कहाँ हराए ५४ जना महिला र बालबालिका

सुर्खेत, ४ चैत्र ।
जिल्लामा पछिल्लो समय महिला तथा बालबालिकाहरू हराउने क्रम बढ्दै गएको पाइएको छ । दैनिकजसो महिला तथा बालबालिकाहरू हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन पर्ने गरेको छ । तर, हराएको तुलनामा भेटिनेहरू संख्या न्यून छ ।


चालु आर्थिक वर्षको ६ महिनामा जिल्लाका ५४ जना महिला तथा बालबालिकाहरू सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार यस आर्थिक वर्षको ६ महिनामा एक सय ५४ जना बालबालिका तथा महिलाहरू हराएका थिए । जसमा एक सय जना भेटिएका छन् भने ५४ जना बालबालिका र महिलाहरू सम्पर्कमा आएका छैनन् । हराउनेमा सबैभन्दा बढी महिलाहरू रहेका छन् । प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार हराएका २९ जना बालकमध्ये १९ जना मात्रै फेला परेका छन् । बाँकी नौ जनालाई प्रहरीले खोजिरहेको छ । यस्तै, २१ जना बालिकामध्ये १६ जना फेला गरेका छन् भने पाँच जना सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्यांक अनुसार ६ महिनामा हराएका एक सय चार जना महिलामध्ये ६५ जना मात्रै सम्पर्कमा आएका छन् । ३९ जना महिलाहरू परिवारको सम्पर्कमा नआएको पाइएको छ ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जाने महिला हराउने क्रम जारी छ । त्यस्ता उजुरीहरू पर्ने तर फेला पर्ने संख्या निकै कम रहेको प्रहरीले जनाएको छ । बालबालिकाहरू भने अभिभावकको संरक्षण अभावमा हराउने गरेका छन् । जिल्लाका मैनतडा, राकम लगायत पूर्वीक्षेत्रका महिला तथा बालबालिकाहरू धेरैजसो हराउने गरेको प्रहरीको तथ्यांक छ । आफन्त हराउँदा प्रहरीमा निवेदन लिएर आउने तर, कुनै संयन्त्रमार्फत् सम्पर्कमा आए प्रहरीमा भेटिएको खबर नआउने गरेकाले पनि तथ्यांकमा फेला नपर्नेहरूको संख्या धेरै देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले बताए । पारिवारिक कलह, आर्थिक समस्या र अरूको लहलहैका कारण महिला तथा बालबालिका हराउने गरेका उनले जनाए ।
वैदेशिक रोजगारका कारण महिलाहरू धेरै सम्पर्कविहीन हुने गरेको महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतका सिनियर काउन्सिलर निशा पौडेलले बताइन् । घरेलु हिंसा, वैदेशिक रोजगारीको प्रलोभन देखाउने तथा नक्कली विवाह, समाजिक सञ्जालको बढ्दा दुरूपयोगका कारण पनि महिलाहरू असुरक्षित रहेको
उनले बताइन् । ‘महिला तथा बालबालिकाहरू हराउने संख्या बढेसँगै मानव तस्करी हुने जोखिम हुन्छ’, उनले भनिन्, ‘महिलाहरूलाई आर्थिक रूपम सबल बनाउन आयआर्जन र जनचेतनामूलक गतिविधि सञ्चालन हुनुपर्छ ।’ मानवतस्करी लगायतका अपराध नियन्त्रणका लागि सरकारी तथा गैर–सरकारी संस्थाहरूबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरू हुँदै आएको छन् । तर पनि महिला तथा बालबालिकाहरू सुरक्षित छैनन् ।
१९ जनाको उद्दार
अलपत्र अवस्थामा परेका १९ जना महिला तथा बालबालिकाहरूलाई उद्दार गरिएको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ६ जना महिला, आठ जना बालक र पाँच जना बालिकाको उद्दार गरिएको जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा अलपत्र अवस्थामा फेला परेका उनीहरूलाई आफन्त, अभिभावक र संघ–संस्थाको पठाइएको हो ।
प्रहरीको तथ्यांक अनुसार ६ जना बालक, चार बालिका ६ जना महिलालाई अभिभावकलाई बुझाइएको छ । यस्तै, दुई बालक, एक बालिकालाई महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । अलपत्र अवस्थामा सडकमा भेटिएका उनीहरूलाई सरोकारवालाको सहयोगमा उद्दार गरिएको हो ।

प्रकाशित मितिः   ५ चैत्र २०७४, सोमबार १५:५०