प्रदेशस्तरीय क्रिकेटः सुर्खेतले जित्यो उपाधि
सुर्खेत, २६ फागुन ।
कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । शनिवार भएको फाइनलमा रुकुमलाई तीन विकेटले पराजित गर्दै सुर्खेतले पहिलो कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो ।
फाइनल खेलमा टस जितेर रुकुमले पहिले ब्याटिङ गर्दै एक सय १२ रन जोड्यो । जसमा दिनेश पुनले सर्वाधिक ५७ र महेश विष्टले १८ रनको योगदान गरे । बलिङतर्फ सुर्खेतका ललित प्याकुरेलले चार विकेट लिन सफल भए ।
एक सय १३ रनको लक्ष्य सुर्खेतले १८ औं ओभरमा सात विकेट गुमाएर भेट्टायो । सुर्खेतका लागि निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको योगदान दिए । उक्त खेलको म्यान अफ दी म्याच सुर्खेतका ललित प्याकुरेल भए ।
प्रतियोगिताको म्यान अफ दी सिरिज सुर्खेतका रविन्द्रजंग शाही भए । त्यसैगरी उत्कृष्ट बलर रुकुमका विवश गिरी र उत्कृष्ट ब्याटस्म्यान सुर्खेतका निश्चल रावल भएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।
सुर्खेतले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा कर्णाली प्रदेशका
६ जिल्लाको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।