‘बजेटमा कञ्जुस्याइ गरियो’

दैलेख, ६ चैत ।
स्थानीय तहमा समावेशी प्रतिनिधित्व भए पनि बजेट विनियोजनमा कञ्जुस्याइ हुने गरेको बताइएको छ । जिल्लामा ९० वटै वडामा निर्वाचित महिला सदस्यहरूले स्थानीय तहमा लक्षित समुदायका लागि बजेट छुट्याउन कञ्जुस्याइँ हुने गरेको गुनासो गरेका हुन् । शिल्पी समाज दैलेखद्वारा आयोजित स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिका लागि दुई दिने अभिमुखीकरण कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरूले बजेट निर्माणमा पनि दलित समुदायबाट निर्वाचित महिला सदस्यहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । स्थानीय तहमा दलित समुदायका लागि लक्षित बजेट छुट्याउन कञ्जुस्याइँ गरेको उनिहरूले गुनासो छ । दलितका निम्ति बजेट छुट्याउन स्थानीय सरकारले विभेद गरेको डुङ्गेश्वर गाउँपालिका–२ का दलित महिला सदस्य कृष्णा नेपालीले बताइन् । साविकका गाविस र नगरपालिका भन्दा स्थानीय सरकारले बजेट तथा कार्यक्रम विनियोजनमा विभेद गरेको बताइन् । ‘स्थानीय सरकारमा बजेट बढेको छ’ उनले भनिन्,‘तर, लक्षित समुदायले राज्यको सुविधामा वञ्चित हुनुपरेको छ ।’ महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने चिन्तनको हाबी हुँदा काम गर्ने वातावरण नभएको उनले बताइन् ।
प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले जनप्रतिनिधिहरूले साझा व्यक्ति भएर काम गर्न आग्रह गरिन् । दलित समुदायका महिलाहरूलाई प्रतिनिधित्व अनिवार्य जस्तै क्षमता विकास गराउन राज्यको दायित्व रहेको उनले
बताइन् । जिल्ला समन्वय समितिका सदस्य गीता चन्दले ९० वडाकै निर्वाचित दलित महिला सदस्यलाई विकासमा सहभागिता र जिम्मेवारी दिइनुपर्ने धारणा राखिन् । आज सम्पन्न हुने दलित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा सुशासन पद्धति, वडा सदस्यको भूमिका र सामाजिक न्यायको अगुवाइ नेतृत्व क्षमता विकासबारे प्रशिक्षण दिइनेछ । शिल्पी समाजका संयोजक बखत नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा दलित अधिकारकर्मीहरू गोपाल नेपाली, मोहन सुनार, खगीराम सुनार, लक्ष्मी विक, सूर्य विश्वकर्मा, टेकबहादुर नेपाली, हर्कबहादुर नेपाली, पत्रकार हिक्मत नेपाली, नेपाल महिला संघका सचिव दुर्गा श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   ७ चैत्र २०७४, बुधबार १५:५७