करिब तीन सय विद्यार्थी परीक्षाबाट वञ्चित

सुर्खेत, ५ चैत ।
सुर्खेतका साढे दुई सय बढी विद्यार्थीहरूले यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन नपाउने भएका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार जिल्लाका दुई सय ८० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका हुन् ।


शैक्षिक सत्रको सुरुमा भर्ना भएका सात हजार चार सय ५४ जना मध्ये सात हजार एक सय ७४ जनाले मात्रै परीक्षा दिन पाउने भएका हुन् । केही विद्यार्थीको हाजिरी नपुगेको र केहीले राजस्व नबुझाएका कारण परीक्षामा सहभागी हुन नपाउने शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका र परीक्षामा सहभागी हुनका लागि तिर्नुपर्ने राजश्व शुल्क नबुझाएका विद्यार्थीहरू परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । यस्ता विद्यार्थीहरूको संख्या जिल्लामा दुई सय ८० जना रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।
शिक्षा कार्यालयका अनुसार सुर्खेतमा एसईई परीक्षाको तयारी पूरा भएको छ । बिहीवारदेखि सुरु हुने परीक्षाका लागि जिल्लाका सबै केन्द्रमा आवश्यक प्रश्नपत्र, स्वास्थ्य सामग्री पठाइएको छ । सोमवार केन्द्राध्यक्षसमेत तोकिएको छ । परीक्षालाई व्यवस्थित बनाउन ३७ बुँदे आचारसंहिता लागू गरिएको छ । आचारसंहितामा विद्यालयबाट सम्मिलित परीक्षार्थीले अनिवार्य रूपमा नियमित पोषाक लगाउनुपर्ने, प्रवेशपत्र अनिवार्य हुनुपर्ने, परीक्षामा होहल्ला, कुराकानी र छलफल गर्न नपाइने जनाइएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्त वातावरणमा सम्पन्न गरिने जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए ।
एउटा वेञ्चमा दुई जना र हलमा एउटै विद्यालयका परीक्षार्थी मात्र नरहने गरी परीक्षार्थीहरूको बसाइँ व्यवस्थापन गरिने छ । जिशिअ शाहले परीक्षामा स्वास्थ्य उपचार तथा महिलामैत्री बनाइएको बताए । सबै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सेनेटरी प्याड, आवश्यक औषधि व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाहरूसँग सहकार्य भइरहेको उनले जानकारी दिए ।
शिक्षा कार्यालयको तथ्यांक अनुसार जिल्लामा आठ सय १८ जना आंशिक परीक्षार्थी छन् । चैत आठ गतेदेखि सुरु हुने परीक्षाका लागि जिल्लाभरी ३० वटा परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये सबैभन्दा बढी परीक्षार्थी इगरब्रीज बोडिङ्ग स्कुल वीरेन्द्रनगरमा रहेका छन् । उक्त केन्द्रमा चार सय नौ जना विद्यार्थी रहेको जिशिका सुर्खेतले जनाएको छ ।
एसईई परीक्षाको सुरक्षा व्यवस्था मजबुद बनाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक परीक्षा केन्द्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनले परीक्षा केन्द्रमा कम्तिमा सात÷सात जना प्रहरी परिचालन गरिने बताए । उनका अनुसार सुरक्षा अवस्था नाजुक हुन नदिने मोबाइल टोलीसमेत परिचालन गरिने छ ।
परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, प्रहरी, प्रशासनलाई आवश्यक सहयोग गर्न जिशिकाले आग्रह गरेको छ । परीक्षाका मर्यादा उल्लंघन भएमा शिक्षा ऐन २०२८ को दफा १७(१क) बमोजिम ६ महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मितिः   ६ चैत्र २०७४, मंगलवार १५:५१