एमयूद्वारा आंगिक क्याम्पसलाई तीस लाख

सुर्खेत, २७ फागुन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० वटा आंगिक क्याम्पसको प्रक्रियामा रहेका सामुदायिक क्याम्पसहरूलाई पहिलो किस्ताको रकम हस्तान्तरण गरेको छ । विश्वविद्यालय अनुदान आयोगले पूर्वाधार विकासका लागि छुट्याइएको ८० लाख मध्ये पहिलो किस्ता वापत ३० लाख रूपैयाँ वितरण गरेको हो ।


आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरूलाई चेक हस्तान्तरण गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले क्याम्पसहरूको चल–अचल सम्पत्ति विश्वविद्यालयको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउने निर्देशन दिए । मप विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयमार्फत् उच्च शिक्षाको समानुपातिक दायित्व यस क्षेत्रमा पु¥याउन आंगिक क्याम्पस बनाउने प्रक्रिया अगाडि बढेको बताए । मप विश्वविद्यालयको अघिल्लो सभाबाट नारायण क्याम्पस दैलेख, बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी बहुमुखी क्याम्पस कोहलपुर, बाँके, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, मुसिकोट क्याम्पस खलंगा, रुकुम, जनता बहुमुखी क्याम्पस, विद्यापुर, सुर्खेत र भेरी शिक्षा क्याम्पस गुमी, तिला बहुमुखी क्याम्पस मान्मा कालिकोट, जलजला बहुमुखी क्याम्पस, रोल्पालाई आंगिक क्याम्पस बनाउने निर्णय भएको थियो ।
गत असोज २ गतेको मन्त्रीपरिषद्को बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने भनि दरबन्दी समेत स्वीकृत गरिसकेको रजिष्ट्रार मल्ले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रूपमा रहेका उक्त क्याम्पसहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसको रूपमा हस्तान्तरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढाइने उनले बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनिया र एमयूका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७४, सोमबार १६:५४