सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुँदै

सुर्खेत, ८ चैत ।
संघीय राजधानी काठमाडौंसँग सिधा हवाई सेवाबाट वञ्चित कर्णाली प्रदेश अब हवाई उडानबाट पनि जोडिने भएको छ । हालसम्म यो प्रदेशका कुनै पनि जिल्लाबाट काठमाडौंका लागि सिधा हवाई सेवा उपलब्ध छैन । तर प्रदेश सरकारको पहलमा अबको केही साताभित्र प्रदेश राजधानी सुर्खेत संघीय राजधानी काठमाडौंसँग हवाई उडानमार्फत् जोडिने भएको हो ।

प्रदेशमा रहेका विमानस्थलहरू साँघुरा भएका कारण कर्णालीबाट काठमाडौं सिधा हवाई उडान हुन नसकेको हो । सिधा हवाई सेवा नहुँदा यहाँका सर्वसाधारणहरू जहाज चढ्नका लागि प्रदेश ५ को नेपालगन्ज जानुपर्ने बाध्यता छ । तर अबको दुई साताभित्र सुर्खेतदेखि काठमाडौं सिधा हवाई उडान हुने भएको छ । नेपाल वायु सेवा निगम र निजी विमान कम्पनी बुद्ध एयरले सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न लागेका हन् । योसँगै अब कर्णाली प्रदेश काठमाडौंसँग सिधा हवाई सेवामार्फत् जोडिने भएको हो ।
प्रदेश सरकारको पहलमा विमान कम्पनीहरू सुर्खेतदेखि काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न तयार भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग हवाई सेवा सञ्चालनका लागि आग्रह गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा नेपाल वायुसेवा निगम र बुद्ध एयर सुर्खेत–काठमाडौं उडान गर्न तयार भएका हुन् । विमान कम्पनीले सहमति जनाएपछि यही चैत २१ गतेबाट नै सुर्खेत–काठमाडौं उडान सुरु हुनेछ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले अब हवाई उडानमार्फत् कर्णाली प्रदेश संघीय राजधानीसँग जोडिने बताए । उनले यसका लागि बुद्ध एयर र नेपाल वायु सेवा निगमले उडान गर्ने जानकारी दिए ।
करिब एक घण्टा उडान गर्नुपर्ने यो यात्रामा यसअघि पनि बुद्ध एयरले उडान गर्दै आएको थियो । तर साना जहाज मात्र सञ्चालन गर्नुपर्ने र घाटामा उडान गर्नु परेको भन्दै सेवा बन्द गरिएको थियो । अर्कोतर्फ सुर्खेतबाट सिधा उडानमा भाडा महँगो हुँदा यात्रुहरू नेपालगन्ज भएर यात्रा गर्दै आएका छन् । जहाज चढ्नकै लागि नेपालगन्ज पुग्नुपर्ने र सिङ्गो प्रदेश नै काठमाडौंसँग सिधा हवाई सेवामा नजोडिएको भन्दै प्रदेश सरकारले यसका लागि पहल थालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरूबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधवार काठमाडौंमा छलफल भएको थियो । सोही क्रममा निजी वायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत–काठमाडौं उडान सुरु गर्ने घोषणा गरेका हुन् ।
छलफलमा बुद्ध एयर र नेपाल एयरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेको कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । मन्त्री बुढाका अनुसार बुद्ध एयरका निर्देशक रूपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले चैत २१ गतेबाट उडान सुरु गर्ने वचन दिएको मन्त्री बुढाले जनाए । मन्त्री बुढाले भने, ‘अब हाम्रो प्रदेश संघीय राजधानीसँग हवाई मार्गबाट पनि जोडिन्छ, सुर्खेतबाट काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुँदैछ । हाल १८ सीटका जहाज चल्नेछन्, ठूला जहाज अवतरण गराउन विमानस्थल विस्तार गर्नुपर्ने हुन्छ ।’ यसअघि भाडा महँगो हुँदा यात्रु नपाएका विमान कम्पनीले अब भाडा समायोजन गरेर सञ्चालन गर्ने जनाएका छन् । मन्त्री बुढाले भाडा समायोजनका लागि समिति गठन हुने र समितिको सिफारिसमा नै वैज्ञानिक भाडा कायम गरिने बताए ।
अब सुर्खेत–काठमाडौं दैनिक एउटा उडान हुनेछ । हवाई सेवा सुरु भए यो प्रदेशका नागरिकलाई हवाई उडानबाट काठमाडौं पुग्नका लागि नेपालगन्ज पुग्नैपर्ने बाध्यता टर्नेछ । यस्तै कर्णाली प्रदेश पनि सिधा हवाइ सेवामार्फत् संघीय राजधानीसँग जोडिनेछ । हवाई सेवा सञ्चालन भए कर्णालीमा पर्यटक भिœयाउन सहज हुने र आर्थिक समृद्धिमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै सुर्खेत विमानस्थल विस्तारका लागि पनि आफूहरूले चाँडै काम थाल्ने मन्त्री बुढाको भनाइ छ । अबको केही दिनभित्रै नागरिक उड्डयन प्राधिकरणको टोलीले सुर्खेतमा स्थलगत अवलोकन गर्ने र विमानस्थल विस्तार तथा नयाँ विमानस्थल निर्माणको सम्भावनाबारे पनि अध्ययन पनि गर्नेछ ।

प्रकाशित मितिः   ९ चैत्र २०७४, शुक्रबार १६:५५