मन्त्रालयभित्रै खुम्चिए कार्यालय

सुर्खेत, १ चैत ।
समायोजन र व्यवस्थापनमा ढिलाइ हुँदा क्षेत्रीय स्तरका कार्यालयहरू मन्त्रालयको चेपुवामा परेका छन् । अहिले साविकको मध्यपश्चिमका अधिकांश क्षेत्रीयस्तरका कार्यालयमा प्रदेश सरकारका मन्त्रालयहरू स्थापना भएका छन् । जसका कारण अधिकांश क्षेत्रीय कार्यालयहरू मन्त्रालयभित्रै खुम्चिएका हुन् ।


भएका भवनहरूमा मन्त्रालय स्थापना भएको र अर्को उपयुक्त स्थान नपाएपछि क्षेत्रीयस्तरका कार्यालयहरू हिजोआज मन्त्रालयभित्रै खुम्चिएका हुन् । अहिले एउटै भवनबाट मन्त्रालय र क्षेत्रीयस्तरका कार्यालयहरू सञ्चालन भइरहेका छन् । कतिपय क्षेत्रीय कार्यालयहरू मन्त्रालयको एउटा कोठामा मात्र थन्किनुपर्ने बाध्यतामा छन् । सरकारले क्षेत्रीय कार्यालयहरूको समायोजन र व्यवस्थापनमा ध्यान नदिँदा यसको मारमा कर्मचारीहरू परेका हुन् । साँघुरो र एउटा मात्र कोठामा खुम्चिएर काम गर्नुपर्ने अवस्था आएपछि काम गर्न समस्या भइरहेको गुनासो कर्मचारीहरूले गरेका छन् ।
देश प्रादेशिक संरचनामा गइसक्दा पनि क्षेत्रीय स्तरका कार्यालयहरू अस्तित्वमै छन् । वीरेन्द्रनगरमा रहेका अधिकांश क्षेत्रीयस्तरका कार्यालयका भवनमा संसद, मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय स्थापना भएका छन् । उपयुक्त विकल्प विना नै रातरात मन्त्रालय राखिएपछि कतिपय क्षेत्रीय कार्यालयहरू जिल्ला कार्यालयका भवनमा सरेका छन् । अर्कोतर्फ केही क्षेत्रीय कार्यालयहरू अहिले पनि मन्त्रालयभित्रै थन्किएका छन् । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय हाल एउटै भवनबाट सञ्चालन भइरहेका छन् । क्षेत्रीय शिक्षाको भवनमा आर्थिक मन्त्रालय स्थापना भएपछि मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय अहिले यसअघि उत्तरपुस्तिका जाँच गर्ने हलमा थन्किएको हो ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा सामाजिक विकास मन्त्रालय स्थापना भएको छ । मन्त्रालयले भवन लिएपछि जिल्ला स्वास्थ्य कार्यालय मन्त्रालयकै हाताभित्र सानो कोठामा थन्किएको हो । मन्त्रालयले मात्र होइन, कतिपय क्षेत्रीय कार्यालयहरू विस्तापित भएर जिल्लास्तरका कार्यालयमा सरेका छन् । क्षेत्रीय कार्यालय आएपछि जिल्ला कार्यालयहरू समस्या परेका छन् । मन्त्रालयको चेपुवामा परेपछि क्षेत्रीयस्तरका कार्यालयमा कार्यरत कर्मचारीहरूले आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । मन्त्रालयभित्रै खुम्चिएका कारण कतिपय क्षेत्रीय कार्यालय र मन्त्रालयमा पुग्ने सेवाग्राहीहरूसमेत अलमलमा पर्ने गरेका छन् । पुरानै भौतिक संरचनामा मन्त्रालयहरू स्थापना भएपछि क्षेत्रीय कार्यालयहरू अलपत्र परेका हुन् ।
साविकको शहरी विकास तथा भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको छ । उक्त डिभिजन कार्यालय अहिले जिल्ला कृषि विकास कार्यालयमा सरेको छ । डिभिजन कार्यालय र जिल्ला कृषिले हाल एकै भवनमा खुम्चिएर सेवा दिइरहेका छन् । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा स्थापना भएको छ । अधिकारुश क्षेत्रीय कार्यालयहरू मन्त्रालयकै हाताभित्र रहेका क्वाटर र स्टोर रुममा थन्किएका छन् । ‘कर्मचारीहरू बस्ने ठाउँ नै छैन’ क्षेत्रीय शिक्षा निर्देशनालयका शाखा अधिकृत उत्तम आचार्यले भने, ‘मन्त्रालय स्थापना भएपछि हामीले सामान बाहिरै राखेका छौं, सानो कोठामा कोचिएर काम गर्नेपर्ने बाध्यता छ ।’ विगतमा एसएलसीका उत्तरपुस्तिका परिक्षण गनरुरु सभामा निर्देशनालयका सबै फाँटहरू राखिएको छ । मन्त्रालयका लागि कार्यालय खाली भएपछि निर्देशनालयका फर्निचर, दराज, कुसी खुल्ला चौर र गाडी पार्किङ्ग स्थलमा राखिएका छन् ।
‘भवन अभावले काम गर्न समस्या भएको छ’ जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले भने, ‘एउटै कोठामा बसेर तीन वटा फाँटको काम गर्नुपर्ने अवस्था छ ।’ यो कार्यालयले कार्यालयका आडैमा जोडिएको यसअघि खाना पकाउने कोठाबाट काम चलाइरहेको छ । ‘भौतिक संरचना प्रयाप्त छैनन्’ क्यान्टिन रुममा राखिएका कार्यालयका टेबुल देखाउँदै उनले भने, ‘मन्त्रालय आएपछि जिल्ला कार्यालयको हालत यस्तो भयो, जनताले सेवा नपाउने र काम प्रभावित नहुने गरी मिलेर बसेका छौं ।’ यता मन्त्रालयले भने जनस्वास्थ्यको स्टोर कोठासहित तीन वटा कोठा तत्काल छाड्न ताकेता गरिरहेको छ । मन्त्रालयले विभिन्न शाखाहरू सञ्चालन गर्नुपर्ने भएकाले पनि तत्काल कोठाको अभाव खड्किएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामप्रसाद उपाध्यायले बताए । क्षेत्रीय कार्यालयमा मन्त्रालय आएपछि आफूहरूको कामकाज नै प्रभावित हुने गरेको कर्मचारीहरूको गुनासो छ ।

प्रकाशित मितिः   २ चैत्र २०७४, शुक्रबार १५:१२