जेसीज कपमा कर्णालीको विजयी सुरुवात

सुर्खेत, २९ फागुन । जेसिज कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । दाङमा सञ्चालित प्रतियोगिता अन्तर्गत आज आफ्नो पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । जसमा टेक सलामीले सर्वाधिक ५७ रन बनाए भने निश्चल रावलले ३० र रविन्द्रजंग शाहीले १८ रनको योगदान दिए ।

एक सय ५३ रनको लक्ष्य पछ्याएको महाकालि क्लबले एक सय ४२ रन मात्रै बनाएपछि कर्णाली प्रदेश १० रनले विजयी भएको हो । महाकालिका लागि दिनेश ऐरीले ५३ र सन्तोष भट्टले ३० रनको योगदान दिएपनि टिमलाई जिताउन सकेनन् ।

बलिंगतर्फ कर्णालीका टेक सलामीले ४ र दिनेश पुनले २ विकेट लिएको कर्णाली क्रिकेट टिमका म्यानेजर रोशन शाहीले जानकारी दिए । उनका अनुसार सर्वाधिक ५७ रन बनाउनुका साथै ४ विकेट लिएका कर्णालीका टेक सलामी खेलको म्यान अफ दि म्याच भए ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७४, मंगलवार १४:१९