सुर्खेतमा कर्णाली प्रिमियर लिग हुने

सुर्खेत, ५ चैत ।
सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
आगामी वैशाख ४ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक बन्धुविकास सहकारीका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए । राष्ट्रिस्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेशस्तरीय टीमका साथै तीन वटा विभागीय टोलीले सहभागिता जनाउने संयोजक शाहीले जनाए । सबै टीमसँग अहिले समन्वय भइरहेको उनले जनाए । धनगडीमा आयोजना हुने डिपिएल लगत्तै कर्णाली प्रिमियर लिग आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको बिजेताले नगद तीन लाख रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक लाख ५० हजारसहित ट्रफी पाउने जनाइएको छ । त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटसम्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजारसहित ट्रफी र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सयसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न १९ लाख ८० हजार रूपैयाँ खर्च लाग्ने संयोजक शाहीले जानकारी दिए । कर्णाली प्रदेशमा क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले जनाए । ‘नेपालले क्रिकेटमा उपलब्धीहरू हासिल गर्दै गइरहेको छ, अब कर्णाली प्रदेशमा पनि यसको विकास हुनुपर्छ भनेर पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेका हौं’ शाहीले भने । हरेक वर्ष आयोजना हुने प्रतियोगिताको यो पहिलो सिजन हुने उनको भनाइ छ ।
प्रतियोगितामा समन्वय गरिरहेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसी कर्णाली प्रिमियर लिगले यस क्षेत्रको क्रिकेट विकासमा ठूलो सघाउ पुग्ने बताउँछन् । उनले क्रिकेटप्रति आकर्षण बढ्दै गइरहेको अवस्थामा राष्ट्रियस्तरको प्रतियोगिता हुँदा त्यसले यहाँका खेलाडीलाई थप ऊर्जा प्रदान गर्ने बताए । सबै मिलेर प्रतियोगिता सफल पार्नुपर्ने केसीको भनाइ छ ।

प्रकाशित मितिः   ६ चैत्र २०७४, मंगलवार १५:५०