बचपनमा ‘वदमास’छविलाल
जिल्ला समन्वय समिति सुर्खेतका संयोजक हुन्, छविलाल सिग्देल । वि.सं. २०१४ माघ २६ गते बुबा कलाधर सिग्देल र आमा हरिकला सिग्देलको कोखबाट सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका छाप्रेमा जन्मिएका उनी शिक्षण पेसा हुँदै राजनीतिमा सक्रिय छन् । विद्यार्थी छँदादेखि नै राजनीतिमा प्रवेश गरेका उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन् ।
मेरो जन्म सुर्खेतकै छाप्रेमा भएको हो । त्यसबेलामा छाप्रे पञ्चायत थियो । अहिले पञ्चपुरी नगरपालिका– ७ भएको छ । सात भाइ र दुई बहिनी भएको हाम्रो परिवार ठूलो थियो । बुबाआमाको म राइँलो छोरा हुँ । ६ वर्षसम्म मैले छाप्रेमै बिताएँ । त्यसपछि हाम्रो परिवार कैलालीको बैरिफाटा भन्ने ठाउँमा बसाइँ सरेर गयो । मेरो पढाइ कैलालीमै सुरुवात भयो । मैले त्यहाँ कक्षा ४ सम्म पढें । कक्षा ५ देखि विद्यापुरमा आएँ । बाढीले घरजमिन सबै बगाएपछि हाम्रो परिवार फेरि विद्यापुर बसाइ सरेर आएको थियो । जनता माध्यमिक विद्यालय विद्यापुरमा मैले कक्षा पाँचबाट पढाइ सुरु गरें । एसएलसी दिने पहिलो ब्याचको विद्यार्थी म पनि हो ।
पढाइ नै प्राथमिकतामा
मेरो पढाइ राम्रो थियो । कक्षा ७ सम्म म प्रथम हुन्थें । पढ्न रुचि धेरै नै थियो । पढाइ बाहेक खेलकुद र कलाकारितामा मेरो धेरै रुचि थियो । त्यसबेलामा त अहिलेको जसरी खेलकुदको विकास भइसकेको थिएन । कपडाको भकुण्डो गराएर बल खेल्ने गथ्यौं । डण्डीबियो, कपर्दी पनि खुबसँग खेलियो । त्यस बाहेक हाइजम्प, लङ्गजम्प पनि खेल्ने गर्थें । मलाई पौडी खेल्न खुब मन पथ्र्यो । कैलालाी छँदै नै मैले पौडी खेल्न सिकेको थिएँ । पछि विद्यापुर आएपछि भेरी नदीमा धेरै नै पौडी खेलियो । माछा मार्न पनि खुब गइन्थ्यो । एक पटक भेरी र कर्णाली नदीमा असारको महिना पौडी खेल्न गएँ । भेल आएको थियो । एक ठाउँबाट प्रयास गरे सकिनँ । फेरि अर्को ठाउँबाट पौडी खेलें । त्यहाँबाट तर्न सकें । धेरै चुनौतीका साथ मैले भेरी नदी तरेको थिएँ ।
नदीमा झण्डै बगिएन
मेरो पुसाजु भेरी र कर्णाली नदी मिसिएको ठाउँबाट ढुङ्गाबाट मान्छे तार्ने काम गर्नुहुन्थ्यो । मैले पनि ढुङ्गा चलाउन सिकिसकेको थिएँ । कहिलेकाहीं म पनि ढुङ्गा चलाएर सहयोग गर्ने गर्थें । एक दिन एक जनालाई नदी तार्दै थिएँ । डुङ्गालाई पानीले बगाइहाल्यो । एक्लै भए त खासै गाह्रो हुँदैनथ्यो । यात्रुलाई राखेर डुङ्गा चलाएको । डुङ्गा चलाउने दाविलो पनि पानीले बगायो । त्यो मान्छे आतिएर चिच्याउन थाल्यो । पछि मैले डुङ्गामा राखिएको डोरीले मान्छे र डुङ्गा नदीबाट तारें । पछि मलाई प्रहरीले कुट्यो, यसरी पनि डुङ्गा चलाउँछन् भनेर । अहिले पनि सम्झदा अच्चम पनि लाग्छ । डर पनि लाग्छ ।
विद्यालयबाट भागेर पौडी खेल्थ्यौं
कहिलेकाहीं माछा पनि मार्ने गरिन्थ्यो । माछा मारेर दुई पटकसम्म पैसा कमाएको छु । एक पटक दुई रूपैयाँमा माछा बेचेको सम्झना छ । म त्यस्तै १३ वर्षको थिएँ होला । भेरी नदीमा मैले र अर्को एकजना साथीले ६१ किलोको माछा मारेका थियौं । त्यो माछालाई जालमा हालेर पिटिपिटि घाइते गराएर मारेका थियौं । केही घर ल्यायौं, केही बेचियो । त्यसबेलामा एक सय रूपैयाँ बनाएका थियौं । त्यस बेलामा थोरै भए पनि पैसाको महŒव थियो । यसरी पैसाले किनेर खाने समय थिएन । पसलहरू हुन्थेन । मैले माछा बेचेको पैसा आमालाई राख्न दिन्थें । कहिलेकाहीं नदीमा नजाउँ भनेर घरमा गाली गर्ने गर्नुहुन्थ्यो । भागेर पनि पौडी खेल्न र माछा मार्न जान्थें । बिहान विद्यालय गएपछि साँझ नै घर आउँथ्यौं । घरमा आएपछि भेरीमा जान पाइदैन भनेर विद्यालयबाट नै भागेर जान्थ्यौं ।
नाचेरै चर्चित
अझै पनि मलाई गीतसंगीत भने पछि साह्रै मनपर्छ । बाल्यकालमा रुचि धेरै नै थियो । गाउँघरमा कतै रमाइलो पूजा, विवाह र सांस्कृतिक कार्यक्रम भए भने सबैलाई मलाई सम्झन्थे । अझै पनि सबैले सम्झनुहुन्छ । नाच्न भनेपछि पनि मलाई खुब मनपथ्र्यो । म गीतसंगीतमा नाँच्नेमा गाउँभरी नै चर्चित थिएँ । अछाम, कालिकोट लगायतका ठाउँमा गाइने गीत, झ्याउरे गीत सबै गाउथेँ । मलाई विशेष गरेर बुढापाकाले खुब सम्झन्थे । गीत गाएर र नाँचेरै म गाउँमा चर्चित भएको थिएँ ।
बाघसँग बाख्रो तानातान
गाईगोठालो मेलापात पनि म उत्तिकै जान्थें । घरको काम गर्ने, मेलापात गाईगोठालो प्रायः गइरहनुपथ्र्यो । गाईगोठालो जाँदाको एउटा क्षण अझै पनि ताजा नै छ । एक पटक बाख्रा लिएर जङ्गल गएका थियौं । बाघ भेटियो । उसले एउटा बाख्रालाई समाति हाल्यो । दाई हुनुहुन्थ्यो । उहाँले यताबाट बाघ समात्ने, उताबाट बाघले बाख्रा तान्ने काम केही बेरसम्म भइरह्यो । पछि मैले ढुङ्गाले बाघलाई हानें । त्यपछि रिसाएको बाघ मतिर आयो । एक छिन सातो नै गयो । मलाई भने केही गरेन ।
नौनीको रोटी बनाउँदा…
बाल्यकालमा म अलि बदमास पनि थिएँ । एक पटक घरमा भाइ र म थियौं । अरु कोही पनि हुनुहुँदैनथ्यो । मलाई भोक लाग्यो । पिठोको रोटी हालेको देखेको थिएँ । मोही पारेर आमाले नौनी डल्लो बनाएर राख्नु भएको थियो । भाइलाई मैले यसैको रोटी हालेर खाउँ भनें । रोटी बनाएर तावामा राख्दा त सबै पग्लियो र चुल्होभरी पोखियो । आगो लाग्यो । पछि भाउँजु र आमाले पिट्नुभयोे ।
साथीको खरी चोरेर लुक्दा
एक पटक कैलाली छँदा नै हो । भर्खरै विद्यालय जान थालेको थिएँ । कक्षा १ मा पढ्दै गर्दा । त्यसबेलामा हामीले अहिलेको जसरी कापीमा पेनले लेख्दैन्थ्यौं । काठको पाटी बनाएर खरी, बोडीको पातको मसी बनाएर लेख्थ्यौं । एक दिन मैले साथीको खरी विद्यालयबाट चोरेर भागें । मैले खरी चोेरेको सबैलाई थाहा भएछ । सरले आमालाई समेत आएर भनिदिनुभएछ । आमाले अरुको खरी चोर्ने भनेर बेसरी पिट्नुभयो । त्यसपछि मैले आमालाई थकाएन परालको टौवामा गएर लुकें । दिउँसोदेखि लुकेको रातीसम्म पनि कसैले भेटाउन सकेन् । धुनष लगाएर समेत खाजे । जङ्गलतिर पनि गएर खोजे । गाउँभरी सबै खाजे तर कसैले पनि भेटाएनन् । घरमा गाउँमा सबै आतिनुभयो । अब मलाई कसैले पनि भेटाउन सक्दैन भन्ने लाग्यो र पछि अन्तिममा राती सबै सुतेको मौका पारेर घरको माथिल्लो तलामा गएर सुतें । पछि सुतिरहेको अवस्थामा भेटाउनुभयो ।
बंगुरको मासु खाँदा कुटिएँ
एक पटक बंगुरको मासु खाएर बुबाबाट पिटाइ खाएको छु । बाहुनको छोराले सुंगुर बँगुर खानुहुँदैन भनेर भन्थे । जंगलमा कसैले एउटा बंगुर मारेका थिए । मेरो साथीहरूकोमा पनि मासु लगे । साथीले म कसैलाई भन्दिन खाँ भन्यो । मैले खाइदिए । पछि बुबाले कसरी थाहा पाउनुभएछ खै बेसरी पिट्नुभयो । फेरि मलाई सानैदेखि छुवाछुतप्रति विश्वास लाग्दैनथ्यो । मैले छुवाछुत कहिल्यै पनि गरिन । घर परिवारले बाहिर जहाँ पायो त्यही खाने भनेर गाली गर्ने गर्थे । तर ममा भने कसैलाई भेदभाव गर्नुहुँदैन भन्ने विचार आउँथ्यो सानैदेखि ।
डुङ्गाशुल्क घटाएर राजनीतिमा
म सामाजिक कामहरूमा सानैदेखि नै लाग्थे । गाउँघरमा बाटो बनाउँदा, नाला खन्दा सहभागी हुन्थ्यौं । आठ कक्षापछि हामीले लामो समयसम्म पढ्न नै पाएनौं । एसएलसी त मैले धेरैपछि दिएको हो । गाउँमा कक्षा १० सम्म पढाइ हुँदैनथ्यो । वि.सं. २०४२ सालमा मात्र मैले एसएलसी दिएको हुँ । विद्यार्थी हुँदादेखि नै म सामाजिक कार्यसँगै राजनीतिमा लागें । वि.सं. २०३७ सालबाट म राजनीतिमा प्रवेश गरेको हुँ । विद्यार्थी संगठनबाट मैले राजनीति यात्रा सुरु गरें । त्यसबेलामा हामीले भेरीमा डुङ्गाको शुल्क बढाएको भन्दै विरोध गरेर दर घटाउन सफल भएका थियौं । मैले करिब ६ वर्षम्म शिक्षण पेसा पनि गरें । पछि राजनीतिलाई नै मूल बाटो बनाएँ ।
साझा बिसौनी ।