डुङ्गेश्वरमा मोतिविन्दु शल्यक्रिया शिविर
दैलेख, २६ फागुन ।
दैलेखको डुङ्गेश्वरमा मोतिविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । कर्णाली प्रदेशसभाका सांसद हिमबहादुर शाहीले शनिवार शिविरको उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी दैलेखले डुङ्गेश्वरमा आयोजना गरेको ३ दिने मोतिविन्दु अप्रेशन सेवाको शनिवार उद्घाटन गर्दै शाहीले व्यक्ति तथा समुदायको सुरक्षा र दैवीप्रकोपबाट जोगिन सतर्क रहन सचेतनाको जरुरी रहेको बताए । सांसद शाहीले रेडक्रसले गर्दै आएको मानवीय सहयोगमा अझैं तत्परता दिन सुझाव दिए ।
शिविर उद्घाटन समारोहमा दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले नेपालमा आँखा उपचार सेवामा विश्वसनीयता बढेपछि भारतीयहरू नेपालमा आँखा उपचार गर्न आउन थाल्नुलाई उल्लेखनीय प्रगति भन्दै घरदैलोमा आँखा उपचार शिविर सञ्चालन गरेकोमा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति खेमराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाको तर्फबाट वडा नं. ६ वडा सदस्य तुलसी आचार्य, रेडक्रसकर्मीहरू भेषराज थापा, पूर्णबहादुर खत्री, युवराज तिमिल्सेना लगायतले बालेका थिए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने शिविरमा डा. नम्रता गुप्ताको प्राविधिक टोलीले मोतिविन्दुको अप्रेशन गर्नुपर्ने बिरामीहरूलाई निःशुल्क लेन्स राखी दिनेछ । शिविर सञ्चालनको लागि डुङ्गेश्वर गाउँपालिकाले ४५ हजार रूपैयाँ सहयोग गरेको छ ।
साझा बिसौनी संवाददाता ।