‘परीक्षामा आफ्नै दिमागको भरमा लेख्नुहोस्’

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीवार) बाट सुरु हुँदैछ । विद्यालय तहको महŒवपूर्ण परीक्षा मानिने भएकाले पनि यसलाई चासोका साथ हेरिन्छ । सुर्खेतमा पनि यो परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षाको तयारी, सञ्चालन र व्यवस्थापनबारे सहकर्मी डिलप्रसाद शर्माले सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारांशः

एसईई परीक्षाको तयारी पूरा भयो त ?
बिहीवार बिहान आठ बजेदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा सञ्चालनका लागि हामीले कर्मचारी परिचालन, परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याउने काम सम्पन्न गरेका छौं । विद्यार्थीहरूलाई प्रवेशपत्र वितरण गरिसकिएको छ । सुरक्षा व्यवस्थासमेत मिलाइएको छ । परीक्षालाई व्यवस्थित बनाउन सम्बन्धित केन्द्रमा अन्तरक्रिया र छलफल भएका छन् । परीक्षा सञ्चालनका लागि गर्न बाँकी काम केही पनि छैन ।
परीक्षालाई व्यवस्थित बनाउन के गर्नु भएको छ ?
जिल्लामा ३० वटा परीक्षा केन्द्र तोकिएका छन् । ती केन्द्रमा सञ्चालन हुने परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन हामीले सुरक्षाकर्मी परिचालन गरेका छौं । यस्तै ४२ जना केन्द्राध्यक्ष, तीन सय २९ जना निरीक्षक र दुई सय ५६ सहयोगी कर्मचारी परिचालन गरेका छौं । अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिहरूसँग आवश्यक छलफल गरेर परीक्षालाई व्यवस्थित बनाउने प्रयास गरिरहेका छौं ।
विगतमा छात्रामैत्री परीक्षा केन्द्रहरू थिए, यसपाली के छ ?
यसपाली पनि छात्रामैत्री परीक्षा केन्द्र बनाइएको छ । हरेक परीक्षा केन्द्रमा सेनेटरीप्याड, छात्राका लागि छुट्टै शौचालय र आराम गर्ने कक्ष तोकिएको छ । छात्रा महिनावारी हुँदा पेट दुख्ने समस्या हुन्छ, त्यसलाई मध्यनजर गरी आराम कक्षसमेत व्यवस्था गरेका छौं । हामीले शिक्षकहरू वा निरीक्षकहरू बसालेर सेनेटरीप्याड राख्दा छात्राहरू सेनेटरीप्याड लिन गाह्रो मान्छन् भनेर यसपाली सेनेटरीप्याड पाउने अलग्गै ठाउँ तोकेका छौं । छात्राहरूको सहजताका लागि हामीले यो ठाउँमा प्याड राखिएको छ भनेरै जानकारी दिन लगाएका छौं । छात्रा परीक्षार्थीहरूलाई म छोरी भए भनेर असहज हुनेगरी कुनै पनि वातावरण हुनेछैन ।
परीक्षामा चीट चोर्ने र चोराउनेलाई कस्तो कारबाही गर्नुहुन्छ नि ?
परीक्षालाई मर्यादित बनाउनु हामी सबैको दायित्व हो । तसर्थ चीट चोर्ने वातावरण सकेसम्म सिर्जना हुनु हुँदैन । परीक्षार्थीले चीट चोरेको पाइएमा हामी पहिला त निरीक्षकलाई लापरबाही गरेवापत कारबाही गर्छौं । चीट चोर्ने र चोराउने दुवैलाई कानुन बमोजिम कारबाही गर्छौं । परीक्षामा चीट चोर्ने पनि उम्किन पाउँदैनन्, चोराउनेलाई पनि कानुन अनुसार कारबाही गर्नेछौं । कसैलाई पनि चीट चोर्ने र चोराउन छुट छैन ।
केन्द्राध्यक्ष र निरीक्षकले अमर्यादित काम गरेमा के कारबाही हुन्छ त ?
यसबारेमा शिक्षा ऐनमा नै प्रष्टै उल्लेख छ । अमर्यादित काम गरेमा उनीहरूलाई सिधै निष्कासन गर्नेछौं । निष्कासन गरेर पनि नपुग्ने अवस्था भएमा ६ महिनासम्म कैदको व्यवस्था पनि छ । र बढीमा एक लाख रूपैयाँसम्मको जरिवाना पनि गर्ने व्यवस्था छ । वा दुवै सजाय पनि हुनसक्छ । हामी शिक्षा ऐनको मातहतमा रहेर कारबाही गर्नेछौं ।
परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था कस्तो छ ?
सुरक्षा व्यवस्था हामीले मजबुत बनाएका छौं । धेरै परीक्षा केन्द्रहरूमा सशस्त्र प्रहरी र जनपद प्रहरीको टीम सँगसँगै परिचालन गरिएको छ । कतिपय ठाउँमा सशस्त्रको स्थायी बसोबास नभएकाले जनपद मात्रै जाने व्यवस्था मिलाएका छौं । सुरक्षाकर्मीको रोहवरमा हाम्रा निरीक्षकहरूले खानतलासी गर्ने व्यवस्था गरिएको छ । विगतका वर्षहरूको अनुभवका आधारमा पनि सुर्खेतमा परीक्षा मर्यादित हुनेछ । चिटिङ्ग गर्ने मनसायले बोकेको कागज गेटमै खानतलासी हुन्छ । परीक्षालाई भयरहित, व्यवस्थित, मर्यादित र सुरक्षाका हिसाबले उत्कृष्ट बनेको पहिचान कायम राख्नेछौं ।
विद्यार्थीले भयरहित वातावरण लेख्ने व्यवस्था छ त ?
एकदम छ । सुरक्षाकर्मीहरू परीक्षा हलभित्र पस्दैनन् । प्रहरीभित्र आए, हामीलाई अप्ठ्यारो भयो भन्ने नसोचे हुन्छ । हाम्रा निरीक्षकहरू पनि गएर परीक्षार्थीका छेउमा बस्ने, परीक्षार्थीलाई बेलाबेलामा हतोत्साहित गर्ने वातावरण हुँदैन । हामी अनुगमनकर्ता पनि एकपटक हलमा प्रवेश गर्ने र विद्यार्थीलाई थर्काउने, खानतलासी गर्ने तथा उठाउने क्रियाकलाप गर्दैनौं । खानतलासी गेट बाहिर नै हुन्छ । भित्र कसैले पनि खानतलासी गर्नेछैन । यदि चिटिङ्ग गरेको पाइएमा जुन कक्षामा चीट चोरेको पाइन्छ, त्यो कक्षामा निरीक्षक बाहिरिन्छ । किनभने निरीक्षकले नदेख्ने बाहिरबाट गएको अनुगमनकर्ताले देख्ने हुँदैन ।
जिल्लाको परीक्षालाई नमुना बनाउन कसको भूमिका के हुनसक्छ ?
जिल्लामा यो परीक्षालाई नमुना बनाउन अभिभावकदेखि सुरक्षाकर्मी, जिल्ला शिक्षा कार्यालय, पत्रकार, नागरिक समाज लगायत सबैको भूमिका उत्तिकै महŒवपूर्ण छ । परीक्षार्थी घरबाट आउँदा राम्रो वचन, हौसलाका साथ पठाउने वातावरण अभिभावकले गराउनुपर्छ । परीक्षार्थीले लिनुपर्ने प्रवेशपत्र लगायत आवश्यक सामग्री छुट्यो कि भनेर चाँजोपाँजो मिलाउने काम अभिभावकले गर्नुपर्छ । परीक्षा केन्द्रमा खटिएका कर्मचारी, अनुगमनकर्ताले परीक्षार्थीलाई हतोत्साहित गर्ने काम गर्नु हुँदैन । परीक्षार्थीले पनि आफ्नो भरपुर तयारी गरेको हुनुपर्छ । परीक्षार्थीले कुनै कागज शरीरमा लिएमा त्रसित हुने वातावरण सिर्जना भएको हुन्छ । त्यसैले मैले एउटा पनि कागज लिएर परीक्षा केन्द्रमा प्रवेश गर्दिन भन्ने तयारी परीक्षार्थीमा हुनुपर्छ ।
परीक्षामा सहभागी हुने विद्यार्थीलाई यहाँको सुझाव के–के छन् ?
परीक्षार्थीहरूलाई मेरो शुभकामना छ । १० वर्ष दुःख गरेर पढ्नुभएका विद्यार्थी भाइबहिनीको दिमाग रित्तोछैन । अरुको भर नपर्नुहोस् । परीक्षामा अहिले सोधिने प्रश्नहरू पनि मौलिक प्रकारका छन् । विद्यार्थीले आफ्नो भोगाइहरूलाई प्रस्तुत गर्ने किसिमका प्रश्नहरू छन् । तपाईंले आफ्नो दिमागमा भर पर्नुहोस् । सामान्य तयारी नै छैन भने पनि ए प्लस नतिजा पो नआउँला । सामान्यतया कक्षा ११ र १२ मा पढ्न पाउने हैसियतको सर्टिफिकेट आउँछ । त्यो प्रकारले ढुक्क भएर लेख्नुहोस् ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामीले स्थानीय सरकारसँग समन्वय गरेका छांै । उहाँहरूलाई अनुगमन र सुझाव दिन आग्रह गरेका छौं । नगर÷गाउँपालिकामा प्रमुख र उपप्रमुखहरूले अनुगमन गर्नुहुनेछ । परीक्षार्थीलाई बाधा नपुग्ने गरी जनप्रतिनिधिको पहल अतुलनीय छ । परीक्षालाई मर्यादित बनाउनु सबैको दायित्व हो । परीक्षामा लेख्न नसक्ने दृष्टिविहीन विद्यार्थीहरूका लागि सहलेखकका रूपमा राख्न पाउने व्यवस्था मिलाइएको छ । मर्यादित, शान्त र भयरहित वातावरण सिर्जना हुनेगरी परीक्षार्थी परीक्षा केन्द्रमा उपस्थित भइदिन आग्रहसहित उज्वल भविष्यको शुभकामना दिन चाहन्छु ।