‘तत्काल उत्तरी नाका खोलिदेऊ’
सुर्खेत, २८ फागुन ।
छिमेकी देश चीनसँग जोडिएका कर्णालीका उत्तरी नाकाहरू तत्काल सञ्चालनमा ल्याउन जनप्रतिनिधिहरूले माग गरेका छन् । कर्णाली प्रदेशको सीमाना भारतसँग नजोडिएको र तत्काल उत्तरी नाकाहरू सञ्चालनमा नआए प्रदेशको समृद्धिमा नै बाधा हुने उनीहरूको भनाइ छ । यसका लागि प्रदेश सरकारले चीनसँग जोडिएका प्रदेशका उत्तरी नाका खोल्ने कामलाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।
कर्णालीमा ५२ प्रतिशत गरिबी रहेको र विकल्पका रूपमा रहेका उत्तरी नाकाहरू पनि तत्काल सञ्चालनमा नल्याए प्रदेशको आर्थिक अवस्था धरासायी हुने स्थानीय तहका जनप्रतिनिधिहरूले चेतावनी दिए । प्रदेशमा आम्दानीको स्रोत न्यून रहेकाले पनि तत्काल चीनसँग व्यापार विस्तारका लागि पहल गर्न उनीहरूले प्रदेश सरकारसँग आग्रह गरेका हुन् । प्रदेश सरकारले सुझाव संकलनका लागि बोलाएपछि राजधानी वीरेन्द्रनगरमा जम्मा भएका स्थानीय तहका जनप्रतिनिधिहरूले नयाँ आर्थिक वर्ष सुरु नहुँदै उत्तरी नाका खोल्नेतर्फ पहल गर्न सुझाव दिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको चार महिनाका लागि एक अर्ब दुई करोड बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारले ल्याउन लागेको यही बजेट खर्चेर चीनसँग जोडिएका नाका खोल्न जनप्रतिनिधिले सुझाव दिएका हुन् । प्रदेश अन्तर्गत चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना तथा डोल्पाका मरिम्ला र क्याटोछुंग्रा नाकाहरू एकमुष्ठ सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ । कर्णाली प्रदेशमा एउटा पनि भन्सार नहुँदा राजश्व संकलन र आन्तरिक आम्दानीको स्रोत नै नभएकाले तत्काल चीनसँग पारवहन सम्झौता गरी प्रदेशलाई समृद्ध बनाउनतर्फ यस क्षेत्रका जनप्रतिनिधिहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘समृद्ध कर्णाली बनाउनु छ, यसका लागि छिमेकी मुलुकसँग व्यापार सम्झौता गरौं’ दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले भने, ‘जबसम्म हाम्रो प्रदेश चीनसँग जोडिदैंन, तबसम्म कर्णालीको अर्थतन्त्र सवल हुन सक्दैन । प्रदेश सरकारले तत्काल उत्तरका नाका खोल्नेतर्फ ध्यान देओस्, पारवहन तथा व्यापार सम्बन्ध सुनिश्चित गरियोस् ।’ प्रदेश सरकारले चार महिनाका लागि ल्याउन लागेको सबै बजेट खर्चेर भए पनि तत्काल उत्तरी नाका खोल्न सरकारलाई उनको सुझाव छ । नाका सञ्चालनका लागि आवश्यक परे स्थानीय तहले पनि बजेट कटौती गरेर दिन तयार रहेको उनको भनाइ छ । यस्तै डोल्पाको त्रीपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष होमबहादुर बुढाले आन्तरिक आम्दानीको स्रोत बढाउन तत्काल उत्तरका नाका खोल्नुपर्ने बताए । ‘हामीसँग आम्दानीको स्रोत नै छैन्, ५२ प्रतिशत गरिबी हटाउनुपर्ने ठूलो चुनौती छ’ उनले भने, ‘कर्णालीमा अहिले भन्सार उठ्ने ठाउँ नै छैन, अब प्रदेश सरकारले चीनसँग जोडिएका सबै नाका सुचारु गरोस् ।’
चीनसँग कर्णाली प्रदेशलाई सिधा जोड्नुपर्ने र प्रदेश राजधानीसँग सबै जिल्ला जोड्नेगरी सडक निर्माणको कामलाई पनि प्राथमिकता दिनुपर्ने माग जनप्रतिनिधिहरूको छ । भेरी नगरपालिका जाजरकोटका मेयर सीपी घर्तीले स्थानीय तहलाई जोडेर दीर्घकालीन, अल्पकालीन र आपतिकालीन रूपमा प्रदेश सरकारले बजेट बनाउनुपर्ने बताए । सरकारले भूगोलका आधारमा सन्तुलन मिलाएर चार महिनाका लागि बजेट सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ । प्रदेशको ५२ प्रतिशत गरिबी न्यूनीकरण गर्न स्थानीय तहका जनप्रतिनिधिसँग प्रदेश सरकारले छलफल गरेको हो । सो अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका आवश्यकता र सृमद्धिका लागि सरकारले पहल गर्ने बताए । ‘अवको मुख्य एजेण्डा विकास र समृद्धि नै’ उनले भने, ‘हाम्रो प्रदेश दक्षिणसँग जोडिएको छैन, अब हामी उत्तरका नाका खोल्न पहल गर्नेछौं ।’ यसअघि प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठकले उत्तरी नाका खोल्न पहल गर्ने निर्णय गरिसकेको उनले बताए ।
साझा बिसौनी ।