमला केसीले दुई चरणमा गरी फेसबुक प्रतिबन्ध लगाइने जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा मन्त्रालयमा र दोस्रो चरणमा प्रदेशका अन्य सरकारी कार्यालयहरूमा फेसबुक चलाउन रोक लगाइनेछ । कार्यालयभित्र कर्मचारीले काम नगर्ने र फेसबुकमा भुल्ने गरेको गुनासो बढेपछि मुख्यमन्त्री शाही आक्रामक बनेका हुन् ।

प्रकाशित मितिः   १२ चैत्र २०७४, सोमबार १४:४७