आठ न्यायाधीशले गरे इजलाश बहिस्कार

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधान्यायाधीश गोपाल पराजुलीले तोकेको मुद्दा सुनुवाई गर्ने विषयमा विभाजित भएका छन्।

डा गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दा आफूसहितको बृहत् पूर्ण इजलाशमा सुनुवाई थालेपछि न्यायाधीशहरु बीचमा गुट देखिएको थियो।

मंगलबार भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दिपकराज जोशीसहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्न निर्णय गरेका छन्। न्यायाधीशहरु हरिकृष्ण कार्की, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा र विश्वभर श्रेष्ठले इजलाशमा मुद्दा नहेर्न भएका हुन्।

सोमबार न्यायाधीश चोलेन्द्र सम्सेर राणाले प्रधानन्यायाधीश पराजुली साउनमै अवकाश हुनुपर्नेमा बढी अवधि सर्वोच्चमा बसेको भन्दै सँगै इजलाशमा नबस्ने घोषणा गरेका थिए। तर, उनलाई मंगलबार कुनै पनि मुद्दाको पेशी तोकिएको छैन। उनी सर्वोच्च अदालत भने हाजिर भएका छन्। आफ्नो चेम्बरमा भेटिएका राणाले न्यायिक स्वच्छता कायम गर्न यस्तो कदम चालेको प्रतिक्रिया दिए। उनले कुनै व्यक्ति भन्दा न्यायलयको हितका लागि आफूले यस्तो कदम चालेको बताए।

सोमबार बेलुका प्रधानन्यायाधीश पराजुलीले राणा बाहेकका सबै न्यायाधीशसँग राय लिएका थिए। उक्त क्रममा अधिकांश न्यायाधीशले पराजुलीलाई शैक्षिक प्रमाणपत्र र नागरिकताको विवाद सम्बन्धी मुद्दा किनारा नभएसम्म अलग बस्न सुझाव दिएका थिए। तर, त्यसलाई अटेर गर्दै पराजुलीले मंगलबार पुनः सर्वोच्च आई मुद्दाको पेशी तोकेका थिए।

पेशी तोकेका मध्ये न्यायाधीशहरु ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही , दीपककुमार कार्की र टंकबहादुर मोक्तान; केदारप्रसाद चालिसे र शारदप्रसाद घिमिरे; मिरा खड्का, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले भने मुद्दाको सुनुवाई थालेका छन्।

प्रकाशित मितिः   २९ फाल्गुन २०७४, मंगलवार १४:३३