सडक बनाउँदै नागरिक, जनप्रतिनिधि भ्रमणमा

दैलेख, ४ चैत ।
दैलेखको भैरवी गाउँपालिकामा स्थानीयबासीले चन्दाबाट सडक निर्माण गरिरहेका बेला जनप्रतिनिधि भने भ्रमणमा निस्केका छन् । स्थानीयबासीले चन्दा संकलन गरी सडक निर्माण थालेका बेला कृषिको विकासका लागि लाखौं रकम खर्चेर जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा गएको हो । गाउँपालिकामा सडक सञ्जाल नहुँदा स्थानीय उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको गुनासो गर्दै आएका छन् । तर, सडक निर्माणप्रति गाउँपालिकाले चासो नदिएपछि स्थानीयबासीहरूले चन्दा उठाएरै सडक निर्माण थालेका हुन् ।

भैरवी–५ (साविकको भैरीकालिकाथुम वडा नं. ९ बाहाँचौर) का स्थानीयबासीले डोक्रादेखि बाहाँचौर जोड्ने सडक निर्माण गरेका छन् । डाडाँमाडी बजारदेखि बाहाँचौर जोड्ने सडक अन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । निर्वाचनताका विकासको आश्वासन दिएका जनप्रतिनिधिहरूले मनपरी गर्न थालेपछि सर्वसाधारणले विरोध समेत गरेका छन् ।
गाउँको आवश्यकता भन्दा गाउँसभाबाट अनावश्यक निर्णय गरेर राज्यको ढुकुटी सक्न जनप्रतिनिधि भ्रमणमा गएको उनीहरूको आरोप छ । स्थानीयबासीहरूले १७ घरधुरीबाट ८१ हजार रूपैयाँ चन्दा संकलन गरेर सडक निर्माण कार्य थालेका हुन् । उनीहरूले प्रतिघरधुरी १० हजारका दरले चन्दा संकलन गरेर सडक निर्माण गरेका हुन् । स्थानीयबासी कृष्णप्रसाद जैसीका अनुसार दुई लाख ६६ हजार चन्दा उठाइएको छ ।
स्थानीय महिला अगुवा सरिता पौडेलले डोक्रादेखि बाहाँचौरसम्म जोड्ने सडकका लागि गाउँपालिका र वडापालिकाले कुनै चासो नदेखाएपछि स्थानीयबासीको पहलमा निर्माण थालिएको बताइन् । भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकारसहित ३९ जनाको जम्बो टोली एक हप्ताको भ्रमणमा निस्किएका हो । स्थानीय संरचना सञ्चालन तथा पशुपालन, नगदेवालीको विषयमा अध्ययन गर्ने भन्दै कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा गएका हुन् । गाउँपालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि स्थानीयहरूले चर्काे विरोधसमेत गरेका छन् । अध्यक्ष र उपाध्यक्षको मातहतमा ३९ जनाको जम्बो टोली नेपालको पूर्वी क्षेत्र पोखरा, मनकामना, ईलाम, झापा हुँदै दार्जीलिङसम्म पुग्ने बताइएको छ । यता, भ्रमण टोलीमा सहभागी हिमाल जैसीले गाउँ कार्यपालिकाको निर्णय बमोजिम नगदेवाली प्रबद्र्धन र पशुपालन व्यवसायका लागि अध्ययन भ्रमण शीर्षकको बजेटबाट भ्रमणमा गएको बताए ।

प्रकाशित मितिः   ५ चैत्र २०७४, सोमबार १५:४८