दश वर्षदेखि अलपत्र ‘रिङ्गरोड’

सुर्खेत, ३ चैत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रिङ्गरोड (चक्रपथ) अलपत्र परेको छ । चक्रपथ निर्माणको योजना सुरु भएको एक दशक बितेको छ । तर निर्माणको प्रगति भने लगभग शून्य नै रहेको छ । दश वर्षसम्म पनि निर्माणको काम पूरा नभएपछि स्थानीयले तत्काल काम सम्पन्न हुनुपर्ने माग गरेका छन् ।


वीरेन्द्रनगरको सुब्बाकुनादेखि सुरु भएर उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने यो चक्रपथ निर्माणको काम आर्थिक वर्ष २०६२÷०६३ बाट सुरु गरिएको थियो । तर २९ किलोमिटर लामो यो चक्रपथको कामले हालसम्म पनि गति लिएको छैन । समयमै चक्रपथ निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती व्यहोर्दै आइरहेका छन् । निर्माण सम्पन्न भएर यातायात सुविधा उपभोग गर्ने बेलामा निर्माणको काम अलपत्र परेको हो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरवासीले यो चक्रपथको काम सम्पन्न गर्नुपर्ने माग पेचिलो बनाउन थालेका हुन् ।
तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धका कारण जिल्लाका ग्रामीण क्षेत्रमा विकास आयोजना सञ्चालन हुन सकेनन् । द्वन्द्वका कारण तत्कालीन गाविसमा बजेट खर्च गर्न सक्ने अवस्था नभएपछि जिल्ला विकास समितिले उक्त बजेटबाट वीरेन्द्रनगरमा चक्रपथ निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा गाविसलाई दिइने बजेटबाट सुरुमा ४१ लाख रूपैयाँ चक्रपथ निर्माणका लागि विनियोजन गरिएको थियो । तर निर्माण प्रक्रिया थालिएको एक दशक बित्दा पनि यो सडकले पूर्णता भने पाएको छैन । एक दशक बित्दासमेत चक्रपथ निर्माणको कामले गति नलिएपछि यहाँका नागरिकहरू निराश बनेका छन् । स्थानीय बासिन्दा सीता खड्काले भनिन्, ‘योजना सुरु भएको दश वर्षभन्दा बढी भयो, आजसम्म चक्रपथ बनेको छैन ।’
वीरेन्द्रनगर यसअघि मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम हुँदा पनि चक्रपथ निर्माण हुन नसकेको र अहिले प्रदेशको राजधानी हुँदा पनि ओझेलमा परेको उनको गुनासो छ । प्रदेशको राजधानी सुविधायुक्त र सडक यातायातको सहज पहुँचमा हुनुपर्ने भन्दै उनले अब तत्काल चक्रपथ निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन् । साविकको जिल्ला विकास समितिले चक्रपथलाई प्राथमिकतामा नराख्दा निर्माणको काम अलपत्र परेको स्थानीयवासी बताउँछन् । एक दशकदेखि बजेट अभावको कारण देखाउँदै ओझेलमा परेको चक्रपथलाई अब वडा कार्यालय र स्थानीयले अहिले नै सडकको चौडाई निर्धारण गरेर निर्माण सुरु गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले यसअघि नै चक्रपथको चौडाई ३० मिटर राख्ने निर्णय गरिसकेको थियो । सोही अनुसार सडक निर्माणको काम सुरु हुनुपर्ने माग चर्को बन्दै गएको हो ।
चक्रपथले छुने वीरेन्द्रननगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले स्थानीयको माग जायज भएको र अब चक्रपथको कामले गति लिनुपर्ने बताए । उनले भने, ‘लामो समय बित्यो, चक्रपथको काम अलपत्र परेको छ । यसले सुविधा होइन, बरु जनतालाई सास्ती भयो ।’ तत्काल निर्माणको काम सुरु गरिनुपर्ने भन्दै उनले स्थानीय सरकारले यसमा पहल गर्ने जनाए । साथै आफूहरूले चक्रपथको काम सुरु गराउनका लागि सरोकारवाला निकायमा ध्यानाकर्षण गराएको समेत उनले जानकारी दिए । अब नगरपालिका र वडा कार्यालयहरूले पनि यो चक्रपथ निर्माण तथा सञ्चालनका लागि पहल गर्नुपर्ने भन्दै स्थानीयले बारम्बार ध्यानाकर्षण गराउँदै आएका छन् । तर पनि यसको कतैबाट पनि सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ ।
डिभिजन सडक कार्यालय सुर्खेतले भने चालु आर्थिक वर्षसम्म मात्रै चक्रपथ हेर्ने भएकाले यसै वर्षदेखि नै निर्माणको काम सुरु गरिने जनाएको छ । चक्रपथ निर्माणका लागि टेण्डर आव्हान भइसकेको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले बताए । उनका अनुसार यसै आर्थिक वर्षदेखि नै चक्रपथमा ग्राभेल र नाला निर्माणको काम सुरु गरिनेछ । ‘यही आर्थिक वर्षमा बाँकी काम सुरु हुन्छ, अब चक्रपथ निर्माण हुन्छ’ भुजेलले भने । सुख्खायाममा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा वर्षौंदेखि चक्रपथ आसपासका नागरिकले सास्ती भोग्दै आइरहेका छन् । अनेकौं वहाना देखाएर अलपत्र पार्ने काम भएको भन्दै स्थानीयले अब कुनै पनि हालतमा निर्माणको काम अघि बढाउन माग गरेका हुन् ।

प्रकाशित मितिः   ४ चैत्र २०७४, आईतवार १५:४८