नेपालले पायो एकदिवसीय मान्यता

नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ। नेपालले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हो।

जिम्बावेमा भइहरेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक थियो। अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २ दशकमा नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो।

छनोटमा आइसिसीले सहभागि एसोसिट ६ मध्ये ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने निर्णय गरेको हो। डब्लुसिएल च्याम्पियनसिपको विजेताले नेदरल्यान्ड्सले स्वत: एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर एकदिवसीय मान्यता पाएको हो।

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा पार गर्‍यो।

पिएनजी विरुद्धको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे। उनले ५८ बलमा १ चौका र ३ छक्का प्रहार गरे। उनले २३ ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए।

यस्तै रोहितकुमार पौडेलले नटआउट ३ रन जोडे।

आरिफ शेखले २६ रनको योगदान दिए। आरिफ र दीपेन्द्रबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी भएपछि नेपाल जित नजिक पुगेको थियो।

नेपालको सुरुवात भने खराब रह्यो। नेपालले तेस्रो ओभरमा दुबै ओपनर गुमायो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन तथा अनिल साह ९ रनमा पेवेलियन फर्किएका थिए।

कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो। पारसले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले एकै ओभरमा १६ रन प्रहार गरेका थिए।

त्यसअघि जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। दुवैले समान ४-४ विकेट लिए। करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।

ऐरीले पिएनजीका लागि सबैभन्दा बढी रन बनाएका चार्ल्स अमिनीलाई १९ रनमा एलबिडब्लूको धरापमा पारे। दीपेन्द्रले २६ ओभरमा लगातार २ विकेट लिएका थिए। सो ओभरमा उनले जासन किला र नोर्भान भानुवालाई बोल्ड गरेका थिए। उनले अन्तिम विकेटका रफमा जोन रिभालाई पनि आउट गरे।

सन्दीपले किपलिप डोरिगालाई १० रनमा बोल्ड गर्दा माहुरु दाईलाई ५ रन बनाएर खेलिँरहँदा सोमपाल कामीबाट क्याच गराए। यस्तै उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे। त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पारेका थिए।

करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए। त्यसअघि अर्का ओपनर असद भाला १० रनमा पेभेलियन फर्के। उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारेका थिए।

एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसि० ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आईसीसीको एक दिवसीय वरियतामा पर्नेछ।

प्रकाशित मितिः   १ चैत्र २०७४, बिहीबार १९:५७