पिएनजीमाथि नेपालको जीत, एकदिवसीय मान्यता नजिक

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा पार गर्‍यो।

प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराए नेपालले स्वत: एकदिवसीय मान्यता पाउनेछ। जारी खेलमा हङकङ विजयी भएमा एकदिवसीय मान्यताका लागि शनिबार नेपाल र हङकङबीच भिडन्त हुनेछ। विजयी हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।

पिएनजी विरुद्धको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे। उनले बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनले २३ ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए।

यस्तै रोहितकुमार पौडेलले नटआउट ३ रन जोडे।

आरिफ शेखले २६ रनको योगदान दिए। आरिफ र दीपेन्द्रबीच चौथो विकेटका लागि ६७ रनको साझेदारी भएपछि नेपाल जित नजिक पुगेको थियो।

नेपालको सुरुवात भने खराब रह्यो। नेपालले तेस्रो ओभरमा नै दुबै ओपनर गुमायो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन तथा अनिल साह ९ रनमा पेवेलियन फर्किएका थिए।

कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो। पारसले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनलै एकै ओभरमा १६ रन प्रहार गरेका थिए।

त्यसअघि जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। दुवैले समान ४-४ विकेट लिए। करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।

ऐरीले पिएनजीका लागि सवैभन्दा बढी रन बनाएका चार्ल्स अमिनीलाई १९ रनमा एलबिडब्लूको धरापमा पारे। दीपेन्द्रले २६ ओभरमा लगातार २ विकेट लिएका थिए। सो ओभरमा उनले जासन किला र नोर्भान भानुवालाई बोल्ड गरेका थिए। उनले अन्तिम विकेटको रफमा जोन रिभालाई आउट गरे।

सन्दीपले किपलिप डोरिगालाई १० रनमा बोल्ड गर्दा माहुरु दाईलाई ५ रन बनाएर खेलिरहदा सोमपाल कामीबाट क्याच गराए। यस्तै उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे। त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारेका थिए।

करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए। त्यसअघि अर्का ओपनर असद भाला १० रनमा पेभिलियन फर्के। उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारे।

प्रकाशित मितिः   १ चैत्र २०७४, बिहीबार १७:२०