पुष्पगुच्छाद्वारा परीक्षार्थीलाई स्वागत

सुर्खेत, ८ चैत ।
बिहीवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई अविरले स्वागत गरिएको छ । विद्यार्थीको आत्मबल बढाउन पुष्पगुच्छा र मुस्कानसहित अविर लगाएर परीक्षा केन्द्रमा स्वागत गरिएको हो ।


सूर्यप्रकाश माध्यमिक विद्यालयका केन्द्राध्यक्ष अमृता बुढाथोकीले परिक्षार्थीको मनोबल उच्च राख्न टीका, अविर, पुष्पगुच्छा र मुस्कानसहित स्वागत गरिएको बताइन् । भयरहित वातावरणको महसुस हुनेगरी विद्यार्थीहरूलाई स्वागत गरिएको हो । परीक्षार्थीहरूलाई सफलताको कामना दिँदै परीक्षालाई मर्यादित बनाउन उनले आग्रह गरिन् ।
बिहीवार भएको अंग्रेजी विषयको परीक्षा जिल्लाभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार नियमिततर्फ तीन हजार चार सय ३२ जना छात्र, तीन हजार ६ सय २७ जना छात्रा गरी जम्मा सात हजार ५९ जनाले परीक्षा दिएका छन् । नियमिततर्फ ७८ छात्र, ५८ जना छात्रा गरी एक सय ३६ जनाको अनुपस्थित रहेका थिए । आंशिकतर्फ दुई सय ७० जना छात्र, तीन सय ४४ जना छात्रा गरी जम्मा ६ सय १४ जनाले परीक्षा दिएका छन् ।
यस्तै, आंशिकतर्फ ७८ जना छात्र, एक सय २७ जना छात्रा गरी जम्मा दुई सय पाँच जना अनुपस्थित भएका छन् । नियमिततर्फ सात हजार ५९ जना र आंशिक ६ सय १४ जना गरी सात हजार ६ सय ७३ जनाले परीक्षा दिएका छन् । यस्तै, नियमिततर्फ एक सय ३६ जना र आंशिकतर्फ दुई सय पाँच जना गरी तीन सय ४१ जना विद्यार्थीले परीक्षा दिएका छैनन् । यस वर्षको परीक्षामा जिल्लामा दुई सय ८० जना विद्यार्थीले परीक्षा दिनबाट वञ्चित भएका थिए । यस्तै, जिल्लामा दुई जना
विद्यार्थीले कारागारबाट परीक्षा दिएका छन् । विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका उनीहरूले जेलबाटै परीक्षा दिएका हुन् ।
एक जना दृष्टिविहीनले एसईई परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३० वटै परीक्षा केन्द्रहरूमा परीक्षा शान्तपूर्ण रूपमा सम्पन्न भएको छ । आज (शुक्रवार) अनिवार्य नेपाली विषयको परीक्षा हुँदैछ ।

प्रकाशित मितिः   ९ चैत्र २०७४, शुक्रबार १६:५१