सुर्खेतका तीस प्रतिशत महिला गोठमै सुत्केरी
सुर्खेत, २९ फागुन ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा प्रोत्साहन स्वरूप भत्ताको व्यवस्था गरेको छ । तर अधिकांश महिलाहरू अहिले पनि गोठमै सुत्केरी हुने गरेका छन् । ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि घर र गोठमै असुरक्षित रूपमा सुत्केरी हुने गरेका हुन् । सुर्खेतमा ३० प्रतिशत महिलाहरूले असुरक्षित रूपमा गोठमै बच्चा जन्माउने गरेको पाइएको छ ।
सरकारले नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा प्रोत्साहन वापत भत्ता उपलब्ध गराउँदै आएको छ । यसबारे जानकारी भएर पनि जिल्लामा ३० प्रतिशत महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा नआउने गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हाल ७० प्रतिशत महिलाहरू मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गरेको जनाएको छ । कार्यालयले बाँकी महिलाहरूले भने असुरक्षित रूपमा नै घर तथा गोठमै बच्चा जन्माउने गरेका छन् । जसका कारण सुरक्षित रूपमा सुत्केरी गराउन नसकिएको र यसले मातृशिशुको सुरक्षामा नै चुनौती थपिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
सामाजिक अन्धविश्वास र धार्मिक मान्यताका कारण जिल्लामा अहिले पनि घरमै सुत्केरी गराउने संस्कार कायमै छ । अर्कोतर्फ जानकारी भएर पनि भौगोलिक विकटता र नजिकै स्वास्थ्य संस्था नहुँदा महिलाहरू असुरक्षित रूपमा सुत्केरी हुन बाध्य छन् । ग्रामीण क्षेत्रमा अन्धविश्वासका कारण घरभित्र सुत्केरी हुँदा अशुभ हुने भन्दै गोठमा सुत्केरी गराउने चलन रहेको छ । यसले गर्दा पनि महिला र बच्चाको स्वास्थ्यमा जोखिम हुने गरेको हो । सुर्खेतसहित कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सुत्केरीलाई छुन नहुने भ्रम रहेको छ । यसकारण पनि गोठमै सुत्केरी गराउने गरिएको छ । यस्तै ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूले गर्भवती हुँदा सुरक्षामा ध्यान नदिँदा गर्भमै बच्चाको मृत्यु हुने गरेको कार्यालयका सूचना अधिकारी बसन्त श्रेष्ठले बताए । उनले भने, ‘अहिले पनि महिलाहरू घरमै सुत्केरी हुन्छन्, यसले मातृशिशुको सुरक्षामा निकै चुनौती थपिएको छ ।’
चार पटकसम्म नियमित गर्भ जाँच गराउनेलाई थप चार सय रूपैयाँ दिने गरे पनि करिब ७० प्रतिशत गर्तवतीले मात्रै नियमित गर्भ जाँच गराउने गरेका छन् । बाँकी ३० प्रतिशतले दुई पटकभन्दा बढी जाँच नगराएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा गर्भवती भएका ६ हजार आठ सय १४ जना मध्ये पाँच हजार चार सय ४१ जनाले मात्र स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन् । यस्तै एक हजार तीन सय २० जना गर्भवतीहरू घरमै सुत्केरी भएको तथ्यांक छ । यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लाका पाँच हजार चार सय ८५ जना महिलाले सुरक्षित रूपमा प्रसुती सेवा लिएका छन् भने एक हजार तीन सय २० जना महिला घरमै सुत्केरी भएको जनस्वास्थ्य कार्यालयका तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा सात हजार एक सय दुई जना गर्भवती महिला मध्ये एक हजार एक सय ७५ जनाले असुरक्षित रूपमा घर र गोठमै बच्चा जन्माएका छन् । जसमध्ये पाँच हजार नौ सय २७ जनाले भने सुरक्षित प्रसुति सेवा लिएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६
महिनामा एक सय १७ जना नवजात शिशुहरूको घरमै मृत्यु भएको छ । यस्तै १३ जना नवजात शिशुको मृत्यु अस्पतालनमा भएको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले भने, ‘घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान नै जाने गरेको छ, सामाजिक मान्यता र अन्धविश्वासका कारण महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा आउँदैनन् ।’ सबै गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने गरी चेतनामुलक कार्यक्रम संचालन गरिने उनले जनाए ।
यसैबीच चालु आर्थिक वर्षको ६ महिनामा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरूलाई ३८ लाख रूपैयाँ प्रोत्साहन स्वरूप वितरण गरिएको छ । नौ वटा स्थानीय तह रहेको सुर्खेतमा सरकारले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुत्केरी गराउनेलाई प्रोत्साहन भत्तावापत ३८ लाख ४१ हजार रूपैयाँ वितरण गरेको हो । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सबै आमाहरूलाई रकम वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।