आगोले जलेका बालकको उद्दार

सुर्खेत, ७ चैत ।
आगोले जलेका एक बालकलाई उद्दार गरेर अस्पतालमा भर्ना गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिकास्थित घाटगाउँबाट घाइते बालकलाई प्रदेशसभाका सांसद पद्मा खड्काको पहलमा वीरेन्द्रनगर ल्याइएको हो । गत फागुन २९ गते घरमा आगलागी हुँदा जलेर घाइते भएका ६ वर्षीय निरज नेपालीलाई उपचारका लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।


आर्थिक अभावमा ती बालकको जलेको आठ दिनसम्म पनि उपचार हुन सकेको थिएन । सांसद खड्काको पहलमा उपचारका लागि बालककलाई बुधवार मात्र वीरेन्द्रनगर ल्याइएको हो । फागुन २९ गते दिउँसो बालबालिकाले आगो खेलाउँदा घरमा आगलागी भएको थियो । सोही क्रममा जलेर स्थानीय बल नेपालीकी चार वर्षीया छोरी अनुषा नेपालीको मृत्यु भएको थियो । तर निरजले भने हाम फालेर ज्यान जोगाएका थिए । आगलागीबाट घर पुरै जलेर खरानी भएको घाइते बालकका मामा जगत नेपालीले बताए ।
बालकका दुबै हात जलेका छन् । यस्तै अनुहार, टाउको र खुट्टामा पनि जलेको क्षेत्रीय अस्पतालले जनाएको छ । बालककी आमा अमृताले आर्थिक अभावककै कारण छोराको उपचार गर्न नसकेको बताइन् । बालकको उपचारका लागि पहल गरेकी सांसद खड्काले आफूहरूले बालकको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने बताइन् । यस्तै पत्रकार दीपक बुढा र व्यवसायी निरक वलीले पनि बालकको उपचारमा सहयोग गरेका छन् ।

प्रकाशित मितिः   ८ चैत्र २०७४, बिहीबार १५:३१