अभिभावकको सहमतीमै हुन्छ बालविवाह

पूजा भण्डारी
दैलेख, ५ चैत्र ।
सरकारी तथा गरैर–सरकारी संघ÷संस्थाहरूबाट थुप्रै अभियानहरू सञ्चालन भए पनि कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरण हुनसकेको छैन । सामाजिक विकास र रूपान्तरणको प्रमुख बाधक बनेको बालविवाह गराउन अभिभावककै हात हुने भएकाले न्यूनीकरणमा चुनौती थपिएको हो । घरका अभिभावकले बालविवाह गर्दा हुने समस्या र कानुनी सजायका बारेमा जानकारी नपाउँदा कर्णालीमा बालविवाह गर्नेहरूको संख्यामा कमी आउन नसकेको हो ।
दीर्घकालीन असरभन्दा पनि क्षणिक स्वार्थका लागि विवाह गर्ने मनोसामाजिक प्रभावका कारण ग्रामीण क्षेत्रमा अभिभावककै सहमतिमा बालविवाह हुने गरेको छ । दैलेखको दुल्लू नगरपालिका–११ का अमृता तिवारीले घरपरिवारको अवस्था दयनीय हुने र गरिबी टार्न कम उमेरमा छोराको विवाह गर्ने गरिएको बताइन् । घरमा काम गर्ने मान्छे नहुँदा विवाह गर्दा सहयोग हुने भएकाले पनि अभिभावकले बालविवाह नरोक्ने गरेको दुल्लूकी चमेली तिवारीले बताइन ।
दुल्लू नगरपालिकाको कालभैरव, गौरी, गमौडी, मालिका र भगवतीमाई गाउँपालीकाको वडाभैरव, डुङ्गेश्वरको लाकुरी, डाँडापराजुलमा बालविवाह गर्नेको सख्या बढेको सर्वेक्षणले जनाएको छ । सर्वेक्षणका अनुसार दैलेखमा मोवाइल, देखासिकी, अभिभावको दबाब, गरिबी, समाजिक संस्कार, कानुनी अज्ञानता लगायतका कारण बालविवाह बढ्ने गरेको हो । जिल्लामा महिला सशक्तीकरण, एभरेष्ट क्लब, समाजिक सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय लगायतले बालविवाह न्यूनीकरण लागि विभिन्न अभियानहरू थालेका छन् । बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भए पनि परिणाम आउन नसकेको नागरिक समाजका अगुवाहरूले बताउने गरेका छन् ।
नेपाल बारका जिल्ला अध्यक्ष यामराज थापाले स्वास्थ्यको दीर्घकालीन असर र कानुनी प्रावधान बारेमा स्थानीयस्तरमा जनचेतना अभावका कारण बालविवाह हुने गरेको बताए । राज्यले बालविवाह र छाउपडी प्रथाका बारेमा पाठ्यक्रममा समावेश गर्नुपर्ने महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले बताइन । उनले गैर–सरकारी संस्थाले बालविवाह रोक्न अभियान चलाए पनि परियोजनाको म्याद सकिएपछि निरन्तरता दिन नसक्नु नै चुनौती भएको बताइन् । दैलेख जिल्लामा बालविवाह गर्नेको सख्या करिब सात सयभन्दा बढी छ ।
बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भए पनि कर्णाली प्रदेशमा बालविवाह बढ्दो क्रममा भएको पाइएको छ । केड सुर्खेतको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपाल दैलेखको सहजीकरणमा सञ्चालन भएको महिला किशोरी तथा बालअधिकार कार्यक्रम अन्तर्गत उक्त सर्बेक्षण गर्दा बालविवाह गर्ने जोडीहरू उल्लेख्य मात्रामा भएको पाइएको हो ।