माटोले पुरिदैं सडकका खाल्डा

सुर्खेत, २५ फागुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक मर्मतको नाममा फजुल खर्च गरिएको छ । वर्षौदेखि सडकमा रहेका खाल्डाहरू माटो र गिट्टीले पुरेर मर्मताको बहनामा आँखामा छारो हाल्ने काम भएको हो । कालोपत्रे गर्नुको साटो माटोले सडकका खाल्डा पुर्न थालिएको भन्दै नगरपालिकालको तीव्र आलोचना हुन थालेको छ ।


वीरेन्द्रनगरका अधिकांश सडकहरू भत्किएका छनर भने ठूला खाल्डा परेको अवस्थामा छन् । प्रदेशको राजधानी भएसँगै नगरपालिकाले हतारमा ती खाल्डाहरू पुर्न थालेको छ । नगरका अधिकांश सडकमा रहेका खाडलहरू रातारात माटोले पुरिएका छन् । केही स्थानमा भने गिट्टीले खाल्डा पुरिएका छन् । बिहीवारबाट नगरका मुख्य सडक, प्रदेश मन्त्रालय, संसद र सरकारी कार्यालयहरू रहेको स्थानका सडकका खाल्डाहरू माटोले पुरिएका छन् । तत्कालका लागि काम देखाउन नगरपालिकाले माटोले खाल्डा पुरेर फजुल खर्च गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
नगरपालिका कार्यालयका अनुसार नगरका वडा नम्बर ७ र ८ मा सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । उपभोक्ता समितिमार्फत् खाल्डा मर्मतको काम भएको नगरपालिकाले जनाएको छ । यो कामका लागि नगरपालिकाले आठ/आठ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । सडक मर्मत सम्भार शीर्षकमा विनियोजन भएको त्यही रकमबाट अहिले सडकमा माटोको टालो हालेर काम देखाउने प्रयास भइरहेको छ । वर्षातको मौसम सुरु हुन लाग्दा माटोले टालेर सडकका खाल्डा पुर्ने प्रयास गरिएको छ । खाल्डा पुर्ने काम भएको दुई दिन वित्न नपाउँदै माटो र गिट्टी उछिट्टिएर गइसकेको छ । नगरपालिकाको यो काम दीर्घकालीन नभएको र मर्मतको नाममा बजेट मात्र सक्ने काम भएको सरोकारवालाहरू बताउँछन् ।
नगरपालिका कार्यालयले भने उपभोक्ता समितिमार्फत् सडक मर्मतको काम भएको जनाएको छ । सडकका खाल्डामा माटो र गिट्टी हालेर ग्रावेल गरिने नगरपालिकाको भनाइ छ । कार्यालयका कार्यकारी अधिकृत कृष्णबहादुर खड्काले भने, ‘नगरका ७ र ८ वडामा काम सुरु भएको छ, दुवै वडामा आठ÷आठ लाख रूपैयाँ मर्मत शीर्षकमा विनियोजन भएको थियो । त्यही रकमबाट खाल्डा पुर्न थालिएको हो, विस्तारै त्यसलाई ग्राबेल गर्नेछौं ।’ नगरपालिकाले अहिले माटोले खाल्डा पुरिएको र विस्तारै सडकमा ग्राबेल गरिने जनाएको छ । यसरकारण पनि सडकमा तत्काल कालोपत्रे गर्ने योजना नगरपालिकासँग छैन । कालोपत्रे नगरेरे खाल्डाहरू माटोले पुरेर बजेट सक्ने काम मात्र भएको नगरबासीको गुनासो छ । तत्काल कालोपत्रे नभए सरकारी बजेट खेर जाने र सडकको अवस्था उस्तै हुने उनीहरू बताउँछन् ।
पहिलो नगरसभाबाट प्रत्येक वडामा सडकको मर्मतका लागि आठ÷आठ लाख रूपैयाँ विनियोजन गरिएको थियो । सोही रकमवाट १५ लाख खर्चेर नगरका दुई वडाले सडकमा माटो हालेको बताइएको छ । ‘सर्वसाधारणबाट सडक सुधार्नुपर्ने आवाज आयो, जनताको गनासो समाधान गर्न तत्कालका लागि माटो र गिट्टी हालिएको हो’ खड्काले भने । उनका अनुसार मर्मतको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडी र क्याम्पस रोड र प्रदेश तहका मन्त्रालय नजिकको सडकका खाल्डाहरू पुरिएको छ ।
प्रदेश प्रमुखदेखि संसद सचिवालय र सबै मन्त्रालय रहेका वीरेन्द्रनगर ७ र ८ मा रहेका विभिन्न सडकहरूमा माटो र गिट्टी हाल्ने तयारी थालिएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेसँगै वर्षामा हिलाम्य हुने वीरेन्द्रनगरका सडकहरू कालोपत्रे हुने अपेक्षा नगरवासीले राखेका थिए । तर माटोले सडक टाल्ने काम भएपछि सर्वसाधारणले फजुल खर्च भएको गुनासो गरेका हुन् ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७४, शनिबार १५:४१