बालविवाहविरुद्ध पानकुमारीको जोडी

पूजा भण्डारी
दैलेख, ११ चैत ।
आमाको गर्भमा हुँदा बुबाले दोस्रो विवाह गरे । मामा घर पानकुमारीको जन्म भयो । दुई वर्षको उमेरमा आमा अर्को विवाह गरेपछि उनी मामा घरमै हुर्किइन् । कक्षा ८ मा पढ्दै गर्दा १४ वर्षको उमेरमै विवाह गरिन् । १७ वर्षमा पहिलो सन्तान जन्माएकी पानकुमारी २३ वर्षकी भइन् । उनका तीन सन्तान छन् ।


सानै उमेरमा विवाह गरेकी पानकुमारी अहिले महिलामाथि हुने विभिन्न हिंसा र बालविवाह गर्न नहुने भन्दै अभियानमा होमिएकी छिन् । बालविवाहकै कारण पाठेघर समस्या भोगिरहेकी उनले लाज हुने डरले केही समय रोग लुकाएर बसिन् । तर, उनी अहिले खुलेर बालविवाहको विरोध गर्न थालेकी छिन् ।
महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा र केड सुर्खेतको आर्थिक सहयोगमा महिला किशोरी तथा बालअधिकार कार्यक्रम अन्तर्गत नमुना जोडी अभियानकर्ता बनेपछि उनी अहिले गाउँ–गाउँमा बालविवाह नगर्न सुझाव दिँदै हिँडेकी छन् । पाठेघरको समस्याले ग्रसित बनेकी उनी बालविवाह नै कारण भएको भन्दै गाउँमा अभियान चलाएको बताउँछिन् ।
समुदायमा बालविवाह नगर्न सुझाव दिँदा गाउँलेले आलोचना गर्ने गरेको बताइन् । अभियान गर्दा समेत बालविवाहमा कमी नआएको भन्दै उनले जनस्तरबाटै प्रतिबद्धता आवश्यक रहेको बताइन् ।
नमुना जोडी अभियानकर्ता भएपछि महिला घरेलुहिंसा, बहुविवाह प्रजनन् स्वास्थ्य, पाठेघर खस्ने समस्याबारेमा पानकुमारी र उनका श्रीमान्ले जानकारी दिन थालेका छन् ।
दुवै जनाले किशोर किशोरीहरूलाई उमेर पुगेपछि विवाह गर्न सल्लाह दिन्छन्, भने नवविवाहित जोडीसँग सानो उमेरमा बच्चा जन्माउँदा पाठेघर खस्ने समस्या हुने सन्देश दिने गरेका छन् । पानकुमारी बालविवाहविरुद्ध लाग्ने उदाहरणीय पात्र हुन् । उनी जस्तै सबैले साथ दिए जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउन मद्दत पुग्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मितिः   १२ चैत्र २०७४, सोमबार १४:४६