अँध्यारोभित्रबाट उज्यालोको खोजी

मोहम्मद आयतुल्ला रहमान

चलचित्र यस्तो माध्यम हो जसले मनोरञ्जन मात्र नदिएर व्यक्तिको जीवनशैलीमा सुधार ल्याइ दिन्छ । यसले दर्शकमा एक किसिमको सकारात्म सोच र आफ्नो देशप्रतिको जिम्मेवारी बोध गराउँन सक्दछ । चलचित्रलाई व्यवसायिक रूपमा मात्र नहेरेर समाज र दर्शकको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनाउनुपर्छ भन्ने मान्यता बोकेका निर्देशक हुन् यादवकुमार भट्टराई ।


को हुन् भट्टराई ?
वि.सं. २०३० साल चैत्रमा झापा जिल्लामा जन्मेका यादवकुमार भट्टराई हाल काठमाडांैमा बसोबास गर्दै आएका छन् । पत्रकारिता क्षेत्रबाट चलचित्र उद्योगमा प्रवेश गरेका उनले वि.सं. २०५६ सालदेखि परदेशी, फैसला, शिलशिला लगायतका एक दर्जन भन्दा बढी चलचित्रहरूमा सानो तिनो कलाकारको रूपमा समेत अभिनय गरे । साथै उनले लोक संस्कृति, लोक गित,लोक कलाको ‘भाका’ कार्यक्रम समेत नेपाल टेलिभिजनमा चलाए । साढे एक वर्षसम्म लोकगीत, लोक संस्कृति र विभिन्न जातजातिहरूको म्युजिक भिडियो समेत बनाउनुका साथै सात सय भन्दा बढी म्युजिक भिडियोको निर्देशनसमेत गरेका छन् भट्टराईले । उनले पहिलो चलचित्र ‘झोला’ लाई निर्देशन गरे जुन सतिप्रथा विरुद्धमा थियो । पछिल्लो समयमा प्रायः मधेशी समाजमा दाइजोको कारणले अमानवीय ढङ्गले हिंसात्मक रूप बढ्दै गएपछि, भट्टराई स्वयमले ग्राउण्ड जिरोबाट पूर्ण तरिकाले गहिरो रूपमा जनकपुरको स्थलगत अध्ययन पश्चात् दाइजोप्रथा विरुद्धको चलचित्र ‘भोर’को निर्देशन गरेका छन् । अधिकांश छायांकन जनकपुरमा भएको उनी बताउँछन् ।
के हो भोर ?
यसो सुन्दा ‘भोर’ भनेको के होला ? मनमा प्रश्न उब्जिन सक्छ तर ‘भोर’ शब्द मैथली शबद हो जसको अर्थ बिहान, उज्यालो, बिहानीको पहिलो किरण भन्ने बुझिन्छ । अँध्यारो भित्रको उज्यालोको कथा चलचित्र भोरमा उतारिएको छ ।
पुर्खौली समाजमा दाइजो सहज थियो, पवित्र मनले आफू खुशी आफ्नो छोरीको सुखको लागि दिइने सामानहरूलाई बुझिन्थ्यो । तर अहिले यो समाजको मनोविज्ञान यस्तो भएको छ कि, दाइजोः एउटा नारीलाई मोलतोल गरी किनबेच गर्ने कु–संस्कारको रूपमा बुझिन्छ । यो कू–प्रचलन अझै पनि कायम नै रहेको छ, झन् दिन–दिनै बढ्दो क्रममा देखिन्छ । यसका विरुद्ध धावा बोल्ने चलचित्र हो, भोर ।
निर्देशक भट्टराई महिलाहिंसा अथवा देशमा भईरहेको अन्यायविरुद्धको नारा लगाएर मात्र नभएर प्रत्येक नागरिकले व्यवहारमा उतार्नुपर्नेमा जोड दिन्छन् । नेपाल हिमाल, पहाड र तराईलाई मानवताले जाडेको निर्देशक भट्टराई बताउँछन् । मानवताको सम्बन्ध पूरै आइसके पछि, सबैले सबैको विश्वास राख्दछ । हिन्दु, मुस्लिम र क्रिष्सियनले आ–आफ्नै किसिमको व्यवहार गरेपछि त्यो के धर्म हो ? आफैमा प्रश्न गर्छन् उनी । धर्म भनेको मानव धर्म भएको उनले बताए । कोही मुस्लिम, कोही हिन्दु भनेको आफ्नो सम्प्रदाय र संस्कार हो, एक प्रकारको अधिकार हो । संस्कृति, परम्परा व्यक्तिको आधार हो । धर्ममा सबैका लागि बराबर व्यवहार हुनैपर्छ, यदि हुदैन भने त्यो भेद भएको दाबी गर्छन् । भेद भएपछि मान्छेले मान्छेलाई हेप्छ, भेदले नै नेपालमा सामाजिक अस्थिरता, द्वण्द्व निमत्याइ रहेको उनको तर्क छ । उनी भन्छन्, अहिलेको सन्दर्भमा भेद, विभेदको लडाइँ छ ।
सकारात्मक सोच
जुन घरमा महिला खुशी हुँदैनन्, त्यो घर नर्क समान हुन्छ । भावुक भएर आफैमा प्रश्न गरें, भात पकाउने को ? माया गर्ने को ? कपडा धुने को ? घर समाहल्ने को ? घर सरसफाइ गर्ने को ? सबै नारी हो । यदि त्यही नारी दुःखी भइन्, दासी भइन् भने ? अनि हामीले खोजेको के ? के परिवर्तन ? के का लागि परिवर्तन ? विकास ? कस्तो विकास ? चेतना विनाको विकासको के अर्थ छ ? आवश्यकता अनुसारको विकास आफै हुन्छ । विकास गर्नका लागि चेतना जाग्न जरुरी छ । अब चेतना विकासको आवश्यक छ । भगवानले सबै मानवलाई सक्षम बनाएर पठाएको छ । कसैलाई भेद गरेको छैन । भगवानले त भेद गरेको छैन भने अरु चाहीं को ? राज्यको नाममा भेद, प्रशासनको नाममा भेद, हरेक क्षेत्रमा भेद गरिरहेको हुन्छ । विभेदकै कारण लडाइ भएको छ, भट्टराईको अध्ययनले यही भन्छ ।
यादवको अध्ययनले देखाए अनुसार घरमा नै आफ्नो श्रीमतीसँगको मनमुटाव, झै–झगडा भएको कारणले गर्दा नै सम्पूर्ण समस्याहरू निम्तिरहेको, भइरहेको छ । अहिलेको सन्दर्भमा महिलालाई विभिन्न किसिमको शंका, उपशंका गर्ने हुँदा महिला माथिको हिंसा र कु–कृत्य व्यवहार बढिरहेको छ । महिलाहरू बिग्रिए भन्छन्, तर मुख्य कारण महिलालाई बिगार्ने पुरुष नै भएको उनी दाबी गर्छन् । चलचित्रमा लगानी गरिसकेपछि व्यवसाय गर्ने उद्देश्य नै हो, तर सामाजिक रूपमा समाजलाई एउटा सकारात्मक सन्देश दिने तरिकाले व्यवसाय गर्नसक्यो भने त्यस्को प्रभाव आम दर्शक माझ राम्रो पर्ने निर्देशक भट्टराईको बुझाइ छ ।
झोलादेखि भोरसम्म
निर्देशक भट्टराईले पहिलो चलचित्र सत्तिप्रथा विरुद्धमा झोला बनाए जुन इतिहास थियो तर अहिलेको चलचित्र दाइजो प्रथाविरुद्धमा भोर जुन अहिलेको जल्दो बल्दो समस्याको रूपमा रहेको छ । चलचित्रमा वर्तमान समाजमा भइरहेको अन्यायको चरम रूपलाई प्रस्तुत गरिएको छ । दाइजो एक बहाना हो, मान्छेले मान्छेलाई गर्ने व्यवहार, अझै पुरुषले एक महिला माथि गर्ने व्यवहार माथिको खोज चलचित्र भोरमा उतारिएको उनी बताउँछन् । दाइजो एउटा विम्ब मात्र हो, यस ठाँउमा बोक्सी हुनसक्ला, एकल महिला हुनसक्ला जे–जे हुनसक्छ, कसरी पुरुषले महिलालाई हेप्नसक्छ, सम्पूर्ण पाटोहरूलाई यस चलचित्रले बोल्ने दाबी निर्देशक भट्टराई गर्छन् ।
दाइजोको कारणले गर्दा मधेशी समाजमा छोरी जन्माउन नै चाहँदैनन्, भ्रुण जाँच गर्दा छोरी भएको जानकारी पश्चात भ्रुण हत्या बढी भएको भट्टराईको अनुसन्धानले देखाउँछ । छोरीलाई उच्च शिक्षा हासिल गराउँदा त्यही स्तरको सँग विवाह गर्नुपर्ने र दाइजोको माग धेरै भएकोले बढी दिनुपर्ने हुँदा छोरीलाई उच्च शिक्षा हासिलबाट वञ्चित भएको र छोरी जन्माउन नचाहनुको मूल कारण दाइजो भएको भट्टराई बताउँछन् । उनी भन्छन्, मधेशी समुदायका छोरीहरूले उच्च शिक्षा हासिल गर्न नपाउँदै सानो, कम उमेरमा विवाह हुने गरेको छ, जुन बालविवाह हो । ती कम उमेरका छोरीहरूले दाइजोका कारण विभिन्न किसिमका घटनाहरू थाहा पाएपछि, कलिलो मानसिकतामा नकारात्मक प्रभाप पर्न गइ बाहिरी समाजमा शिर सधैं झुकाइ रहन बाध्य हुन्छन् ।
दाइजोको कारण छोरी मात्र नभएर घरका सबै सदस्यहरू हिंसाबाट ग्रसित हुन्छन् । छोरी, बुहारीलाई आधार बनाएर दाइजो कम भयो, अन्य बाहानाहरूको दोषारोपन गरी माइती, ससुराली पक्षलाई एसिड छर्कने, जलाउने, कुटपिट गर्ने, मानसिक तनाव दिने जस्ता अमानवीय क्रियाकलापहरूका पात्र बनिसकेका बाँकेका शिवा हासमी, बाँके हिरिमिनियामा आफ्नै पतिले दाइजोको निहुँमा जिउँदै जलाएर मार्ने प्रयास गरेता पनि बाँचन सफल रिहाना ढपाली लगायतका घटनाहरू ज्वलन्त उदाहरण हुन् । त्यसकारण भट्टराई भन्छन्, दाइजो महिला हिंसा मात्र नभएर मानवहिंसा हो । प्रत्यक्ष रूपमा महिला पीडामा परेको देखिए पनि अप्रत्यक्ष रूपमा सिँगो समाजलाई प्रभाव परिरहेको देखिन्छ ।
साहित्यकार कृष्ण धराबासीको कथा रहेको चलचित्रको पटकथा तथा संवाद निर्देशन समेत भट्टराईले नै गरेका छन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण गरिएको चलचित्र भोरमा डोली सरकार, रामनारायण ठाकुर, मदन ठाकुर, बीएन पटेल, अनितारानी मण्डल, प्रमेश झा, राजेश सक्सेना, पूजा कर्ण, संगीता देव, जनक नन्दनी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्र नयाँ वर्ष २०७५ वैशाख २१ गतेदेखि देशभरी नै प्रदर्शनमा आउने निर्देशक भट्टराई बताउँछन् । यस चलचित्रले समाजमा बढिरहेको हिंसात्मक रूप दाइजोको प्रचलन र विकृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सक्ने निर्माण पक्षको दाबी छ । दाइजो प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘भोर’ मा ५० प्रतिशत मैथली र ५० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको निर्देशक भट्टराई बताउँछन् ।