प्रदेशस्तरीय क्रिकेट : उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने

सुर्खेत, २५ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र रुकुमबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रवार जाजरकोटलाई पराजित गर्दै रुकुमले फाइनलमा सुर्खेतसँगको भेट पक्का गरेको हो ।

सुर्खेत यसअिघ नै समूह चरणका सबै खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । समूह चरणको अन्तिम खेलमा सुर्खेतले रुकुमलाई नै २९ रनले पराजित गरेको थियो । उपाधिका लागि यिनै दुइ टिमबीच प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रवार समूह चरणको अन्तिम खेलमा रुकुमले जाजरकोटलाई १५ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रूकुमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ४६ रन बनायो । एक सय ४७ रनको लक्ष्य पछ्याएको जाजरकोट एक सय ३१ रनमै समेटिएपछि रुकुम विजयी भएको हो । पाँच मध्ये तीन खेलमा जित निकालेको रुकमले रनरेटमा सल्यानलाई पछि पार्दै फाइनल पुगेको हो । रुकुम र सल्यानको समान ६ अंक भएपछि रनरेटमा भने सल्यान पछि परेको थियो ।

दैलेख र जुम्ला भने यसअघि नै उपाधि होडबाट बाहिरिसकेको थिए । सुर्खेत जिल्ला क्रिकेट संघले पहिलो पटक आयोजना गरेको कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको थियो । फाइनल खेल भोली(शनिवार) विहान १० बजे वीरेन्द्रनगरस्थित कालुंचौक मैदानमा हुने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७४, शुक्रबार १६:१४