‘बाल्यकालमा बदमासी गर्दा रमाइलो लाग्थ्यो’

कर्ण शाही दैलेखको ठाँटीकाँध गाउँपालिका ३ का वडा अध्यक्ष हुन् । वि.सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमाले दैलेखका जिल्ला कार्यसमिति सदस्य समेत हुन् । वि.सं. २०२५ चैत १० गते बुबा पूरा शाही र आमा राजु शाहीको कोखबाट दैलेखमा जन्मिएका उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः

मेरो जन्म दैलेखको ठाँटीकाँथ गाउँपालिका वडा नम्बर ३ विशालामा भएको हो । चार बहिनी र पाँच भाइ मध्येको म माहिलो छोरा हुँ । बाल्यकाल गाउँमै बित्यो । दाजुभाइहरूसँग मेलापात, खेतीपाती गरेर बाल्यकाल बित्यो । हाम्रो परिवार कृषक भएको कारण धेरैजसो घरकै र खेतबारीकै काम गर्नुपर्ने हुन्थ्यो । त्यसबेलाको परिस्थिति अहिलेको जस्तो थिएन् । सडक, सञ्चारको पहुँचबाट धेरै टाढा थियो । लवाइ–खुवाइदेखि व्यवहार समेत फरक हुन्थ्यो । तर पहिलेका मान्छेहरू इमान्दार हुने गर्थे । हामी धेरै ठूलो हुँदासम्म खाली खुट्टा पैदल हिँड्ने गथ्र्यौं । नुन खानको लागि बर्दियाको राजापुरसम्म आउनुपर्ने बाध्यता हुन्थ्यो । पैदल नै हिँड्नुपर्ने । १५ दिनसम्म समय लाग्थ्यो । एक वर्ष मात्र भयो अहिले बाटो पुगेको । त्यसभन्दा अघिसम्म त्यहाँका जनताहरू पैदल नै हिँड्थे ।
म ६ वर्षको हुँदा विद्यालय जान थालेको हुँ । घर नजिकै विद्यालय थियो । त्यस्तै १० मिनेट जति समय लाग्थ्यो । त्यसबेलामा विद्यालय गएर पढ्नेहरूको संख्या अत्यन्तै न्यून थियो । अझ छोरीहरूलाई त प्रायः कसैले पनि विद्यालय पठाउँदैन थिए । म कक्षा १ मा पढ्न जाने बेलामा दुई जना छात्रा मात्र विद्यालय पढ्न आएका थिए । पढाइमा समान्य विद्यार्थी थिएँ । रातको समयमा उज्यालोका लागि राजापुरबाट ल्याएको मट्टितेल हुन्थ्यो । घरको कामले गर्दा पढ्ने समय कमै हुन्थ्यो । रातीमा त्यही मट्टितेल प्रयोग गरेर टुक्की बालेर पढ्थ्यौं ।
म सानोमा चञ्चले स्वभावको थिएँ । साथीभाइहरूसँग रमाइलो गर्ने, मेला, जात्रामा जान औधि मनपथ्र्यो । हामी त्यसबेलामा जात्रा हेर्नका लागि पादुका, मटेलालगायतका स्थानीय मेलाहरूमा जान्थ्यौं । ठाडीभाका, देउडा भाका गाउने, साथीहरूबीच रमाइलो गर्ने गथ्र्यौं । अहिले पनि मलाई देउडा भाका गाउन मनपर्छ । त्यसबेलाका ति दिनहरूका सम्झना अझै पनि ताजा नै छन् । त्यतिबेलामा गाउँका कतै मेला, जात्रा भयो भने रामरमिता भनेर भन्थे गाउँमा । गाउँमा कतै रामरमिता भयो भने हामी रमाइलो गर्न साथीहरूको समूह नै भएर जान्थ्यौं । साथीहरू मिलेर आफै भकुण्डो बनाएर खेल्थ्यौं । सानै छँदा धेरै नै धुलो माटोमा खेलियो । कहिलेकाँही बदमासी पनि गरिन्थ्यो । साथीहरू मिलेर छिमेकिको फलफूल चोरेर खाने, गोठभित्र बाँधेका बाख्रा छोडिदिने गथ्र्यौं । बाख्राले बाली खााइदिएपछि खुब गाली पाइन्थ्यो । घरसम्म पनि कुरा आइपुग्थ्यो । बुबाआमाले गाली गर्नुहुन्थ्यो । साजयको लागि कान समातेर उठबस गर्न लगाउनु हुन्थ्यो । बुबाआमा र गुरु भनेपछि धेरै नै डर लाग्थ्यो । त्यसबेलामा अबदेखि कहिले पनि गदैनौं भनेर कसम नै खान्थ्यौं फेरिपछि बुबाआमाको डर र कसम भुलिहालिन्थ्यो र बदमासी गरिहालिन्थ्यो । गाउँका सुन्तला भने धेरै नै चोरियो । कहिले काहीं गुलेली लिएर जंगलमा चरा मार्न पनि गएको बाल्यकालको सम्झना छ । पछि उमेर बढ्दै गएपछि गल्ती नै गरेको जस्तो लागेर त्यो काम भने छोड्यौं ।
बुबाआमालाई काममा सघाएर विद्यालय पढ्न जाने गथ्र्यौं । खाली खुट्टा हिँड्नुपर्ने हुन्थ्यो । नयाँ कपडा लगाउनका लागि र चप्पल लगाउनको लागि कि चाडपर्व आउनुपथ्र्यो नातागोताको घरमा जानुपथ्र्यो । त्यसकारण पनि चाडपर्व र आफन्तको घरमा जान पाउँदा धेरै खुशी लाग्थ्यो । १५ वर्षको हुँदा राजापुर नुन लिन गएको थिएँ । गाउँलेहरूका साथ बुबा पनि हुनुहुन्थ्यो । त्यस बेलामा बुबाले गाउँमा कपडा पसल राख्नुभएको थियो । सामानहरू सबै राजापुरबाट लिनुपथ्र्यो । त्यसबेलामा म राजापुर पहिलो पटक आएको थिएँ । घरबाट राजापुर पुगेर फेरि घर पुग्न १५ दिन जति लाग्थ्यो । बाटोमा कहिले काहीं जंगलमा बास बस्नुपथ्र्यो । बाटोमा नै खाना पकाएर खानुपर्ने हुन्थ्यो । १५ दिनसम्म पुग्ने खाना पहिले नै घरबाट जोहो गरेर ल्याउँथ्यौं । अहिलेको जस्तो ठाउँठाउँमा पसलहरू पाइदैन्थे । घरबाट आउँदा घ्यू बोकेर आउँथ्यौं भने त्यही घ्यू बेचेर घरका लागि आवश्यक समान किन्ने गथ्यौं । राजापुर जाँदा हाट गए भन्थे । घर फर्किदा घरका सबै खुशी हुन्थे । हाट गएर मान्छेहरू फर्किदा नयाँ दुलही आएको जत्तिकै खुशी हुन्थे ।
बाल्यकालमा भविषयमा गएर यो बन्छु वा त्यो बन्छु भन्ने नै हुन्थेन । त्यसबेलामा हामीलाई पढ्नुपर्छ भन्ने प्रेरणा पनि कसैले दिदैन्थे । उमेर बढ्दै गएपछि घरव्यहार जिम्मेवारी हुँदै राजनीतितर्फ लागेको हुँ । २०४६ सालपछि मैले राजनीति सुरु गरें । सुरुमा मैले नेपाली कांग्रेसको पार्टी सदस्यता लिएर राजनीतिमा प्रवेश गरेको हुँ । करिब १० वर्ष जति नेपाली कांग्रेसमा लागेपछि २०५६ सालमा मैले नेकपा मालेमा प्रवेश गरेको हो । त्यस लगत्तै नेकमा एमाले र माले पार्टी एकीकरण भएपछि एमालेको साविकको विशाला गाविसको सचिव भएँ । गाविसको सचिव हुँदै अध्यक्षसमेत भएपछि २०७१ सालमा दैलेख जिल्लाको पार्टी सदस्य छु । र अहिले ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष छु ।
कर्ण शाही
वडा अध्यक्ष, ठाँटीकाँध–३ दैलेख

प्रकाशित मितिः   २८ फाल्गुन २०७४, सोमबार १६:५३