अख्तियारद्वारा कागजात नियन्त्रण

हस्त चौलागाइ
कालिकोट, ६ चैत ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कालिकोटका दुई गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मंगलवार कालिकोटका नहरिनाथ र महावै गाउँपालिकाका कागजात नियन्त्रणमा लिएको हो ।
गाउँपालिकामा विकास वजेटमा अनियमितता भएको भन्दै अख्तियारमा परेका उजुरीको अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको आयोगको कार्यालय सुर्खेतले जनाएको छ । गाउँपालिकामा कार्यविधि विपरित र मनोमानी ढंगबाट कामकाज भइरहेको भनि आयोगमा परेको उजुरी माथि अनुसन्धान थालिएको उप–सचिव जंगबहादुर डाँगीले बताए ।
महावै गाउँपालिकामा विकास निर्माणका लागि छुट्याइएको वजेटबाट भ्रमण गरिएको र नरहरिनाथ गाउँपालिकामा पनि कार्यालय व्यवस्थापमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरी माथि अख्तियारले छानविन थालेको हो । अनुसन्धानको पहिलो चरणमा काजगपत्र माग गरिएको उनले बताए । गाउँपालिकामा अनियमितता भएको प्रमाण पाइएमा कानुन बमोजिम कारवाहीको प्रक्रियामा अगाडी बढाइने उनले जानकारी दिए । स्थानीय तहमा हुने अनियमितता रोक्न अख्तियारले उजुरी माथि छानविन थालेको हो ।

प्रकाशित मितिः   ७ चैत्र २०७४, बुधबार १६:००